युद्ध संग्रहालय : राष्ट्रिय एकताको आधार

श्रावण २४, २०७८ | काठमाडौं

इतिहास बिर्सन सकिन्छ तर मेट्न सकिन्न । नेपाल एकीकरणको गाथा पनि यस्तै मेट्न नसकिने दृष्टान्त हो । यसैको सम्बर्द्धन गर्न सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक स्थल सिन्धुलीगढीमा सेनाले युद्ध संग्रहालय निर्माण गरेको छ । युद्ध संग्रहालय मुलुकमा पहिलो भएकाले इतिहास संरक्षणमा यो कोसेढुंगा सावित हुने विश्वास सेनाको छ । 

वीर गोर्खा फौज र इष्ट इण्डिया कम्पनीका अंग्रेज सेनाबीच १८२४ सालमा सिन्धुलीगढीमा भएको लडाइँलाई युद्ध संग्रलायमा दर्शाउने प्रयास गरिएको छ । नेपाल आक्रमण गर्न आएका विदेशी सेनालाई तत्कालीन गोर्खा सैनिकले सिन्धुलीगढीमा वीरतापूर्ण परास्त गरेको हामीले पुस्तकमा मात्र पढेका छौं । इतिहास वर्तमानको जग हो । 

पुर्खाका बहादुरीपूर्ण लडाइँको बलमा स्थापित हाम्रो वर्तमान उनीहरुको वीरतापूर्ण विगतको जगमा निर्माण भएको तथ्य र यथार्थलाई सिन्धुलीगढीस्थित युद्ध संग्रहालयले झल्काउँछ । संग्रहालय परिसरमा वीरयोद्धा श्रीहर्ष पन्त, वंशु गुरुङ, वंशराज पाण्डे र वीरभद्र उपाध्यायको प्रतिमा निर्माण गरिएको छ । ६ हजार २ सय ८१ स्क्वायर फिटमा फैलिएको संग्रहालयमा सिन्धुलीगढीमा भएको युद्धको झल्को मात्रै हैन गढीको ऐतिहासिक सामरिक महत्व प्रदर्शन गर्न सकिने थिएटर, तत्कालीन समयमा गोर्खा सैनिकले प्रयोग गरेका घरेलु हतियार संग्रहीत छन् । 

गढी क्षेत्र प्रवेश गरेपछि तत्कालीन नेपाल एकीकरणको समयका के–के भएको थियो भन्ने बारे सम्पूर्ण जानकारी प्राप्त गर्न सकिन्छ । युद्ध संग्रहालय सिन्धुलिस्थित नेपाली सेनाको वर्द बहादुर गणले निर्माण गरेको हो । वर्द बहादुर गण पृथ्वीनारायण शाहले निर्माण गर्नुभएको ५ मध्ये एक गण हो । तत्कालीन कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न भन्दै आधुनिक हतियार सहित नेपाल आएको २ हजार ४ सय अंग्रेज फौजलाई नेपाल एकीकरणमा रहेका गोर्खाका राजा पृथ्वीनारायण शाहको फौजले सिन्धुलीगढीमा पराजित गरेको थियो । 

अन्वेषणकर्ताका अनुसार युद्ध संग्रहालय र सिन्धुलीगढी परिसर अब खोजकर्ता र जिज्ञासुहरुलाई राम्रो अध्ययनको थलो बन्नेछ । युद्ध संग्रहालय नेपालीका लागि मात्र हैन्, अंग्रेजहरुलाई समेत आफ्नो पुर्खाको लडाइँका विषयमा थप कौतुहलता मेटाउन सक्छ । राणा शासनकालमा सिन्धुलीगढी पूर्वी २ नम्बरको मुकाम थियो । सिन्धुलीगढी युद्ध संग्रहालय बृहत्तर सिन्धुलीगढी गुरु योजनाको महत्वपूर्ण अंश भएको बताउँछन् कमलामाई नगरपालिका प्रमुख खड्गबहादुृर खत्री । 

नेपाल एकीकरणको समयमा गोर्खाली सेनाले अंग्रेज फौजलाई सिन्धुलीको सिन्धुलीगढी, मकवानपुरको मकवानपुरगढी, रौतहटको समनपुर र रुपन्देहीको जितगढी युद्धमा हराएको इतिहास छ । ती स्थानमा पनि युद्ध संग्रहालय बनाउने योजना नेपाली सेनाको छ । युद्ध संग्रहालयले ऐतिहासिक परिवेशबाट समग्र राष्ट्रलाई अभिप्रेरित गर्न महत्वपूर्ण योगदान गर्ने प्रधानसेनापति पूर्णचन्द्र थापाको भनाई छ ।

प्रत्येक राष्ट्रको आ–आफ्नो विशिष्ठ पहिचान हुन्छ । त्यो पहिचान विगत र वर्तमान जोड्नु सेतु पनि हो । यसको संरक्षण जरुरी छ । प्रवर्द्धनात्मक गतिविधि मार्फत वर्तमान र भावी पिँढीलाई जागरुक बनाउने र ऐतिहासिक दस्तावेजको संरक्षण र प्रकाशन गर्ने अभियानमा नेपाली सेना छ । ऐतिहासिक धरोहरहरुको संरक्षण र निर्माणले राष्ट्रिय एकतालाई थप मजबुद गर्ने बताउनुहुन्छ राष्ट्रपति विद्यादेवी भण्डारी ।  

विभिन्न कालखण्डमा टुक्रिएर रहेका नेपाल राज्यलाई एकिकरण गर्ने अभियानमा विभिन्न कालखण्डमा अनेकन व्यक्तिहरुको भूमिका महत्वपूर्ण रह्यो । तीनै ब्यक्तित्व, गढी किल्ला, दरबार, मार्ग र स्थानको पहिचान गरी त्यसको जीर्णोद्धार पुननिर्माण, संरक्षण, सम्बद्र्धन एवं प्रवर्धन अहिलेको आवश्यक्ता हो । यसमा नेपाली सेनाले पाइला अघि बढाएको छ । 

राष्ट्रिय एकताकाको संरक्षण, सम्बद्र्धन र प्रवर्धन गर्ने वैधानिक जिम्मेवारी पूरा गर्न, इतिहासको जगेर्ना गर्दै राष्ट्रिय एकीकरण र नेपाल राष्ट्रको निर्माणमा हाम्रा पुर्खाहरुले देखाएको अदम्य साहस र वीरतातथा नेपाली चरित्रलाई थप प्रवर्धन गर्दै भावी पुस्तालाई राष्ट्रप्रतिको उत्तरदायित्व बोध गराउनु जरुरी भएको छ । यसका लागि एकीकरण मार्ग कार्यक्रम राष्ट्रिय एकताको आधार हुनसक्छ । आजको २१ औं शताब्दीको युगमा राष्ट्रियता भूगोल भन्दा बढी नागरिकका ह्दयमा राष्ट्रप्रतिको सम्मान र आत्मगौरवमा बढी लुकेको हुन्छ ।  


प्रतिक्रिया