एशियन गेम्समा नेपाली ट्रायथलनको तेस्रो सहभागिता

आश्विन २, २०८० | काठमाडौं

ट्रायथलन विश्व खेलकुदमा कठिन मानिने खेल हो । यो खेलभित्र तीन फरक खेलमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । पौडी, साइक्लिङ र दौड । चार दिनपछि सुरु हुने एशियन गेम्समा चार खेलाडीले नेपालको चुनौती पेश गर्दैछन् । नेपालले तीन स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछ ।

एशियन गेम्समा ट्रायथलनका खेलहरु यहि असोज १२ देखि १५ गतेसम्म हुनेछन् । नेपालबाट महिलातर्फ श्रीवी महर्जन र युस्का महर्जन तथा पुरुषतर्फ वसन्त थारू र मौलिक महर्जनले प्रतिस्पर्धा गर्नेछन् । एसियाडमा बसन्तको तेस्रो सहभागीता हो भने, अन्यले डेब्यू गर्दैछन् ।

खेलाडीसहित सात सदस्सीय टोली असोज ९ मा होङझाओ जाँदैछन् । नेपालले महिला÷पुरुष सिंगल्स् र मिक्स रिले गरि तीन विधामा स्पर्धा गर्नेछ ।

बसन्तले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण हात पार्दा, मौलिकले कास्य जितेका थिए । संघले आफ्नै पहलमा गत वर्षबाटै खेलाडीलाई एसियाडका लागि तयार पारिरहेको महासचिव युवराज सुनुवार बताउँछन् । परिषद्ले एसियाडको तयारीका लागि दिएको समयावधि अपुग भएको उनको भनाई छ ।

ट्रायथलन सन् २००६ मा थाइल्यान्डमा भएको छैंठौं संस्करणको एशियन गेम्समा समावेश गरिएको हो । नेपालले भने दक्षिण कोरियामा सन् २०१४ मा भएको १७ औं संस्करणबाट मात्रै यसमा सहभागीता जनायो । नेपालले ट्रायथलनबाट १३ औं सागमा पहिलो पटक स्वर्ण जित्यो । सोनी गुरुङको नाममा रहेको सो स्वर्ण नेपाली ट्रायथलनको ऐतिहासिक उपलब्धि हो । अघिल्ला दुई संस्करण सन्तोषजनक नतिजा हात पार्न नसकेको नेपालले यस पटक पदकको आशा राखेको छ ।


प्रतिक्रिया