सिरहामा दुई गठबन्धन : को कति बलियो ?

कार्तिक ३०, २०७९

सिरहाका चार क्षेत्रमध्ये सत्त्ता गठबन्धनले काँग्रेसका दुई, माओवादी र एकीकृत समाजवादीका एक एक उम्मेदवार उठाएको छ । एमाले र जसपाले यस जिल्लामा दुई दई उम्मेदवार उठाएको छ । गएको स्थानीय तहको मत परिणामलाई आधार मान्दा यस जिल्लाका ३ वटा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन बलियो देखिन्छ भने क्षेत्र नं ३ मा एमाले जसपा समीकरण बलियो छ । सिरहा क्षेत्र नं १ मा कुल २३ जना उम्मेदवार चुनावी मैदानम छन् । काँग्रेसका निवर्तमान सांसद पदमनारायण चौधरी सत्ता गठबन्धनकोतर्फबाट उम्मेदवार छन् भने एमाले नेता रामशंकर यादव पनि अर्का बलिया प्रतिस्पर्धी हुन् । एमाले उम्मेदवार यादवलाई जसपाको साथ छ भने काँग्रेस उम्मेदवार चौधरीलाई एकीकृत समाजवादी र माओवादीको साथ छ । स्वतन्त्र तर्फबाट सरित गिरीको उम्मेदवारीले पनि यस क्षेत्रको चुनावी प्रतिस्पर्धा हेर्न लायक देखिन्छ । स्थानीय तहको मतपरिणाम अनुसार एमाले र जसपाको २७ हजार ६ सय ३ मत र ४१ वडामध्ये २७ वडा जितेको गठबन्धनको ३२ हजार २ सय ७१ मत छ । तर एमाले जसपासगँको तालमेलले यस क्षेत्रका केहि मतदाता असन्तुष्ट हँुदा मत बाँडिने आंकलन छ । सत्ता गठबन्धनको साथ र एमाले जसपा समीकरण रुष्टहरुको भोट पनि आफैमा आउने हुँदा जित सहज भएको पदमनारायणको दाबी छ ।

एमालेका उम्मेदवार राम संकर यादव पनि जित्नेमा ढुक्क छन् । तर प्रहरी जवान यमबहादुर बस्नेतको हत्या अभियोगमा जिल्ला अदालतले कर्तव्य ज्यानमुद्दामा २०६१ मा जन्मकैदको सजाय सुनाएका उनी २०७६ सालको संविधान दिवसको राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी पाएपछि उनी राजनीतिमा फर्किएका हुन् । यो पृष्ठभूमिका कारण उनी केही कमजोर देखिए पनि उनी त्यो मान्न तयार छैनन् । सिरहा क्षेत्र नं २ मा नेपाली काँग्रेसकी नेतृ चित्रलेखा यादव र जसपाबाट राजकिशोर यादवबीच टकराव हुने देखिन्छ । अझ यी दुई उम्मेदवारले सार्वजनिक सभामा एकअर्काविरुद्ध गर्ने कटु र निम्नस्तरको आलोचनाले पनि उनीहरु बढी चर्चामा छन् । यसअघि जिल्लाका फरक फरक निर्वाचन क्षेत्रबाट निर्वाचित भएर मन्त्री बनिसकेका उनीहरु यसपटक एउटै क्षेत्रबाट आमने सामने भएका हुन् । गठबन्धनसँगै महिला उम्मेदवार भएका कारण आफ्ना लागि जित सहज रहेको यादबको दाबी छ ।

यस पटकको चुनावमा निर्वाचन क्षेत्र परिवर्तन गरेका राजकिशोर यादवलाई मतदाता रिझाउन थप मिहेनत गर्नुपर्ने देखिएको छ । अघिल्लो निर्वाचनमा सिरहा ४ बाट विजयी उनी अहिले क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र परिवर्तन भएपनि जित कठिन नभएको उनको दाबी छ । क्षेत्र न ३ मा २ पूर्वमन्त्रीको भिडन्त छ । सत्तागठबन्धनका तर्फबाट माओवादी नेता एवं पूर्वमन्त्री विश्वनाथ साह र एमालेको तर्फबाट पूर्व कानुनमन्त्री लीलानाथ श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिन्छ । दलहरु सिद्धान्त, विचारलाई हत्याउदै अपवित्र गठबन्धनमा लागेको भन्दै यस क्षेत्रका मतदाता भने पार्टी नभइ व्यक्ति हेरेर भोट हाल्ने मनस्थितीमा हुँदा परिणमा के हुने हो सहजै अनुमान लगाउन सकिने अवस्था छैन । यस्तै क्षेत्र ४ मा एकीकृत समाजवादीका मधेस प्रदेश इन्चार्ज धर्मनाथ प्रसाद साह र जसपातर्फका उम्मेदवार वीरेन्द्रप्रसाद महतोबीच टकराव हुने देखिन्छ । गत स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेको दलका हिसाब गर्दा एमाले–जसपा गठबन्धनको २८ हजार दुई सय ८५ र सत्तारूढ गठबन्धनको २८ हजार दुई सय ८९ मत छ । दुई गठबन्धनबीच झिनो मतान्तरको मात्र फरक हुँदा यसको क्षेत्रको प्रतिस्पर्धा अझ रोचक देखिन्छ । 


प्रतिक्रिया