मधेशमा नवनियुक्त मुख्यमन्त्री यादवको कार्यकाल शुरु

मंसिर २१, २०८२ | काठमाडौं

नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारको कार्यकाल शुरु भएको छ । लामो रस्साकस्सीपछि ७ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका यादवले शपथ ग्रहणपछि पद बहाली गर्नुभएको छ भने मन्त्रीमण्डलमा तत्कालका लागि तीन जना मन्त्री बनाइएको छ । जनमत पार्टीका महेशप्रसाद यादवलाई अर्थमन्त्री नियुक्त गरिएको छ । त्यस्तै, नेपाली कांग्रेसका जंगीलाल राय यादव र एकीकृत समाजवादीका कनिश पटेललाई मन्त्रालय नतोकी मन्त्री बनाइएको छ । तीनै जना मन्त्रीले आजै शपथ ग्रहण गरेका छन् । पदबहालीपछि बोल्दै मुख्यमन्त्री यादवले मधेस सरकारले अब स्थायित्व पाउने दावी गर्नुभएको छ ।

गठबन्धन दलबीच सहमति हुन बाँकी रहेकाले तत्कालका लागि मुख्यमन्त्री यादवले तीन जनालाई मात्र मन्त्री बनाएको बताइएको छ । यादवले छिट्टै मन्त्रीमण्डललाई पूर्णता दिइने बताउनुभयो ।

यसैबीच, मधेश प्रदेश सरकारले अघिल्लो सरकारको पालामा भएका कर्मचारीको सरुवा र काजसम्बन्धी निर्णय खारेज गरेको छ । मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको मन्त्री पटेलले जानकारी दिनुभयो ।

मधेश सरकारले शीतलहरबाट हुन सक्ने जोखिम न्युनिकरणका लागि सहजीकरण गर्न सम्वन्धित निकायसँग समन्वय गरिने बताएको छ ।

यसैबीच, मधेश प्रदेश सरकारका मुख्यमन्त्री यादवले आगामी बुधबार विश्वासको मत लिने तयारी गर्नुभएको छ । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत हासिल गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 


प्रतिक्रिया