साफ च्याम्पियनसिपको तयारीमा घरेलु लिग बाधक

जेष्ठ ५, २०८० | काठमाडौं

दक्षिण एसियाली फुटबल महासंघले हरेक दुई/दुई वर्षमा आयोजना गर्दै आएको साफ च्याम्पियनसिपको १४ औं संस्करण अर्को महिना भारतमा हुँदैछ । दक्षिण एसियाका राष्ट्रहरुबीच हुने प्रतियोगितामा यस पटक दुई आमन्त्रित टीमको रुपमा कुवेत र लेवनानले पनि खेल्ने छन् । नयाँ टोली खेल्ने भएपछि यस पटकको प्रतियोगितालाई विशेष रुपमा हेरिएको छ । नेपालले समूह एमा रहेर विश्वकप खेलेको इतिहास बोकेको कुवेत, डिफेन्डिङ च्याम्पियन भारत र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्दैछ । घरेलु लिग ए डिभिजन फुटवल जारी रहेकाले खेलाडीले साफ च्याम्पियनसिपका लागि पर्याप्त तयारी गर्न नपाउने अवस्था छ । लिगको चटारो सकेर नेपाली टोलीले बलिया टोलीसँग प्रतिस्पर्धा गर्दै दक्षिण एसियाली फुटवलमा आफ्नो प्रभाव देखाउनुपर्ने चुनौती पनि उत्तिकै छ ।

सन् १९९३ मा पहिलो पटक आयोजना भएको दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिपको १४ औं संस्करण भारतमा आगामी असार ६ देखि १९ गते सम्म हुँदैछ । नेपालले सन् १९९७ र २०१३ मा गरि दुई पटक साफ च्याम्पियनसिप आयोजना गरिसकेको छ । माल्दिभ्समा यसअघि सन् २०२१ मा आयोजना भएको साफ च्याम्पियनसिपमा नेपाल फाइनलसम्म पुग्यो । यो नै नेपालको अहिले सम्मको ठूलो उपलब्धि हो । तर यो पटक पर्याप्त तयारी विना मैदान उत्रदा नेपाललाई कठिन हुन सक्ने देखिएको छ । खेलाडीहरु ए डिभिजन लिग रोकेर तयारीमा लागे उत्कृष्ट प्रदर्शन गर्न सक्ने नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ बताउँछन् ।

गत संस्करणको उपविजेता बन्दै नेपाली फुटबलले आफ्नो स्तरवृद्धि प्रमाणित गरिसकेको छ । त्यसैले ८ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको भारत र विश्वकप खेलिसकेको कुवेत केही दबाबमा भने पर्नेछन् । सहिद स्मारक ए डिभिजन लिग फुटबल ढिलो गरि सुरु हुँदा त्यसको असर साफ च्याम्पियनसिपमा पर्‍यो । उसो त घरेलु प्रतियोगिता एकदमै कम हुनु, भए पनि ढिलो गरि हुने जस्ता कारण खेलाडीहरु मारमा पर्ने गरेका छन् । यस्तोमा पटक–पटक सर्दै बल्ल सुरु भएको लिग रोकिँदा आगामी दिनमा समस्या उब्जिन सक्छ । जारी लिग रोक्दा पछिका लागी बनिसकेका खेल तालिका प्रभावित हुने तथा क्लबहरु पनि सहमत नहुने भएकाले एन्फा लिग सम्पन्न गर्ने मनस्थितीमा पुगेको देखिन्छ । लिग रोकिदा आर्थिक भार थपिने एन्फाका प्रवक्ता सुरेश शाह बताउँछन् ।

साफ च्याम्पियनसिप खेल्न लागेका मध्ये नेपालको समूहमा रहेको आयोजक भारत अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा वरीयतामा १ सय १ स्थानमा छ । यस्तै, कुवेत १ सय ४३, नेपाल १ सय ७४ र पाकिस्तान १ सय ९५ औं स्थानमा छ  । गत फागुनमा नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका इटालीका भिन्सेन्जो अल्बर्टो एनिसको नेतृत्वमा नेपालले पहिलो पटक ठूलो प्रतियोगिता खेल्दै छ । थोरै तयारीका साथ मैदान उत्रिन लागेका खेलाडी सँग–सँगै मुख्य प्रशिक्षक भिन्सेन्जोले पनि आफूलाई खरो उतार्नु पर्नेछ । समुह चरण कठिन भएकाले खेल्न सहज नहुने तर आफूभन्दा बलिया टीमसँग खेल्न पाइने भएकाले नेपाली खेलाडीलाई सिक्ने मौका पनि छ ।

नेपालले साफ च्याम्पियनसिप अघि यहि जेठ ३२ गते फिलिपिन्ससँग एउटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय म्याच खेल्ने भएको छ । जारी ए डिभिजन लिग र लिगमा पाएको विश्रामको समय साफको तयारीका लागि प्रशिक्षणमा जानुपर्ने बाध्यता खेलाडीमा छ । विगतमा नेपालले साफ च्याम्पियनसिपका लागि महिनौं प्रशिक्षण गरेको उदाहरण पनि छ । तर यसपटक लिगको चटारो उत्रन नपाउँदै राष्ट्रिय टोलीमा होमिनु पर्दा खेलाडीबाट शत प्रतिशत नतिजा नआउने विश्लेषण भएको छ । राष्ट्रिय टोलीलाई बलियो बनाउन घरेलु लिगले नै मद्धत गर्ने फुटबल विश्लेषक हिमेशरत्न बज्राचार्यको भनाई छ ।

ए डिभिजन लिग रोकँदा आर्थिक भार बढ्ने जनाउँदै एन्फाले लिग स्थगित नगर्ने भएको छ । यही जेठ २७ मा सकिने लिग यथावत राख्न क्लबहरुको दबाब एन्फालाई छ । लिग सकिएको ११ दिन पछि साफ च्याम्पियनसिप सुरु हुन्छ । अधिकांश खेलाडीले लिगका दौरान चोटका कारण विश्राम लिएका छन् । यस्तै, माल्दिभ्समा नेपाललाई उपविजेता बनाउँदाका अधिकांश खेलाडी विदेशिएका छन् । यी र यस्तै कारणले गर्दा यसपटक नेपाललाई साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका लागि चुनौती बढाएको छ । 


प्रतिक्रिया