हारेर पनि जितेका गगन

पुस ६, २०७९ | काठमाडौं

इतिहास जित्नेहरुकै लेखिन्छ । तर, जो हारेर पनि जित्छ उसको इतिहास अरुको भन्दा प्रगाढ स्वरुपमा लेखिन्छ । यस मानेमा नेपाली कांग्रेसको संसदीय दलको नेतामा पराजित महामन्त्री गगन थापाले पनि पार्थक्य इतिहास रचेका छन् । 

नयाँ पुस्तालाई अथाह सम्भावनाको ढोका उघार्ने सामर्थ्यबोधको रचयिताका रुपमा गगनलाई कांग्रेसीजनले कालान्तरसम्म सम्झिने छन् । कारण, पुस्तान्तरणको मुद्दालाई लामो समयसम्म उठाउने तर निर्णायक घडीमा सक्ता र शत्तिको लोभमा बिसर्जन गर्नेहरुको राजनीतिक बेइमानीको साक्षी बन्न नखोज्नु नै गगनको सफलताको गाथा कथ्न काफी छ । अझ, जितभन्दा हारको सम्भावना अधिक भएको अङ्क गणितको खेलमा यथास्थितिवादी कांग्रेसजनले मन परिवर्तन गर्दैनन् भन्ने जान्दाजान्दै पनि आफ्नो अठोटमा नडगमगाउनु भनेको भोलिको बलियो कांग्रेसको द्योतक गगन बन्छन् भन्ने दसी पनि हो ।

अंकको कुरा गर्ने हो भने त गगनले आफ्नै समूह वा गुटको भनिएको ३१ मध्ये ६ मत पाएनन् र २५ मा खुम्चिए । तर, यसले न शेखर कोइराला न गगनलाई घाटा भएको छ । शेखर एउटा गुटको नेताको परिधिभन्दा माथि उठेका छन् जहाँ उनलाई दुई महामन्त्री र असंख्य युवाको साथ प्राप्त छ । त्यस्तै, गगनलाई पनि नेतृत्व विकासको मार्ग थप प्रशस्त भएको छ । जितेर पनि हारेका छन् त पुस्तान्तरणलाई आफू अनुकूलको व्याख्या गरेर क्षणिक लाभ–हानी र स्वार्थको जोखना हेरेर निर्णय लिनेहरु ।

२०५१ सालमा सर्वसम्मत संसदीय दलको नेता चयन भएर प्रधानमन्त्रीको यात्रा थालनी गरेयता शेरबहादुर देउवा यो पटक समेत गरी ५ पटक संसदीय दलको नेता चुनिएका छन् । ३ पटक देउवा पराजित भए । ५ पटक प्रधानमन्त्री भएका देउवाले अब गर्न बाँकी र मुलुकका लागि पुर्‍याउन बाँकी योगदान शायदै होला । नेतृत्वले पार्टीमा नयाँ जीवन र गति प्रदान मात्रै हैन मतदाता र समर्थकमा उत्साहको सञ्चार पनि गराउन सक्न्पुर्छ । यो मानेमा कांग्रेसभित्र अहिले चाहिएको नेतृत्वको पुस्तान्तरण नै हो ।

भन्नेहरुले त देउवाले नेतृत्व गरेर कांग्रेसलाई संसदको पहिलो पार्टी बनाए पनि भनेका छन् । तर, तिन्ले के बिर्सन हुन्न भने गठबन्धन गरेर पाएको तुलनात्मक लाभको सोधभर्ना समानुपातिकतर्फ घटेको साढे ४ लाख भन्दा बढी मतले गर्छ त ? अघिल्लो चुनाव भन्दा १० लाख बढी मत खस्दा पनि कांग्रेसको लोकप्रिय मत साढे ४ लाखले घट्नु भनेको पार्टी नेतृत्वप्रतिको आकर्षण र भरोसा कम हुनु नै हो ।

कांग्रेस आफैंमा यथास्थितिवादी चिन्तन बोकेको सनतानी पार्टी हो । कांग्रेसजस्तो पुरातनी पार्टीमा स्वाट्ट र उत्निखेर नेतृत्व परिवर्तन हुन सम्भव छैन । तर, यो भगीरथ प्रयासको नेतृत्व लिने आँट गरेकाले पनि गगन र उनको पुस्ता कालो बादलमा देखिएका चाँदीका घेरा बनेका छन् । उनीहरुबाट कांग्रेसले मात्रै हैन अरु पार्टीले पनि सिक्न जरुरी छ । 

उनीहरुको उदयले पार्टीको शाख मात्रै हैन आम नागरिकको विश्वासलाई पनि बलियो तुल्याउँछ । बरु, पार्टीलाई सच्याउने कि सिध्याउने भन्ने प्रश्न उठ्दा समेत क्षणिक र व्यक्तिगत स्वार्थमा अल्झिने युवा र नयाँ अनुहारबाट कांग्रेसलाई खतरा छ । सबै हारले सम्भावनाको ढोका बन्द गर्दैन । यस अर्थमा संसदीय दलको नेतामा हारेर पनि गगनले जितेका छन् । 


प्रतिक्रिया