विपरित धुव्रमा रहेका वामपन्थी दल मिलेर जानेमा आशंका

फाल्गुन २५, २०८० | काठमाडौं

नयाँ सत्तागठबन्धनमा माओेवादी केन्द्र, एमाले र एकीकृत समाजवादी सहभागी भएसंगै मुलुकमा पुनः बामएकताको चर्चा चुलिएको छ । तत्कालिन नेकपा पार्टी र उसको नेतृत्वमा रहेको सरकार जोगाउन नसकेपछि पुरानै अवस्थामा फर्र्किएका एमाले र माओवादी केन्द्रसँगै एमालेबाट विभाजन भइ गठित एकीकृत समाजवादी सत्ता समीकरण जोडिएका छन् । पार्टी विभाजनपछि एकअर्कोविरुद्ध आरोप–प्रत्यारोप गर्दै अघि बढेका दलहरु मिलेर फेरि वामपन्थी शक्ति निर्माणतर्फ जान सक्छन् या सक्दैन भन्ने कोणबाट बहस भइरहेको छ ।

एउटै पार्टीमा रहदाँ भाइचारा र विभाजन हुँदा दुश्मनी साँध्ने मुलुकका दुई ठूला कम्युनिष्ट एमाले र माओवादी केन्द्र पुन सत्तासहयात्री बनेपछि फेरि पार्टी एकता हुनेसम्मका चर्चा सतहमा छ । एमाले र माओवादी मिलेर बनेको तत्कालिन नेकपा विभाजन भएको ठीक ३ वर्षपछि माओवादी केन्द्र, एमालेबाट विभाजित एकीकृत समाजवादी र एमाले एउटै गठबन्धनमा हुनुले पनि एकतासम्मको चर्चा चल्नु स्वभाविक हो । पार्टी विभाजनपछि एक–अर्काविरुद्ध कडा आलोचनामा उत्रिएका माओवादी र एमालेबीचको सहकार्य अघि बढ्ने आधारका लागि आगामी राजनीतिक घटनाक्रमलाई हेर्नुपर्ने हुन्छ । एमाले र माओवादी केन्द्र फेरि एउटै गठबन्धनमा सहभागी हुनुलाई जसरी नाटकीय रुपमा हेरिएको छ , सत्ताको यात्रामा एकीकृत समाजवादी पनि सजिलै मिसिनुलाई रोचक नै मानिएको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अस्थिर राजनीतिक पात्र मान्दै आएको एमालेले उनै दाहाललाईसत्ता सहयात्राको नेतृत्व स्वीकारेको छ । अघिल्लो वर्षको निर्वाचनपछि दाहाललाई पुस १० गते प्रधानमन्त्रीमा विराजमान गराएको एमाले राष्ट्रपति निर्वाचनको सम्मुखमा अर्को गठबन्धन बनेकोे घटनाबाट अझै पनि सशंकित छ । भलै गठबन्धन भत्काउनुलाई सफल र उपलब्धी मानेको एमालेले अब कम्युनिष्ट घटकलाई एकीकरण गरेर अघि बढ्न चाहेको बताएको छ । एमालेबाट विभाजन भएको एकीकृत समाजवादीसमेत समीकरणमा जोडिनुले पनि एकताको प्रारम्भिक चरण सुरु भएको एमाले नेता शेरबहादुर तामाङ बताउँछन् ।

२०७४ मा चुनावी गठबन्धन र पार्टी एकतापछि झन्डै दुई तिहाइ बहुमतसहितको तत्कालिन नेकपा जोगाउन नसक्नुको अपजस कुनै दलले लिएका छैनन् बरु एक–अर्कालाई दोष दिएका छन् । तर गठबन्धनमा आएपछि भने आत्मलोचनासहित अघि बढ्न प्रतिवद्धता जनाएका छन् । सत्ताराजनीति गर्दा जनतामा बाँडेका सपना पुरा गर्न नसक्ने दलहरुले फेरि मिलेर अघि बढ्ने प्रतिवद्धतालाई कसरी व्यवहारमा उतार्छ त्यो भने हेर्न बाँकी छ । हिजोका दिनमा आफूहरुले गल्ती गरेको महसुस गर्दै अब मिलेर अघि बढ्नुको विकल्प नभएको माओवादी नेता देवेन्द्र पौडेलको भनाइ छ ।

सतहमा हेर्दा पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने विषयको लफडाले तत्कालिन नेकपा विभाजन भएको थियो ।सार्वजनिक मञ्चहरुमा एकअर्कोलाई आरोपप्रत्यारोप गर्दै दुनियाँ हसाउन उद्धत देखिएकाउनै माओवादी, एमाले र एकीकृत समाजवादी अब सच्चिएर एक ठाउँमा उभिएमात्र पार्टी एकताको आधार बन्ने नेताहरु बताउँछन् । पार्टी एकता गर्न र यसलाई सुदृढ बनाउन नेताहरु सुध्रिएर अघि बढ्नुपर्ने एकीकृत समाजवादीका वरिष्ठ नेता खनाल बताउँछन् ।

राजनीतिक रुपमा नै एकअर्कोलाई सिध्याउने गरि अघि बढेका कम्युनिष्ट घटक सत्तासमीकरणमाफर्किनुले भविष्यमा पार्टी एकीकरणको सम्भावना हुन सक्ने विश्लेषण गरिएको हो । तर त्यसका लागि सत्तासमीकरणमा रहेका कम्युनिष्ट दलहरुको आगामी कदमलाई हेर्नुपर्ने विश्लेषक खगेन्द्र प्रसाइको बुझाइ छ ।

संसदको पहिलो दल नेपाली कंग्रेसलाई प्रतिपक्षमा धकेल्दै एमाले र माओवादी केन्द्रले सहकार्यको बाटो तय गरेका हुन् । उनीहरुको पहल सत्तामा फर्किने एउटा प्रयास मात्र हो वा दीर्घकालिन सहकार्य गर्दै मुलुकलाई स्थायित्वमा लैजाने चाहना हो त्यो भने निर्धारण हुन केही समय लाग्नेछ । योसँग जोडिएको महत्वपूर्ण पक्ष भनेकोचाहि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीचको केमेस्ट्री नमिलेको दिन उनीहरु फेरि अर्को बाटो लाग्नेमा दुईमत छैन । किनभने ओली र दाहालवीचको इगोले मुलुकको राजनीति र वामपन्थी आन्दोलनलाई कुन तहमा कमजोर बनायो भन्ने उदाहरण हेर्न कम्तिमा २०७२ सालपछिको राजनीतिक घटनाक्रमलाई हेर्दा पर्याप्त हुन्छ ।  


प्रतिक्रिया