तयारी अर्को निषेधाज्ञाको !

श्रावण २४, २०७८ | काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार आइतबार कोरोना संक्रमणबाट मुलुकभर ५५ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा खुकुलो पारिएको निषेधाज्ञापछि एकैदिन कोरोनाबाट ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै उच्च हो । 

कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या १० हजार नाघेको पनि हालै हो । दैनिक २ हजार भन्दा बढी संक्रमितहरु थपिदों छन् । यसले देखाउने एउटै चित्र भनेको मुलुकमा कोरोना संक्रमणको तेस्रो लहर फैलने जोखिम भुसको आगोझैं सल्किदैछ भन्ने हो । निषेधाज्ञा खुकुलो पारिएसँगै बढेको हेलचेक्र्याइँका कारण संक्रमण र मृत्युदर दुबै बढेको छ । 

सरकारले नै १७ जिल्लालाई उच्च जोखिममा राखिसकेको छ । संक्रमित र मृतकको संख्या बढ्न थालेपछि केही जिल्लाका स्थानीय तहले निषेधाज्ञा समेत लगाउन सुरु गरेका छन् । निरन्तरको निषेधाज्ञाले कोरोना संक्रमणदर घट्दै गएपछि खुकुलो पारिएको लकडाउनमा गरिएको हेलचेक्र्याइँले संक्रमण तेस्रो पटक फैलने चरणमा पुगेको चेतावनी विज्ञहरुले दिएको पनि धेरै भइसक्यो । 

संक्रमणको तेस्रो लहर फैलिए मुलुकको स्वास्थ्य प्रणालीले धान्न नसक्ने गरी भयावह हुने पनि उनीहरुको अनुमान छ । स्वास्थ्य मन्त्रालयले नै तेस्रो लहर आउन सक्ने भन्दै अस्पतालहरुमा अक्सिन प्लान्ट, आईसीयू बेड लगायतको क्षमता वृद्धि गर्न पत्राचार गरिसकेको छ ।

अचेल अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामी चाप थपिने क्रममा छ । संक्रमणको ग्राफ निरन्तर उकालो लागि रहँदा नागरिक र सरकार थप संवेदनशील बन्ने छनक छैन । कोरोनाको परीक्षणदर घटेको छ । तर, बजारमा लापरबाही बढेको छ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालनामा नागरिक बेपरवाह छन् । 

सचेतना कार्यक्रमले नागरिकको चेतना स्तर बढेपनि त्यसलाई व्यवहारमा उतार्ने काम खरो छैन । सहर भन्दा गाउँमा संक्रमित अझै बढ्दै छन् । परीक्षणको पहुँच नपुगेको पहाडी र ग्रामीण क्षेत्रमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाको मृत्यु भएको समाचार दिनहँ आइरहेका छन् ।

संक्रमण दर घटाउन संक्रमितहरु को कहाँ छन् भनेर पहिचान गर्नु पहिलो आवश्यक्ता र न्यूनतम शर्त हो । अघिल्लो सरकार प्रभावकारी ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने र परीक्षण बढाउने कार्यमा पूरै चुकेको थियो । नयाँ सरकारले पनि यो विषम परिस्थितिलाई गम्भीरतापूर्वक लिएको भान दिएको छैन । जुनसुकै महामारी नियन्त्रणमा लिन चुस्त र दुरुस्त व्यवस्थापन चाहिन्छ । यस मानेमा सरकार र स्वास्थ्य मन्त्रालय पनि समस्याग्रस्त छ ।

कोरोना संक्रमणबाट नागरिकलाई बचाउने एउटै उपाय खोप हो । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफ्नो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप रहेको संसदको रोष्टमबाटै बोल्नु भएकै हो । गठबन्धन सरकारलाई बिस्तार गर्दै बलियो पार्ने राजनीतिक खोप लगाउन चुकेका प्रधानमन्त्रीले बोलेका प्राथमिकता कति पूरा होलान् शंकाकै घेरमा छ । तर, महामारी तीब्र रुपमा फैलनु अघिनै नागरिकलाई खोप लगाउने मूल दायित्वबाट सरकार चुक्न हुँदैन ।

यही गतिमा महामारी फेरि फैलिँदै जाने हो भने केही सातामै संक्रमण अहिलेसम्मकै उच्च बिन्दुमा पुग्न बेर लाग्दैन । कथम कदाचित तेस्रो लहर फैलियो र सरकार महाव्याधिको प्रतिकार्यमा चुक्यो भने यसबाट अनाहकमा ज्यान गुमाउने सर्वसाधारण नागरिक नै हुन्छन् । फेरि कडा निषेधाज्ञा लगाउन पर्‍यो भने पनि सास्ती खेप्ने नागरिक नै हुन् । त्यसैले त्यो स्थिति आउन नदिन पनि सबैले महामारी नियन्त्रणमा राख्नका लागि आफ्नो तर्फबाट उचित भूमिका खेल्नुपर्छ । 

मास्कको प्रयोग गर्ने, भिडभाड नगर्ने, भौतिक दूरी कायम गर्ने, हात धुने, लक्षण देखिए आइसोलेट भएर बस्ने, परीक्षण गर्ने लगायतको कुरा हामी सबैलाई थाहा छ । तर, थाहा पाउनु र व्यवहारमा उतार्नुमा फरक पर्‍यो भने यसले महामारीको अर्को लहरलाई निम्ता दिनेमा कुनै शंका छैन । 


प्रतिक्रिया