टी–२० विश्वकपमा नेपाल सधैं ‘अण्डर डग’

मंसिर २१, २०८२ | काठमाडौं

टी–२० विश्ककप क्रिकेटको १० औं संस्करण सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रुपमा हुंदैछ । प्रतियोगितामा २० टोलीले सहभागिता जनाउंदा नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी–२० विश्वकप खेल्दै छ । नेपाली क्रिकेट इतिहासमा यो ठूलो सफलता हो । 

समूह विभाजनअनुसार नेपाल दुई पूर्वविजेता इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र इटाली सम्मिलित समूह ‘सी’ मा छ । यो सँगै नेपाललाई समुह चरणका खेल कठिन र चुनौतीपूर्ण हुने देखिएको छ ।

सन् २०१४ मा बंगलादेशमा टी–२० विश्वकप क्रिकेटमा डेब्यु गरेको नेपालले १० वर्षको प्रतिक्षापछि सन् २०२४ मा दोस्रो पटक विश्वकप खेल्यो । त्यसपछि भने विश्वकप खेल्न नेपालले धेरै कुर्न परेन । सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा नेपालले तेस्रो सहभागिता जनाउंदैछ । 

यसपटकको विश्वकप यात्रामा नेपालको प्रदर्शन लोभलाग्दो रह्यो । विश्वकप छनेटमा सबै ६ खेल आफ्नो पक्षमा पारेर नेपालले विश्वकपमा राम्रो प्रदर्शन गर्ने संकेत गरिसकेको छ । आफ्नो समुहमा परेका टिमहरुसँग खेल्न उत्साहित रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले बताए ।

विश्वकपमा नेपाल यसपटक समूह ‘सी’ मा परेको छ, जसलाई निकै कठिन समूह मानिएको छ । नेपालले समूह चरणमा प्रतिस्पर्धा गर्ने सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो, इङ्ल्यान्ड । इङ्ल्यान्ड टी–२० वरीयताको तेस्रो स्थानमा छ । नेपालले फ्रेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । 

पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागिता जनाउँदै आएको इङ्ल्यान्डले सन् २०१० र २०२२ मा उपाधि जितेको थियो । नेपालका लागि इङ्ल्यान्ड नयाँ प्रतिद्वन्द्वी हो । यस्तै, इङ्ल्यान्ड टी–२० आईमा नेपालले सामना गर्न लागेको छैटौँ टेस्ट राष्ट्र हुनेछ । यसअघि नेपालले भारत, दक्षिण अफ्रिका, बंगलादेश, वेस्ट इन्डिज र जिम्बावेसँग खेलिसकेको छ ।

यसैगरी, नेपालले समूह चरणमा सामना गर्ने अर्को प्रतिद्वन्द्वी वेस्ट इन्डिज हो । हालसम्मका सबै संस्करणमा सहभागिता जनाएको वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा उपाधि जितेको थियो । केही महिनाअघि वेस्ट इन्डिजसँग खेलेको टी–२० आई सिरिज नेपालले २–१ ले जितेको थियो । टेस्ट राष्ट्र वेस्ट इन्डिज टी–२० वरीयताको सातौँ स्थानमा छ । नेपालले फ्रेब्रुअरी १५ मा वेस्ट इन्डिजको सामना गर्ने छ ।

नेपालको समूहमा रहेको अर्को टेस्ट राष्ट्र हो, बंगलादेश । आईसीसीको टी–२० वरीयतामा नवौँ स्थानमा रहेको बंगलादेशले वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको सन् २०२४ को विश्वकपमा सातौँ स्थान हासिल गरेको थियो । 

बंगलादेशले हालसम्मका सबै विश्वकप खेलेको छ । संयोग के परेको छ भने नेपालले यसअघि खेलेका विश्वकपका दुबै संस्करणमा बंगलादेश रहेकै समूहमा थियो । 

नेपाल बंगलादेशसँग सन् २०१४ मा ८ विकेट र सन् २०२४ मा १९ रनले पराजित भएको थियो । नेपालले फ्रेब्रुअरी १७ मा बंगलादेशसँग खेल्ने छ ।

यस्तै, युरोपियन राष्ट्र इटालीले टी–२० विश्वकपमा डेब्यू गर्दै छ । नेपाल रहेको टीममा रहेको इटालीलाई सबैभन्दा कमजोर टोलीका रुपमा हेरिएको छ । तर, टी–२० वरीयतामा २८ औँ स्थानमा रहेको इटालीले विश्वकपको युरोपियन छनोटको फाइलनमा स्कटल्यान्डलाई १२ रनले पराजित गरेको थियो । 

नेपालले पहिलोपटक इटालीको सामना गर्दैछ । खेल फ्रेब्रुअरी १२ मा हुनेछ । विश्वकप खेल्न जाँदा जुनै समुहमा परे पनि तयारी राम्रो गर्नुपर्ने नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पवन अग्रवालले बताए ।

ओमानमा सम्पन्न विश्वकप छनोटबाट छानिएदेखि नै नेपालका खेलहरु कहाँ हुन्छन् र क–कससँग प्रतिस्पर्धा होला भन्ने चासोको विषय बनेको थियो । नेपालको समूहचरणका खेलहरु भारतको मुम्बईमा हुने भएकाले नेपाली समर्थकहरु उत्साहित छन् । भारतमा नेपालीहरुको संख्या ठूलो छ । 

त्यसैले कठिन समुहमा परे पनि नेपाली दर्शकको साथ र टी–२० विश्वकपमा लगातारको सहभागीता भएकाले नेपाललाई यि प्रतिद्धन्दीहरु नौलो नहुने क्रिकेट जानकार विनोद पाण्डेको भनाई छ ।

सन् २००७ देखि सुरु भएको टी–२० विश्वकपको उपाधि अहिलेसम्म भारत, इंग्ल्यान्ड र वेष्ट इण्डिजले समान २÷२ पटक जितेको छ । पाकिस्तान, श्रीलंका र अष्ट्रेलियाले समान एक÷एक पटक उपाधिमाथि कब्जा जमाएका छन् । फेब्रुअरी ७ देखि मार्च ८ सम्म चल्ने प्रतियोगितामा २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । 

सन् २०२४ को विश्वकप जस्तै, हरेक समूहका शीर्ष दुई टोली ‘सुपर एट’ मा प्रवेश गर्नेछन् । सुपर एटका खेलहरु फेब्रुअरी २१ देखि मार्च १ सम्म हुनेछन् ।

नेपाली क्रिकेट टीमले लगातार विश्वकपमा स्थान बनाएपछि सारा नेपालीलाई खुसी दिएको छ । विश्वकपमा सहभागिता बाहेक उत्साहजनक छाप छोड्नेमा खास सफलता हात नपारेको नेपाली टेलीलाई यसपटक मौका छ । अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासंग १ रनले पराजित हुनुको मूल्य नेपाली क्रिकेट टोलीले चुकाइसकेको छ । 

अब भने टेष्ट राष्ट्रलाई मात खुवाएर विश्वकपमा अमिट छाप छोड्ने मौका नेपाली टोली कुनै पनि हालतमा गुमाउन चाहंदैन ।


प्रतिक्रिया