कतार विश्वकप २०२२ को टिकटलाई लिएर एन्फामा नयाँ बहस शुरु

माघ १५, २०७९ | काठमाडौं

कतार विश्वकप फुटबल २०२२ सम्पन्न भएको करिब एक महिनापछि नेपालमा भने विश्वकपको टिकटलाई लिएर नयाँ बहस शुरु भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप हेर्नका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग खरिद गरेको टिकटमा आर्थिक अनियमितताको गन्ध आएपछि विवाद शुरु भएको हो । घरै नजिक आयोजना भएको विश्वकप हेर्नका लागि एन्फाले फिफाबाट २ सय ९० वटा टिकट प्राप्त गरेको र त्यसमा केही टिकट एन्फाले एसियाली फुटबल महासंघ एएफसीका पदाधिकारीलाई दिएपछि विवादको विजारोपण भएको हो । यसबारे सत्य तथ्य सार्वजनिक गर्न एन्फाका कार्यसमिति सदस्यले नै माग गरेका छन् । अन्यथा न्यायिक निरुपणमा जाने चेतावनी पनि उनीहरुले दिएका छन् ।  

नेपाली फुटबललाई नयाँ गति र उचाइ दिन गत असारमा पंकजविक्रम नेम्वाङ नेतृत्वको टोली अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्वमा आयो । तर नेतृत्वमा आएको करिब सात महिना बित्नै लाग्दा बल्लतल्ल मोफसलका प्रतियोगिताहरुको मिति टुङ्गो लागायो । एन्फाले मोफसलका प्रतियोगिताको मिति त तय गर्‍यो तर, प्रतियोगितामा सहभागी हुने करिब ३० जना खेलाडी विदेश पलायन भइसकेका छन् । केही त नेपाली राष्ट्रिय फुटबल टोली कै खेलाडी पनि छन् । खेलाडी पलायनका विषयमा मुकदर्शक बन्दै आएको एन्फा अहिले नयाँ विवादमा फसेको छ । त्यो हो कतार विश्वकपको टिकट बेचबिखन । खेलाडी पलायनका विषयमा ध्यान केन्द्रित गर्दै घरेलु लिग संचालन गर्ने तिर नभई एन्फा यस्ता विषयमा रुमल्लि रहेको छ । यसले जिम्मेवार निकाय एन्फा बारे कस्तो सन्देश प्रवाह गर्ला ? विश्वकपको टिकटका विषयमा विभिन्न मिडियामा आएका टिकाटिप्पणीका कारण एन्फा कार्यसमितीबाटै प्रश्न उठ्न थालेका छन् । एन्फा सदस्य रुपेश अधिकारीले विभिन्न माग सहित अध्यक्ष नेम्वाङसँग लिखित जवाफ माग गर्दै पत्र लेखेका छन् ।

एक पक्षले कतार विश्वकपको टिकट दुरुपयोग भयो भन्दै गर्दा, अर्को पक्ष भने यस विषयमा विवाद आउनु सामान्य भएको तर्क गर्छ । फुटवलको सर्वोच्च प्रशासनिक निकाय फिफाले विश्वकपको प्रत्येक राउण्ड, नकआउट, सेमिफाइनल र फाइनल गरी सबै चरणको टिकट एन्फालाई बिक्रि गरेको थियो । फिफाले ति टिकटको म्याच र क्याटागोरी हेरी कुन सिटको, कुन साइड भन्ने आधारमा मुल्य निर्धारण गर्ने गर्छ । विश्वकपका टिकटहरुको मुल्य न्युनतम ३२ हजार देखि झन्डै दुई लाख १० हजारसम्म पर्न आउँछ । एन्फाका सदस्य संस्था, केन्द्रिय सदस्य तथा खेलाडीहरुका लागि विश्वकप हेर्ने टिकटको कोटा कार्यसमिति बैठकमा पहिले नै निर्धारण पनि गर्‍यो एन्फाले । छुट्याएर बाँकी भएका टिकट स्पोन्सर, शुभचिन्तक तथा फुटबल समर्थकलाई शुल्क तिरेरै वितरण गरेको दाबी एन्फाको छ । ती मध्ये २७ वटा टिकट एन्फाले एएफसीलाई बिक्रि गरेको एन्फा महासचिव किरण राईले बताए । बचेका टिकट बिक्रि नगरिएको भए एन्फा घाटामा जाने भएकै कारण एएफसीलाई टिकट बिक्रि गरेको उनी बताउँछन् ।

फिफाले विश्वकप नखेल्ने हरेक सदस्य राष्ट्रलाई कम्तीमा २ सय ९० वटा टिकट बिक्रि गर्ने गरेको छ । फिफाले टिकट दिनुको मुख्य कारण भनेकै विश्वकपमा सहभागी नभएक देशका नागरिकले विश्वकप हेरुन भनेर हो । नेपाली नागरिकले प्राप्त गर्नुपर्ने टिकट एएफसीलाई दिएर एन्फा शंकको घेरामा घेरिएको फुटबल जानकार प्रज्वल ओली बताउँछन् ।

नेपाल जस्तो मुलुक जहाँ फुटबलको लोकप्रियता अत्यन्त बढी तर स्वयं फुटबल पछाडी परेको छ । यहाँ आर्थिक अभावले पनि सबैको पहूँच विश्वकपको टिकटसम्म हुनै गाह्रो छ । यस्तोमा नेपालजस्तो पिछडीएको देशले एसियाली राष्ट्रहरुको छाता संगठन एएफसीलाई टिकट दिन कुनै जरुरी छैन । त्यसो त एन्फाको आन्तरिक द्धन्द्ध, मोफसलका प्रतियोगिता निकै कम हुनु, भए पनि निर्धारित मितिमा नहुनु, जस्ता कारणले खेलाडीहरु आजित बन्दै पालायन हुन थालेका छन् । अभिभावकीय भूमिकामा रहेको एन्फाले आफ्नो ध्यान फुटबलको गतिविधिभन्दा अन्यत्र बढी खर्चिन थाले समस्या सुल्झिनेभन्दा बल्झिनेमा कुनै शंका छैन । नेपाली फुटबलको अभिभावकत्व बोध गराउने जिम्मेवार निकाय एन्फा कार्यसमितिमा उत्पन्न यस्ता विवादले नेपाली फुटबल भोलीका दिनमा कता तिर मोडिएला ? सोच्नु पर्ने बेला आएको छ ।


प्रतिक्रिया