सुन काण्ड : दलहरुले सौदाबाजीको मुद्दा बनाउँदा विषयान्तरको सशंय

श्रावण १६, २०८० | काठमाडौं

सुन काण्डमा उच्चस्तरीय छानविन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनमा अबरोध जारी राख्ने भएपछि मंगलबारकालागि बोलाइएको प्रतिनिधिसभा बैठक एक सातापछि धकेलिएको छ । गत बुधबारपनि एमालेको अबरोधका कारण स्थगित भएको प्रतिनिधिसभा बैठक मंगलबार दोस्रो पटक स्थगित हुँदै २२ गते सोमबारकालागि बोलाइएको हो । प्रमुख प्रतिपक्षीले उच्चस्तरीय समिति गठनको अडान दोह्याउदा सत्तापक्षले अनुसन्धान प्रभावित हुने भन्दै समितिको औचित्यको दावी गर्दै आइरहेको छ । जसले गर्दा दोस्रो पटक सदन स्थगित भएको छ ।

क्विन्टल सुन काण्डको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अबरुद्ध गर्ने भएपछि मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भयो । यसअघि गत बुधबार प्रतिपक्षी एमालेको विरोधका कारण सदन अबरुद्ध भएको थियो । सुन काण्डमा राजनीतिक दलका मुख्य नेताहरुको संलग्नता रहेको भन्दै अहिले राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीले मात्रै गरेको अनुसन्धान प्रभावकारी नहुने एमालेको तर्क छ । एमाले मुख्य सचेतक पदम गिरी राजनीतिक आडमा अनुसन्धान प्रभावित हुन नसक्ने भन्दै निष्पक्ष छानबिनकालागि समितिको आवश्यकता रहेको बताउँछन् ।

हङकङबाट त्रिभुवन विमानस्थल हुँदै भन्सार पार गरिसकेको अवस्थामा एक क्विन्टल सुन बरामद भएपछि सो बिषय सदनमा प्रवेश गरेको हो । प्रमुख प्रतिपक्षीले गरेको सदन अवरोधलाई सत्तापक्षीय दलहरुले अनावश्यक भएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे निहित स्वार्थका कारण प्रतिपक्षीले घटनालाई तोडमोड गर्न समितिको माग गरेको बताए ।

यता, सत्तारुढ नेपाली कांग्रेसले पटक—पटकको संसद अवरोधबाट गलत सन्देश जाने तर्फ सचेत हुनुपर्ने बताएको छ । राजनीतिक दाउपेचमा जननिर्वाचित संस्थालाई अनिर्णयको बन्दी बनाउन नहुने कंग्रेसको भनाइ छ ।

संसदीय गतिरोध जारी रहँदा संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सुन काण्डबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिसकेको छ । राप्रपाले पनि छानबिन समिति बनाउनुपर्ने माग राखेको छ । सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले एक दर्जन भन्दा बढी व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । अनुसन्धानलाई प्रभावकारी बनाएर मुख्य नाइकेसम्म पुग्नुपर्ने बेला सुन तस्करीको बिषयलाई दलहरुले सौदाबाजीको मुद्धा बनाउँदा बिषयान्तर हुन सक्ने सशंय प्रकट भएका छन् । 


प्रतिक्रिया