एसिया कपको तयारीमा नेपाल

वैशाख २२, २०८० | काठमाडौं

एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि जितेसँगै नेपालले एसिया कपको ढोका खोलेको छ । नेपाल दोस्रो पटक एसिया कपमा छनोट भएपनि पहिलोपटक सहभागिता जनाउँदै छ । पछिल्लो समय लयमा देखिएको नेपाली क्रिकेटका लागि एसिया कप एक महत्वपूर्ण प्रतियोगिता हो । तर भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण एसिया कप अझै निश्चित भइनसक्दा नेपालको सहभागिता पनि अन्योलमा छ ।

पाकिस्तानमा आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कपमा नेपाल पनि सहभागी हुने भएपछि खेलाडीसँगै नेपाली क्रिकेट प्रेमी पनि उत्साहित छन् । यसअघि सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनल पुग्दै नेपाल एसिया कपमा पहिलो पटक छनोट भएको थियो । त्यस अनुरुप नेपालले सन् २००४ को एसिया कप खेल्ने तय थियो । तर दुर्भाग्यवस कार्गिल युद्धको विषयलाई लिएर भारतले पाकिस्तानसँग खेल्न अस्विकार गरेपछि नेपाल छनोट भएर पनि एसिया कप खेल्नबाट वञ्चित भयो । भारत र पाकिस्तानबीचको तनावका कारण सन् २००२ को एसिया कप हुन सकेन । सो समयमा छनोट भएर पनि खेल्न नपाउँदाको खेलाडीसँगै सबै क्रिकेट प्रेमी निरास भएको अनुभव राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान तथा खेलाडी ज्ञानेन्द्र मल्लले सुनाए ।

सेप्टेम्बरमा हुन लागेको एसिया कपको आयोजक राष्ट्र पाकिस्तान हो । तर, भारतले पाकिस्तानमा गएर खेल्न ठाडै अस्वीकार गरिसकेको छ । भारत एसिया कप खेल्न नआएमा यही वर्षको अन्त्यमा भारतले आयोजना गर्ने विश्वकप खेल्न नजाने घुर्की पाकिस्तानले पनि दिएको छ । भारतले खेल्ने एसिया कप अन्तर्गतका खेलहरु यूएईमा गर्न पाकिस्तानले प्रस्ताव पनि गरेको छ । यस तालिकाअनुसार खेल भए नेपालले पाकिस्तानसँग पाकिस्तानमा र भारतसँग यूएईमा समूह चरणका खेल खेल्नेछ । भारतले सो प्रस्ताव पनि अस्वीकार गरेपछि आगामी एसिया कप अन्योलमा परेको छ । यता, नेपाल क्रिकेट संघ क्यानले एसिया कपको तयारी स्वरुप टेस्ट राष्ट्रहरुसँग मैत्रिपूर्ण म्याचका लागि प्रस्ताव गर्ने जनाएको छ । नेपाली क्रिकेटले हात पारेको उपलब्धिलाई त्यसै खेर फाल्न नदिने बताउँदै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले सरकारकै पहलमा भए पनि एसिया कप अघि कुनै एक टेस्ट राष्ट्रसँग मात्रै भएपनि मैत्रीपूर्ण म्याचका लागि प्रस्ताव गर्ने बताए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले ९६ वटा देशलाई एसोसिएट राष्ट्रको मान्यता दिएको छ । एसोसिएट राष्ट्र र पूर्ण सदस्य अर्थात् टेस्ट राष्ट्रबीच बिरलै भेट हुन्छ । एसिया कप त्यस्तै मध्येको एक हो । एसिया कप आउन अब चार महिनामात्र बाँकी छ । आगामी अक्टोबर–नोभेम्बरमा भारतले विश्वकप आयोजना गर्दैछ । त्यसको ठीक एक महिनाअघि हुन लागेको एसिया कपमा भारत, पाकिस्तानसहित श्रीलंका, बंगलादेश र अफगानिस्तान यो मौका गुमाउन चाहादैनन् । एसीसी प्रिमयर कप च्याम्पियन नेपाल पनि टेस्ट राष्ट्रसँगको अनुभव बटुल्न चाहन्छ । एसिया कपको माध्यमबाट अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली क्रिकेटको छबि बनाउन सके नेपाली क्रिकेटले पछाडि फर्किन नपर्ने क्रिकेट जानकार विनोद पाण्डे बताउँछन् ।

नेपाली क्रिकेटले धेरैखाले आरोह–अवरोहको सामना गर्‍यो । सन् २०१४ मा नेपालले टी–२० विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गर्‍यो । त्यसको ४ वर्षपछि नेपाल एक दिवसीय टालीमा उक्लियो । नेपाली क्रिकेट टोलीले आगामी जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सिधैं खेल्नेछ । साथै आगामी चार वर्षका लागि पुनः ओडीआई मान्यता कायम गरिसकेको अवस्था छ । अहिले नेपाली क्रिकेटले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ, त्यो हो, एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा छनोट हुनु । यो समग्रमा नेपाली क्रिकेटकै सार्वकालिक ठूलो उपलब्धि हो । यहाँबाट अर्को फड्को मार्न सके नेपाली क्रिकेटले लिने उचाइको अन्दाज अहिले नै लगाउन मुस्किल हुनेछ । त्यो भनेको नेपाललाई टेस्ट मान्यता दिलाउने नै हो । तर, यसका लागि अहिले टेकेको खुड्किलोमा दह्रैसँग उभिन भने पर्छ । 


प्रतिक्रिया