टी–२० विश्वकपमा छनोट भए नेपाली क्रिकेट एक खुड्किलो माथि उक्लने

कार्तिक १६, २०८० | काठमाडौं

आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि नेपालमा हाल एसिया क्षेत्रको छनोट खेलहरु जारी छन् । छनोटमा सहभागी ८ मध्ये दुुई टिमले सन् २०२४ मा हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछन् । पछिल्लो समय घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाललाई विश्वकपका लागि छनोट हुने दाबेदार टोलीका रुपमा हेरिएको छ । यस पटक विश्वकपमा स्थान सुरक्षित गरेको खण्डमा नेपाल सन् २०१४ पछि पहिलो पटक टी–ट्वान्टी विश्वकप खेल्नेछ । विश्वकपमा छनोट हुन सके नेपाली क्रिकेट एक खुड्किलो माथि उक्लने छ ।

नेपाल १० वर्षपछि पुनः टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि छनोट हुने संघारमा पुगेको छ । त्यसका लागि हाल घरेलु मैदानमा जारी एसिया क्षेत्र छनोटको सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपालले फाइनलसम्मको यात्रा तय गर्नुपर्ने हुन्छ । सन् २०१४ पछिका तीनवटा टी–ट्वान्टी विश्वकपमा नेपाल छनोट हुन सकेन । यसपटक घरेलुु दर्शकमाझ उत्कृष्ट प्रदर्शन गरेर विश्वकपमा पुुग्ने लक्ष्य राष्ट्रिय टिमको छ । सन् २०१४ को टी–ट्वान्टी विश्वकपको अनुभव बोकेका सोमपाल कामी र विनोद भण्डारी बाहेक राष्ट्रिय टोलीका सबै खेलाडी नयाँ छन् । युवा खेलाडीको बाहुल्य रहेको टिम विश्वकप खेल्ने सपना पूरा गर्न लागि परेका छन् ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको प्रमुुख प्रतियोगिता खेलेको भनेकै सन् २०१४ को टी–ट्वान्टी विश्वकप मात्रै हो । त्यस बाहेक आईसीसीले आयोजना गर्ने मुुख्य प्रतियोगिता नेपालले कमै मात्र खेलेको छ । आईसीसीको मुुख्य प्रतियोगिता भनेकै टी–ट्वान्टी विश्वकप र एकदिवसीय विश्वकप क्रिकेट हो । यी दुुई प्रतियोगितामा नेपालको सहभागीता एकदमै पातलो छ । सन् २०१४ मा विश्वकप खेले पश्चात नेपाली क्रिकेटमा केही उल्लेख्य परिवर्तन आउला भन्ने थियो । तर आन्तरिक राजनीति, नेपाल क्रिकेट संघ निलम्बनमा पार्नु लगायतका विविध कारणले गर्दा नेपाली क्रिकेटले खासै सफलता हासिल गर्न सकेन । हाल नेपाली क्रिकेट लयमा रहेकाले यसलाई कायम राख्ने क्यानले आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने जनाएको छ । साथै, भौतिक पूर्वाधारका लागि सरकारलाई घचघच्याउने उनले बताए ।

विश्वकप खेल्नु नेपाली क्रिकेटको सबैभन्दा ठूलो उपलब्धि हो । त्यहाँ हामीले विश्वका बलिया टिमसँग खेल्दै अनुुभव बटुल्ने अवसर प्राप्त गर्न सक्छौं । साथै खेलाडीहरुले आफ्नो कौशल प्रस्तुत गर्ने मौका पाउँछन् । सन् २०१४ को विश्वकप हेरेर क्रिकेटमा आकर्षित भएका अधिकांश खेलाडी हाल राष्ट्रिय टिममा छन् । सो विश्वकप हेरेर हुर्केका पुस्ताले नेपाललाई दोस्रो विश्वकपको अनभुव दिन सक्ने आधारहरु प्रशस्त छन् । नेपाली क्रिकेट हाल सोही लयमा छ । यो लयलाई कायम राख्न पर्याप्त भौतिक पूर्वाधारको आवश्यक छ । त्यसका लागि सरकार, क्यान तथा क्रिकेटसंग सम्बन्धित संघ संस्थासँग आवश्यक छलफल गरि अघि बढ्ने राष्ट्रिय खेलकुद परिरषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङले बताए ।

टी–ट्वान्टी विश्वकपमा पुुगे ऐतिहासिक सफलता पाउनुका साथै नेपाली क्रिकेटमा यसले ठूलो परिवर्तन आउन सक्छ । नेपालले धेरैभन्दा धेरै म्याच एक्सपोजर पाउने सम्भावना अधिक रहन्छ । त्यसका लागि क्रिकेट गतिविधि बढाउँनुका साथै, राष्ट्रिय टिमको तयारी राम्रो बनाउन पर्छ । पूूर्वाधारमा उल्लेख्य र नाटकीय सुधार ल्याउनुपर्छ । त्रि.विपछि हालै अन्तर्राष्ट्रिय मान्यता पाएको मुलपानी मात्रै हैन अन्य क्रिकेट मैदानहरु पनि बन्नुपर्छ । किनभने अहिले फलाम तातेको छ, नेपाली क्रिकेटलाई कस्तो आकार दिने हो त्यहि अनुसारको हम्मर हान्ने बेला आएको छ ।


प्रतिक्रिया