पोखरा विमानस्थल निर्माणमा घोटालाः ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ८ अर्ब बिगो माग
मंसिर २१, २०८२ | काठमाडौं
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै तत्कालीन ५ मन्त्रीसहित ५५ जना विरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल निर्माणको क्रममा ठूलो रकम अनियमितता भएको निष्कर्षसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
विमानस्थल निर्माणका क्रममा भएको अनियमिततामा १० जना पूर्वसचिव समेत मुछिएका छन् । उनीहरुविरुद्ध अख्तियारले ८ अर्ब ३६ करोड रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको छ ।
अख्तियारले पूर्व पर्यटनमन्त्री पोस्टबहादुर बोगटी, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्य तथा पूर्व अर्थमन्त्री रामशरण महतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । पूर्व मन्त्री पोस्टबहादुर बोगटीको भने निधन भइसकेको छ ।
त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारी लगायतलाई प्रतिवादी कायम गरिएको छ । त्यस्तै निर्माण सम्झौता गरेको चिनियाँ कम्पनीलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ । चीन सरकारको ऋण सहयोगमा २०६५ देखि शुरु भएको विमानस्थलको निर्माण २०७९ सालमा सकिएको थियो ।
संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पोखरा विमानस्थल निर्माणमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । सो उप–समितिको नेतृत्व विघटित प्रतिनिधिसभाका सांसद एवम् राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गर्नुभएको थियो ।








