अम्लेखगन्ज पेट्रोलियम पाइपलाईनबाट आगामी वर्षभित्र इन्धन ल्याउने तयारी

माघ १३, २०७९ | बारा

नेपाल आयल निगमले मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाईनबाट इन्धन आगामी वर्षभित्र ल्याउने जनाएको छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थको ढुवानी र वितरण गर्दा सुरक्षित र भरपर्दो हुने तथा खर्च कम हुने निगमको भनाइ छ ।

अहिले पाइपलाइनको दोस्रो चरणको काम भइरहेको छ । भारतको मोतिहारीबाट नेपालको अमलेखगन्जसम्म विस्तार गरिएको पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन हो ।

२०७६ भदौ २४ गते पुर्वप्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट उद्घाटन भएको हो । त्यसयता प्रतिघण्टा १ लाख ९३ लिटरसम्म डिजल पाइपलाइनबाट आयत भइरहेको छ ।

अब पेट्रोल समेत ल्याउन मिल्ने गरी पाइपलाइन निर्माण भइरहेको आयल निगमले जनाएको छ । विज्ञहरुका अनुसार पाइपलाईनबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा प्राविधिक क्षति शुन्य हुन्छ ।

अमलेखगन्ज सम्मको पाइपलाइन माफर्त इन्धन ल्याउदा जनशक्तिमा खर्चिएको रकम बचतसगैँ निगमलाई वार्षिक २ अर्ब रुपैयाँ बचत हुने देखिएको छ । आगामी सन् २०२४ को जनवरीभित्र पेट्रोल आयात गर्न मिल्ने गरी पूर्वाधार निर्माणका लागि पाइपलाइनको दोस्रो चरणको काम भइरहेको हो ।

निगमले आफनै खर्चमा ५० लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल भण्डारण टयांक निर्माण गर्दैछ । पहिलो चरणमा आईओसी र एनओसीको सहकार्यमा २ अर्ब रुपैयाँ खर्च गरी पाइपलाइन तयार भएको हो ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयत गर्दा वातावरणमैत्री हुनुका साथै दुर्घटना समेत रोक्न सकिने भारतीय आयल कर्पोरेशनका कन्स्ट्रकसन म्यानेजर अभिषेक भारतीले बताए । उनले भने पाइपलाइनबाट आम उपभोक्तालाई धेरै कुरामा फाइदा हुन्छ ।

वातवरणमा हुने असरलाई समेत यसले कम गर्छ । दोस्रो चरणको पाइपलाई बिस्तार कार्य समयमा सक्ने उनले बताए । पाइपलाइनको काम तीव्र रुपमा अघि बढाइएको निगमका मधेश प्रादेशिक कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख प्रदिप यादवले पाइपलाइनबाट पेट्रोल ढुवानी लागत तथा प्राविधिक नोक्सानी शुन्यमा पुर्‍याउने गरी काम भइरहेको बताए । पाइपलाइन सम्बन्धी काम अगाडि बढेपछि निगमको लागि खर्च छ, जुन ढुवानी भाडामा त्यो चाहि एकदम बचत हुन्छ ।

पाइपलाइन बिस्तार कार्य अगामी अंग्रजी नयाँ वर्ष भित्र अनवरत काम गरेर समयमा सम्पन्न गर्ने उनको भनाई छ । पहिलो चरणको पाइपलाई बिस्तार कार्य जसरी समय भन्दा अगावै सम्पन्न गरेको थियौ त्यसगरी सम्पन्न गर्ने प्रमुख यादबले बताउनुभयो । निगमले पाइपलाइनबाट पेट्रोल र डिजेललाई एकैपटक ल्याउने तयारी गरेको हो ।

त्यसका लागि परीक्षण गरेर रिपोर्ट आएपछि मात्र बजारमा पठाउने प्रमुख यादवले बताए । पाइपलाइनबाट जादा पहिलानै कति मिसावट हुन्छ भनेर अनुमानित गरेको हुन्छ । लेबरोटरी बनाउँदा पनि सर्वप्रथम डिजिटल परीक्षण हुन्छ ।

पाइपलाईनबाट आएको डिजेल र पेट्रोललाई परीक्षण पश्चात बिक्रि वितरणका लागि बजारमा पठाईने प्रमुख यादबले बताए । पाइपलाइन पूर्ण रुपमा सञ्चालन भएपछि ढुवानीमा लाग्ने खर्च कमी हुनुका साथै भन्सार जाँचपास लगायत प्रक्रिया सहज हुने ठानिएको छ ।

भारतबाट नेपालमा पाईपलाईन माफर्त पेट्रोलियम पदार्थ ल्याउने चर्चा सन १९९० कै दशकमा चलेपनि त्यसको करिब साढे दुई दशकपछि मात्र साकार भयो । नेपाल आयल निगम र भारतीय आयल निगमबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण २०१५ को अगष्टमा हस्ताक्षर भएको थियो ।


प्रतिक्रिया