कुलमानको नाममा ...
श्रावण २७, २०७८ | काठमाडौं
अमेरिकी लेखक ओरिसन स्वेट मार्डेन भन्थे, ‘एउटा असल प्रणालीले लक्ष्य प्राप्तिको बाटोलाई सहज र छोटो तुल्याउँछ ।’ तर हामीकहाँ अझै प्रणालीको विकासमा भन्दा व्यक्ति पूजामा समय व्यतीत गर्नेहरुको कमी छैन । व्यक्तिको सफलतामा उसको देवत्वकरण र असफलतामा दानवीकरण हामीले जानेकै यही हो । उच्च ओहदा देखि कनिष्ठसम्म यही लागू हुन्छ र हुँदै आएको छ ।
पछिल्लो समय नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा पुनर्नियुक्ति पाएका कुलमान घिसिङप्रति पनि हाम्रो धारणा फरक छैन । नेपालीजनलाई अँध्यारोबाट उज्यालोको यात्रामा ल्याउन उनको निश्चय पनि ठूलो योगदान छ । त्यसैले उनलाई दोस्रो कार्यकाल पनि काम गर्न दिनुपर्छ भन्ने आम मानिसको अपेक्षा अघिल्लो सरकारकै पालामा थियो ।
उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो कार्यकालका लागि नियुक्त नगरेपछि सामाजिक सञ्जालमा पोखिएको आक्रोश र आम मानिसमा पैदा भएको आक्रोश मिश्रित निराशाले पनि धेरैथोक बोलेको थियो । तर, अहिले उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेपछि सरकारको पनि चौतर्फी वाहवाही भएको छ ।
उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्दा लागेको बदनामीको हिलो सरकारले कुलमानको नियुक्तिको गंगामा पखालेको छ । कुलमान यस्तो गाई बनेका छन् जसको पुच्छर समातेर मात्रै सरकारले राजनीतिक र सामाजिक वाहवाहीको वैतरणी पार गर्नसक्छ ।
कुलमानले सर्वथा असल काम गरेका हुन् । जे कामका लागि उनले पद सम्हालेका थिए त्यो सबै काम उनले असल नियत र इमान्दारी साथ सम्पन्न गरे । गरेनन् त केवल प्रणालीको विकास । हुन त गुरुले पनि आफूले जाने जति सबै ज्ञान शिष्यलाई सिकाउँदैनन् भनिन्छ । सायद कुलमानको हकमा पनि यही लागू भयो अघिल्लो कार्यकालमा ।
प्रणालीको सशक्त विकास भएको भए एउटा व्यक्तिको बर्हिगमनमा सारा देशबासीले अँध्यारोको यात्राका लागि आफूलाई तम्तयार राख्नु पर्ने थिएन । प्रणालीको विकास भएको भए कुलमानले सक्ने र हितेन्द्रदेवले नसक्ने भन्ने हुने थिएन पनि होला । कुलमान सफल हुने तर देशको उज्यालोको सपना असफल हुनै सक्दैन । कुनै पनि व्यक्ति शक्तिमा कति समयसम्म रह्यो भन्दा पनि उसले आफू शक्तिमा हुँदा अरु कतिलाई शक्तिशाली तुल्यायो भन्नेले धेरै अर्थ राख्छ ।
उज्यालो नेपालको सपना कुलमानको मात्रै सपना हुने समग्र विद्युत प्राधिकरणको किन हुन सकेन ? यो प्रश्नको उत्तर खोजी पसे धेरै समस्याको समाधान निस्किन्छ । दोस्रो कार्यकाल सुरु गरेका कुलमानले अघिल्लो कार्यकालमा गर्न नभ्याएका वा दृष्टि नपुर्याएका प्रणालीको विकास गर्न जरुरी छ । नागरिकको घर घरसम्म उज्यालो पुर्याउने कुलमानले आफ्नै विद्युत प्राधिकरणको प्रणालीमा भएको इच्छाशक्तिको लोडसेडिङ् पहिले हटाउन पहल गर्नुपर्छ ।
४ वर्षपछि फेरि कुलमान बिदाइ हुँदा नागरिकले घरघरमा इन्भर्टरको जोहो गर्न नपरोस् भन्नेमा पनि उनी चनाखो हुनैपर्छ । नत्र देवत्वकरणको सामाजिक बोझमा एउटा आशालाग्दो नेतृत्वको क्षयीकरण हुन बेर छैन । कुलमान घिसिङका हकमा पनि समाजले सम्यक् आशामात्रै राख्नुपर्छ । व्यक्ति सफल हुने र संस्था असफल हुँदा पनि उसको दोष नहुने वा पानीमाथिको ओभानो हुने भाष्य समाजमा स्थापित भयो भने सबैभन्दा डरलाग्दो अर्थोक केही हुन्न ।