रेडियो किन मर्दैन ?
फाल्गुन १, २०७८ | काठमाडौं
सञ्चारका अनेकन माध्यम मध्ये रेडियो सबैभन्दा घनिष्ट र सामाजिक रुपमा पनि नितान्त व्यक्तिगत माध्यम हो । त्यसैले भनिन्छ, रेडियो भिडमै सुनेपनि सुन्नेले एक्लाएक्लै सुन्छ । शायद रेडियोमा श्रोतालाई सम्बोधन गर्दा बहुवचन जनिने शब्दको प्रयोग नगर्नुका पछाडि पनि यही कारण लुकेको होला । यति हुँदाहुँदै पनि रेडियो र श्रोताबीचको घनिष्टता पछिल्ला दिनमा घट्न थालेको आँकडा विभिन्न सर्वेक्षणहरुले देखाएका छन् ।
प्रविधिको उच्चतम विकासले अहिले रेडियो सेटबाटै समाचार र मनोरञ्जन प्राप्त गर्नेहरुको संख्या बिस्तारै ओरालो लाग्दैछ । सर्वेक्षणहरुले के देखाएको छ भने श्रोताहरु पहिले जस्तो रेडियो सुनेर बस्दैनन्न् । समाचार र विभिन्न सूचना जान्न रेडियो सुन्नेले पनि आफ्नो अनुकूलतामा मात्रै यसको प्रयोग गर्छन् । साँझ–बिहान बाहेक आफ्नो अनुकूलता वा फुर्सदमा रेडियो सुन्ने जमात बढ्दो छ । त्यसैले श्रोता जहाँ त्यहीँ रेडियो सामग्री पुर्याउनुपर्ने नयाँ चुनौती रेडियोकर्मीहरुलाई छ ।
अनलाइन न्युज पोर्टलहरुले छिनछिनमा विश्वभरका ताजा सूचना पाठकका मोबाइल स्क्रिनमा पुर्याउन थालेपछि रेडियोले तीब्र रुपमा सूचना प्रवाह भन्दा पनि विषय–वस्तुको गहनतामा पुग्ने कोसिस गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अझ सामाजिक सञ्जालमा आइसकेका सूचनालाई रेडियोले समाचारका रुपमा प्रस्तुत गर्दा श्रोताको चाहना पूर्ति हुन सक्दैन ।
कुनै पनि विषयको साङ्गोपाङ्ग प्रस्तुति, फरक मतलाई पनि दिइने स्थान, नेताहरुको भाषण र कटाक्ष भन्दा विशेषज्ञको अनुभवमा आधारित भएर रेडियो कार्यक्रम र समाचारहरु सम्प्रेषण गर्नुपर्ने बेला आइसकेको छ । तर, त्यसका लागि रेडियोमा काम गर्ने जनशक्तिमा लगानी आवश्यक छ । जुन अहिले रेडियो प्रसारकहरुको प्राथमिकतामा छैन । श्रोता के सुन्न चाहन्छन् भन्दा पनि प्रसारकहरु के सुनाउन चाहन्छन् भन्नेले बढी महत्व र स्थान पाउने क्रमको अन्त्यसँगै रेडियोको सान्दर्भिकता अझ बढेर जानेमा कुनै शंका छैन ।
छापा प्रकाशन र प्रसारण माध्यम मध्ये पनि रेडियो सदैव पृष्ठभूमिमै रहँदै आएको छ । अग्रभागमा देखिने भन्दा पछाडि रहनेहरुको आयु ज्यादा हुने काँचको पर्दा र सिनेमामा देखिने चमकधमक अल्पकालीक भएबाट पनि पुष्टि भएको छ । तर, यसो भनेरै रेडियोमा हाल बज्ने सामग्रीमा समयानुकूल र आमूल परिवर्तन गरिएन भने सर्वसुलभ र सर्वप्रिय माध्यम हुनुको फाइदाले मात्रै रेडियोलाई जीवन्त तुल्याउन सक्दैन ।
असमान भौगोलिक धरातल र असमान विकासले गर्दा नेपालमा रेडियोको पहुँच अझ बढाउनुपर्ने देखिएको छ । रेडियोहरुलाई वास्तविक आवाजविहीनहरुको आवाज बनाउन कार्यक्रमको प्रस्तुतिमा परिमार्जनसँगै श्रोताको चाहनालाई प्राथमिकतामा राख्न जरुरी छ । नभए रेडियो अहिलेझैं कुइरोको काग हुन बेर छैन ।
नियन्त्रण र नियमन भन्दा माथि देखिएका रेडियोहरुले सत्य–तथ्य, निष्पक्ष जस्ता पत्रकारिताको धर्म धान्नसकेका छैनन् । जसले गर्दा आम नागरिकको विश्वासको कसीमा सबै रेडियो खरो उत्रिनसकेका छैनन् । समय क्रमसँगै सूचना प्रवाहको गहकिलो जिम्मेवारी बोक्ने रेडियोहरु श्रोताको नजरमा विश्वासिलो माध्यमका रुपमा स्थापित हुन सकेनन् भने त्यसको प्रभाव आमसञ्चार र पत्रकारिताका अन्य माध्यममा पनि पर्न सक्छ । त्यसैले रेडियोको सान्दर्भिकतासँग अन्य माध्यमको प्रभावकारिता पनि जोडिन पुगेको छ ।
रेडियोको प्रभाव घट्यो भनेर रोईलो गर्नु भन्दा पनि हामीले के कस्ता सामग्री श्रोतालाई पस्कियौं र कसलाई बढी प्राथमिकतामा राख्यौं भन्ने समीक्षा हुन जरुरी छ । सामग्रीको विविधता र त्यो उत्पादन गर्ने मानव संशाधनमा लगानी बढाउन सकियो भने रेडियोको सान्दर्भिकता र प्रभावकारिता कहिल्यै घट्दैन ।