राष्ट्रिय क्रिकेट टोली एसियाडको अन्तिम तयारीमा व्यस्त

आश्विन ३, २०८० | काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोली एसियाली खेलकुद प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त छन् । १५ खेलाडीसहित १९ सदस्सीय टोली आगामी आइतबार चीन जाँदै छन् । झन्डै एक बर्ष वान डे क्रिकेटमा अभ्यस्त रहेको राष्ट्रिय टोलीले छोटो समयमै टी–ट्वान्टी फर्म्याटमा एसियन गेम्स खेल्न लागेको हो ।

एसियन गेम्समा नेपालले क्रिकेटतर्फ तेस्रो पटक सहभागीता जनाउँदैछ । यसका लागि लामो समय टोली बाहिर रहेका तीन खेलाडी समेट्दै मुख्य प्रशिक्षक मोन्टी देसाईले १५ सदस्यीय टोलीको घोषणा यसअघि नै गरिसकेका छन् । टोलीमा विनोद भण्डारी, विवेककुमार यादव र अभिनाश बोहोराले पुनरागमन गरेका छन् । यी तीन खेलाडीलाई नेपाल क्रिकेट संघले एक महिने अभ्यासका लागि भारत पठाएको थियो ।

एसियाडलाई नेपाली टोलीले विश्वकप छनोटको तयारीका रुपमा लिएको छ । एसियाडपछि राष्ट्रिय टोलीले आगामी अक्टोबर÷नोभेम्बरमा घरेलु मैदानमा टी–ट्वान्टी विश्वकप छनोट खेल्नेछ । पछिल्लो बर्ष वान डे फरम्याटमा खेलीरहेको नेपाली टोली छोटो समयमै टी–ट्वान्टी फर्म्याटमा फर्केको हो । एसिया कप क्रिकेटमा बलिया इण्डिया र पाकिस्तानसँगको खेल अनुभवले एसियाडमा थप मद्धत पुग्ने राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटा बताउँछन् ।

गत अगष्टमा केन्यासँग ५ खेलको सिरिज खेलेपछि नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेको छैन । विश्वकप छनोट अघि एसियाडले खेलाडीको मनोबल बढाउन सहयोग पुग्ने क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताए ।

एसियन गेम्समा क्रिकेट अन्तर्गतका खेलहरु असोज १० देखि २० गतेसम्म हुनेछन् । नेपालले समुह चरणका खेलमा असोज १० गते मंगोलिया तथा १४ गते माल्दिभ्ससँग खेल्ने तालिका छ । सन् २०१० मा चीनमै भएको १६ औं संस्करणमा डेब्यू गरेको नेपाली क्रिकेट टोली १७ औं संस्करणमा पनि सहभागी बन्यो । अघिल्ला संस्करण सहभागीता मै सिमित बनेको नेपालले यस पटक क्रिकेटबाट पदकको आशा राखेको छ ।


प्रतिक्रिया