विश्वमा मोटोपनाको समस्या बढ्दै, अस्वस्थकर खाना र फेरिएको जीवनशैली मुख्य कारण

फाल्गुन २४, २०८० | काठमाडौं

स्वास्थ्य क्षेत्रमा विभिन्न अनुसन्धानमुलक काम गर्ने द ल्यान्सेट जर्नलको पछिल्लो एक प्रतिवेदन अनुसार विश्वभर मोटोपनाको समस्या बढ्दै गएको छ । 

अध्ययनले २ सय मुलुकका विभिन्न उमेर समूहका व्यक्तिमा गरिएको अनुसन्धानबाट मानिसहरुमा अत्यधिक मोटोपना बढ्दै गएको देखाएको हो । सो अध्ययनलाई आधार मान्दै विश्व स्वास्थ्य संगठनले समेत प्रत्येक आठ जनामध्ये एक जनामा मोटोपना भएको जनाएको छ । नेपालमा पनि विगतको तुलनामा मोटोपना हुने मानिसको संख्या बढ्दै गएको छ । मोटोपना बढ्नुमा अस्वस्थकर खाना र विलासी जीवनशैलीलाई मुख्य कारण मानिएको छ । 

द ल्यानसेट जर्नलका अनुसार पछिल्ला बर्षमा मा झन्डै १ अर्ब मानिसहरुमा मोटोपनाको समस्या देखिएको छ । जसमा ८८ करोड वयस्क तथा १५ करोड ९० लाख बढी बालबालिका रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनुसार विश्वका झण्डै १ सय ९० देशमा मोटोपनको समस्या देखिएको हो । 

हालसालै सार्वजनिक भएको सो प्रतिवेदनले विकसीत मुलक अमेरिकामा पनि मोटोपनाको मात्र तिब्र रुपले बढेको पाइएको छ । अन्य देशको तुलनामा टापु राष्ट्र टोंगा र सामोआमा महिलामा बढी मोटोपना देखिन्छ । यस्तै पुरुषको हकमा अमेरिकाको सामोआ र नाउ क्षेत्रमा बढी मोटोपना देखिएको छ । 


मोटोपना बढ्नु मानव स्वास्थ्यका लागि हानीकारक मानिन्छ । नेपालमा पनि बालबालिका र वयश्कमा मोटोपना बढ्दै गएको अध्ययनहरुले देखाएका छन् । खासमा मोटोपना बढ्नुको कारण अस्वस्थकर खाना र शारीरीक कसरत कम गर्नु भएको पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन् ।


तौल धेरै भएका अर्थात् मोटोपना भएका मानिसहरूको अनुपात अमेरिकामा कुल जनसंख्याको ४० प्रतिशत पुगिसकेको समेत ल्यान्सेटको प्रतिवेदनले जनाएको छ । मोटोपनाको दर बढीरहेको प्रसँगका बीच सन् १९९० र जर्नलले गरेको पछिल्लो अध्ययन अवधिमा बालबालिकामा ४ गुणा र वयस्क व्यक्तिहरुमा २ गुणाको दरले मोटोपना बढेको अनुसन्धानका क्रममा भेटिएको हो । मोटोपनाले मुटुसँगै हाडजोर्नी, कलेजो लगायत अंगमा जोखिम बढाउने चितवनस्थित नारायणी सामुदायिक हस्पीटलका मुटुरोग विशेषज्ञ डा. मणी गौतमको भनाई छ ।

शारीरिक श्रम कम गर्नु, फास्टफुडको उपभोग वा सेवन र मसलायुक्त खानाले पछिल्लो समय मोटोपना बढीरहेको सन्दर्भ पछिल्ला अध्ययनमा समेटिएका छन् । मोटोपनका कारण विभिन्न अङ्गको क्यानसर हुने, निन्द्रामा समस्या हुने, हाडजोर्नीसम्बन्धी समस्या उत्पन्न हुने एवं व्यक्तिको पाचन प्रणालीमा समेत असर पर्ने सम्भावना रहन्छ । सामान्यतया तौल कम हुनु र बढी हुनु व्यक्तिगत स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषय हुन् ।


नेपालमा सन् १९९६ मा गरिएको एक अध्ययन अुनुसार २ प्रतिशत नेपाली रहेकोमा २०१६ सम्म आइपुग्दासम्म २२ प्रतिशतमा पुगेको थियो । आधुनिकताका नाममा खाईने अस्वस्थकर खानपानले समेत मोटोपनालाई बढावा दिइरहेको भन्दै पोषणविद् डा.उप्रेती स्वस्थ बन्न स्थानीय स्तरमै पाइने कतिपय खानेकुरालाई प्राथमिकता दिनुपर्ने बताउँछिन् ।

सार्वजनिक भएको ल्यान्सेटको प्रतिवेदनअनुसार विश्वभरको जसंख्याबाट कम वजन वा कुपोषण भएका वयस्कहरूको संख्यामा भने झण्डै ५० प्रतिशतले कमी आएको पाइए पनि कतिपय मुलुकमा गरीबीका कारण भोकमरी तथा कुपोषणको संख्या धेरै छ ।


सन् १९९० देखि २०२२ को अवधिमा विश्वका २०० मुलुकका विभिन्न उमेर समूहका व्यक्तिमा गरिएको अनुसन्धानबाट मोटोपना बढ्दै गएको पाइएको हो । मोटोपना कम गर्न तथा शारिरिक तन्दुरुस्तीका लागि विभिन्न शारिरीक अभ्यास र व्यायाम गर्ने प्रचलन बढ्दो छ । तर नियमित रुपमा खानपान मिलाउन र जङ्गफुडको प्रयोगमा कमी ल्याउन सके मोटोपना कमी हुने चिकित्सक गौतम बताउँछन् ।

प्रतिवेदनको तथ्याङ्क आधार मान्ने हो प्रत्येक ८ जना व्यक्ति मध्ये एक जनामा मोटोपनाको समस्या देखिएको छ । मोटोपनालाई कम गर्न सामान्य रुपमा दैनीक रुपमा खाईने आहारमा ध्यान दिने, अनावश्यक र धेरै पटक नखाने तथा खाना खाने बानी व्यवहारमा परिवर्तन जरुरी भएको विज्ञहरुले सुझाव दिएका छन् । 


प्रतिक्रिया