एसियाडमा निराश

आश्विन २१, २०८० | काठमाडौं

चीनको हाङचउमा भएको १९ औं संस्करणको एसियाली खेलकुद प्रतियोगितामा नेपालले इज्जत धान्ने प्रर्दशन मात्र गरेको छ । २ सय ५३ खेलाडी पठाएको नेपालले मात्र दुई पदक जित्यो । महिला कबड्डीमा कास्य जितेको नेपालका लागि एरिका गुरुङले करातेमा रजत पदक दिलाइन् । पदकको आश गरिएका तेक्वान्दो र बक्सिङमा यसपटक पनि नेपाललाई निराशा हात लाग्यो ।

एशियाली खेलकुदका लागि हाङ्चउ पुग्ने नेपाली खेलाडीको टोली २ सय ५३ सदस्यीय भएपनि पदकमा त्यही अनुपातको उपलब्धि हासिल भएन । सर्वाधिक २९ खेलमा सहभागिता जनाएर अहिलेसम्मकै महंगो झण्डै २९ करोड रुपैयाँ खर्च गरेको नेपालले एक रजत र एक कास्य जित्यो । यसो भनिरहँदा बिर्सन नहुने तथ्य के हो भने नेपालले लगातार दुई संस्करणमा रजत पदक जित्न सफल भएको छ । कराते खेलाडी एरिका गुरुङले कुमुतेतर्फ महिला ६८ केजीमाथि तौल समूहमा ऐतिहासिक रजत जितिन् । नेपालका लागि यो एसियाडमा दोस्रो, एसियाडको इतिहासमै अहिलेसम्मको तेस्रो रजत र करातेमा अहिलेसम्मकै चौथो पदक हो । नेपालले २५ वर्षपछि एसियाडमा व्यक्तिगतर्फ रजत जिताउने खेलाडी बनिन् एरिका । यसअघि इन्डोनेसियामा भएको १८औं एसियाडमा नेपालको प्यारग्लाइडिङ टिमले टिम इभेन्टमा रजत जितेको थियो । सन् १९९८ मा थाइल्याण्डको बैंककमा भएको १३औं एसियाडमा तेक्वान्दोकी सविताराज भण्डारीले पहिलो पटक नेपाललाई रजत पदक दिलाइन् ।

यसअघि नेपालले करातेबाट सन् १९९४ मा सीता राई, १९९८ मा समरबहादुर गोले र २०१४ मा विमला तामाङले कास्य पदक जितेकी थिइन् । दक्षिण कोरियाको इन्चनमा भएको १७ औँ संस्करणमा कराँतेकी विमला तामाङको एउटा कास्यले नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो । यसअघि महिला कबड्डी टिमले नेपालका लागि हाङचउ एयिशलाी खेलमा कास्य दिलाएर बोहनी गरेको थियो । पहिलो सहभागितामा नै पदक दिलाएर महिला कबड्डीले आशाको ज्योति बालेको छ ।

एसियाका ४५ देशमध्ये ४१ देशले पदक जित्दा, भुटान र माल्दिभ्स, यमन र टिमोर लिस्टे पदकबिहिन बने । आयोजक चीन २ सय १ स्वर्ण, १ सय ११ रजत र ७१ कास्य गरि सर्वाधिक ३ सय ८३ पदक जित्न सफल भयो । यस्तै, दोस्रो स्थानको जापानले ५२ स्वर्ण, ६७ रजत र ६९ कास्य गरि १ सय ८८ पदक जित्दा, दक्षिण कोरिया ४२ स्वर्ण, ५९ रजत र ८९ कास्य गरि १ सय ९० पदक जित्दै तेस्रो बन्यो । एसियाडमा यसपटक १२ हजारभन्दा बढी खेलाडी सहभागी थिए ।

सदाझैं यसपटक पनि एशियाली खेलकुद नेपाली खेलाडीका लागि राष्ट्रिय कीर्तिमान कायम गर्ने थलो बन्यो । भारोत्तोलनका विशालसिंह विष्टले ३ राष्ट्रिय कीर्तिमान बनाए । पुरुष ९६ केजी तौलसमूहमा ३ सय १ केजी भार वहन गर्ने उनी पहिलो नेपाली खेलाडी बने ।

राष्ट्रिय खेलकुद परिषद र ओलम्पिक कमिटिले हाइपफर्मेन्स गेम भनेर ४ वटा विधा थपे पनि त्यसबाट खासै सफलता हात लागेन । विधामात्रै थप्ने तर पदक सम्भावना भएका खेलका खेलाडीलाई अन्तर्राष्ट्रिय अभ्यास र एक्सपोजर नदिंदा यसपटक पनि एशियाली खेलकुदमा बिरालो बाँधेर श्राद्ध गर्ने परम्परामै सीमित भएको नेपालको सहभागिता । एशियाली खेलकुदमा पदक जित्नका लागि चाहिने दृढ इच्छाशक्ति र पूर्वतयारीमा अहिलेबाटै काम नथाल्ने हो भने २० औं संस्करणमा पनि नेपाल केही कास्य र रजत पदकमै सीमित हुनेमा कुनै शंका छैन । 


प्रतिक्रिया