रवि लामिछानेलाई किन नदिने सन्देहको लाभ ?

पुस १४, २०७९ | काठमाडौं

सञ्चारकर्मबाट राजनीतिक यात्रा थालेको ७ महिना नबित्दै संसदको चौथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको शासकीय यात्रा पनि उत्तिकै विलक्षण छ । 

आलोकको गतिमा लामिछाने पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधान एवं गृहमन्त्रीका रुपमा आसिन छन् । उनको यो अकल्पनीय यात्रालाई धेरैले स्वभाविक माने पनि पूर्वसहकर्मी अर्थात् सञ्चारकर्मीले सहजै स्वीकारेको अवस्था छैन । जबकी उनको पार्टीले निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरी २० सिट जितेर धेरैथोक प्रमाणित गरिसकेको छ । 

सञ्चारकर्ममै रहँदा पनि अनेक स्टन्ट गर्ने लामिछानेले सरकारमा आएपछि पनि उस्तै क्रियाकलापलाई निरन्तरता दिने र अन्ततः त्यही स्टन्टको भारीले थिचिने मत सामाजिक सञ्जालमा सञ्चारकर्मीले प्रकट गरिरहेका छन् । कतिपयले त टेलिभिजनमा बोलेजस्तो सजिलो सरकारी काम नहुने भनेर एक कदम अघि बढेर प्रतिक्रिया दिइसकेका छन् । 

सर्पले सर्पको खुट्टा देख्छ भनेझैं सहकर्मीको राजनीतिक उदयलाई सञ्चारकर्मीले सकारात्मक लिन सकेका छैनन् । तिनमा अमुक दलसँग निकट रहेका सञ्चारकर्मीको बाहूल्य छ । तर, बिर्सन नुहने तथ्य के हो भने– जसरी हरेक धर्मात्माको विगत हुन्छ, त्यसैगरी हरेक अधर्मीको पनि भविष्य हुन्छ । 

विगत हेरेर कसैको भविष्य निर्धारण गर्नु गतिलो काम हैन । कम्तिमा नयाँ राजनीतिक शक्तिको रुपमा उदाएको रास्वपा र लामिछानेको हकमा अहिले नै प्रतिक्रियात्मक हुनु हतारो हुन्छ । वर्तमानमा चलिरहेको राजनीतिक दाउपेचमा कच्चा भएपनि यिनै पुराना राजनीतिक शक्तिलाई शहरिया क्षेत्रमा धूलो चटाउने काममा रास्वपा र तीनका उम्मेदवारले आशातीत सफलता हात पारेको नै सत्य हो ।

सत्ता समीकरणले पूर्णता नपाउँदै र कार्य सञ्चालन गरेको एकाध दिनमै लामिछानेको विरोध र समर्थन गर्नु आफैमा अतिवादी कर्म हो । समर्थकहरुले असल गर्न नसकेपनि खराब त गर्दै गर्दैनन् भन्नु र विरोधीले यिनले पनि केही लछार्दैनन् भन्नु चरमपन्थी विचारलाई प्रश्रय दिनुमात्रै हो । लामिछानेको आफ्नै कर्मले पनि विरोधीहरुलाई स्पेश दिइरहेका छन् । 

नागरिकता विवाद अदालतमा विचाराधीन रहेकै समय अनुसन्धान गर्ने निकाय प्रहरीसहित आन्तरिक मामिलाको नेतृत्व गर्ने गृह मन्त्रालय रोजेर उनैले विरोधीको स्वरमा मलजल गरेका हुन् । त्यस्तै निर्वाचन लगत्तै आफूहरु सबल प्रतिपक्षीका रुपमा बस्ने भनेर हुङ्कार गरेका लामिछाने आफ्नो अडानमा टिक्न सकेनन् । 

पुराना नेताहरुको नेतृत्व नस्वीकार्ने आफ्नै अभिव्यक्तिलाई उल्लङ्घन गरेर उनी पुरानै र अझ आफैंले यसअघि दुर्वाच्य प्रयोग गर्ने गरेका नेताकै नेतृत्वमा सरकारमा सामेल भएर अरुलेझैं राजनीतिक रङ्ग देखाए भन्नेहरु पनि छन् । उनका समर्थक चाहिँ नालीको फोहोर सफा गर्नका लागि मात्रै उनी नालीभित्र प्रवेश गरेको र उनको चरित्र दागी नभएको दाबी गर्छन् ।

सन्देहको लाभ यतिखेर लामिछानेलाई दिइनुपर्छ । परिवर्तनको चेष्टा वा इसाराका रुपमा निर्वाचनमा मतदाताले घण्टीमा भोट खसालेका हुन् । पुराना राजनीतिक दल र तीनलाई नेतृत्व गर्ने नेताहरुप्रतिको विकर्षण र वितृष्णाकै रुपमा गएको निर्वाचनमा मतदाताले नयाँ सोच र शक्तिलाई एकपटक हेर्ने अभिलाषा अनुसार मत प्रकट गरेका हुन् ।

त्यसैले अहिले राजनीतिक वृत्तमा उदाएका नयाँ अनुहार र शक्तिको सफलता र असफलतासँग नागरिकका परिवर्तनका चाहना र इच्छा पनि जोडिएका छन् । यहाँ लामिछाने एक्लो व्यक्ति वा रास्वपा एक्लो पार्टीमात्रै हैन । राजनीतिक चङ्गुल वा चक्रब्युहमा परेँ भनेर उम्किने छुट पनि लामिछानेलाई छैन । लोक रिझ्याईं र सार्वजनिक खपत हुने योजना र मुद्दा बोकेर उदाएका लामिछानेलाई केही समय सरकारमा पनि उस्तै प्रकृतिको काम गर्ने छुट हुनसक्छ । तर, रुपमा लोकप्रिय र सारमा शून्य काम गर्ने छुटचाहिं कदापि छैन ।

संसदीय राजनीति आफैंमा निर्दयी हुन्छ । यहाँ दया, माया र करुणा भन्दा अंकगणितीय खेलले ज्यादा अर्थ र महत्व पाउँछ । २० सिटको टेकोमा उभिएका लामिछानेसँग छ त केवल सन्देहको लाभ । खबरादरी त मतदाताले गर्ने नै छन् । किनभने राजनीति आफैंमा गम्भीर विषय हो जसलाई हामी राजनीतिज्ञको हातमा मात्रै निश्चिन्त र ढुक्कसाथ छोड्न सक्दैनौं । 


प्रतिक्रिया