देउवालाई प्राप्त अद्भूत अवसर

असार ३०, २०७८ | काठमाडौं

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री चलाउन अहिलेजति सजिलो शायदै कहिले होला । दुई–दुई पटक अलोकतान्त्रिक र असंवैधानिक तवरले प्रतिनिधिसभा भङ्ग गरेका केपी शर्मा ओलीलाई बिस्थापित गर्नु नै देउवाको सबैभन्दा ठूलो अनुकूलता हो । 

नसोचेको समयमा आइलागेको अद्भूत अवसरले देउवालाई प्रधानमन्त्री बनाएको छ । त्यसै कारण यसअघि धुमिल पारेको आफ्नो छबि सुधार गर्ने मौका पनि उहाँलाई छ । सर्वोच्च अदालतले उहाँको पक्षमा यस्तो फैसला गरिदिएको छ कि विश्वासको मत प्राप्त गर्न नसके ६ महिनाभित्रै नयाँ निर्वाचन गराउने कामचलाउ भूमिका र विश्वासको मत पाए आगामी २० महिना सरकार सञ्चालनको जिम्मा देउवाकै काँधमा आइलाग्छ ।

प्रधानमन्त्री देउवालाई अर्को सहज अवस्था पनि आइलागेको छ । देउवाको विगतको कार्यकालले गर्दा नागरिकले उहाँबाट ठूलै चमत्कारको आश गरेका छैनन् । 

दुई तिहाईको बहुमत र जनादेशलाई दम्भ, अहं, हठ, जिद्दीपन र दुराग्रहका कारण धुलिसात पार्दै केपी शर्मा ओलीले जनतालाई बोकाएका निराशाको बोझबाट मुक्त गरिदिनका लागि देउवाले धेरै असल काम गर्नै पर्दैन । बरु, खराब नगरिदिए पुग्छ । तर, देउवाको विगत गर्व गर्न लायक छैन । राजनीतिक र शासकीय कर्मकाण्डमा बेला बखत च्युत भएका कारण उहाँले बाटो परिवर्तन गर्नुहोला भन्नेमा संशय छ । जुन सर्वथा नाजायज छैन ।

संसदीय राजनीतिमा भित्राएको बिसङ्गतिका लागि देउवा सदैव आलोचित पात्र हुनुहुन्छ । पजेरो संस्कृति, सांसद किनबेच र बन्धक बनाउने मात्रै हैन प्रजातन्त्रलाई राजाको खोपीमा लगेर बुझाउने नेतृत्वको रुपमा देउवा कुख्यात हुनुहुन्छ । कतिसम्म भने आफैंले अलोकतान्त्रिक, असंवैधानिक र स्वेच्छाचारी भनेको ओली नेतृत्वको सरकारसँग शक्ति साझेदारी गर्दै आफू निकटकालाई सत्ताको लाभ दिलाएको आरोप लाग्यो । यसका पछाडि सत्यता होला नहोला आफ्नो ठाउँमा छ तर, उहाँको बिर्सनलायक प्रधानमन्त्रीत्वको विगतले आरोप गलतै हो भन्ने ठाउँ पनि कम छ ।

समावेशी र समानुपातिक प्रतिनिधित्वको मानक मानिएको ‘कदमजम’ को प्रणेता देउवाले सानो आकारको मन्त्रीमण्डल बिस्तारमा पनि त्यसलाई पालना गरेको देखिएन । बिहानीले दिन कस्तो व्यतीत हुन्छ भन्ने देखाउँछ भने देउवाले सुरु गरेको बिहानी उत्साहप्रद छैन । 

कोरोना महामारीका कारण खस्किएको अर्थतन्त्रको त्राण धान्ने नीति, खोपमा नागरिकको पहुँच, निजी क्षेत्रलाई विश्वासमा लिएर समृद्धिको दिशामा अघि बढ्नु त छँदैछ । त्यसबाहेक छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध सुधार र विवादित एमसीसीका बारेमा लिने निर्णयले पनि देउवा अवसरको बाटो पहिल्याउन सफल हुनुहुन्छ वा चुनौतीको बाटोतर्फ अग्रसर हुनुहुन्छ भन्ने तय गर्नेछ ।

तर, शासन व्यवस्था, कानूनी राज र लोकतन्त्रका अभ्यासहरुलाई तहस नहस पारेर गएका केपी ओलीलाई बिस्थापित गर्नु जत्तिको ठूलो सन्देहको लाभ उठाउने मौका इतिहासमा थोरै व्यक्तिलाई मात्रै प्राप्त हुन्छ । यो लाभ उठाउनका लागि पहिले देउवाले आफू निकटकाले देखाउने लोभ र लाभलाई पन्छाउन सक्नुपर्छ । जुन, देउवाका लागि सबैभन्दा ठूलो चुनौती हो ।  


प्रतिक्रिया