नेपाली क्रिकेटले जित्न बिर्सियो

आश्विन २८, २०८१ | काठमाडौं

नेपाली क्रिकेट टोली अमेरिका र क्यानडाको भ्रमणमा रहेपनि रफ्तार भने अधोगति उन्मुख छ । कारण पछिल्लो समय नेपालले विश्वकप क्रिकेट लिग २ मा गरेको निराशाजनक प्रदर्शन नै हो । ८ खेलको समाप्तिमा नेपाल तालिकाको सातौं स्थानमा युएई भन्दा १ स्थानमाथि छ । युएईले १ खेल कम खेलेको छ । कुनै समय चामत्कारिक प्रदर्शन गर्दै वान डे मान्यता र विश्वकप छनोटमा स्थान पक्का गरेको नेपाली क्रिकेट टोलीको लय कहाँनेर बिग्रियो त ? एक सामग्री

क्यानडा भ्रमणमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रदर्शनलाई आधार मान्ने हो भने वान डे मान्यता नै धरापमा पर्ने खतरा बढेको भनेर क्रिकेट जानकारहरु नै चिन्ता व्यक्त गर्छन् । क्यानडा र ओमानसम्मिलित सिरिजमा नेपाल वर्षाका कारण अंकबिहीन हुनबाट जोगियो । घरेलु टोली क्यानडासँग नराम्ररी पराजित नेपाली टोलीले प्राप्त गरेको १ अंक भनेको ओमानसँगको खेल वर्षाले रद्द भएपछि हो । ओमानसँगको अर्को खेलमा नेपालले नतिजा क्यानडालाईजस्तै सुम्पिएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय संरचनामा नेपालले क्यानडासँग यही सिरिजबाट हारको स्वाद चाख्यो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर गुल्सनकुमार झा भन्छन् “नतिजा हाम्रो पक्षमा आएन म खुसी छैन । मलाई सँधै मेरो देशको लागि खेल्न मन पर्छ । मलाई गर्व लाग्छ । म खेल्दा खेरी सधैं मेरो रोलमा इन्जोइ गर्दै खेल्छु । मैले कतिसम्म गर्न सक्छु म गर्छु ।”

समग्रमा टिमकै प्रदर्शन पनि सन्तोषजनक रहेन । एशिया कप खेलेको टोलीको प्रदर्शन सोही अनुरुप हु्न नसक्दा कम्तिमा ६ अंक बटुल्ने आश गरिएको सिरिजमा नेपाल अंकबिहीन हुनबाट मात्रै जोगियो ।

कुनै समय हार्न नजान्ने टोलीको उपमा पाएको नेपाल अहिले जित्न नसक्ने टोलीको रुपमा दर्ज भएको छ । लिग टू मा अहिलेसम्म ६ खेल हारिसकेको छ । अब नेपालले गर्ने भनेकै आगामी सिरिजमा कमब्याकको आशा हो । कप्तान रोहितकुमार पौडेल भन्छन् “हामीले घरेलु सिरिजमा पनि राम्रो नतिजा हात पार्न सकेनौं । हाम्रो लागि बाँकी सिरिज टफ छ । आगामी सिरिजहरु हाम्रो लागि निकै महत्वपूर्ण छन् । ६ खेलबाट हामीले जम्मा ३ अंक जोडेका छौं । हामी आगामी सिरिजमा कमब्याक गर्ने छौं ।”

विश्वकप लिग टू नेपालका लागि ठूलो मञ्च हो । सुरुदेखि नै अस्थिर देखिएको नेपाली टोलीलाई चुनौती थपिदा समस्या हुने देखिएको छ । लिग टू मा नेपालसहित नेदरल्यान्ड्स, नामिबिया, स्कटल्यान्ड, ओमान, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स यूएई र क्यानडा गरि आठ टोली छन् । सुपर लिगबाट आएको नेदरल्यान्ड्सलाई बलियो टोली मानिएको छ । प्लेअफबाट छानिएर पहिलो पटक खेलिरहेको क्यानडालाई तुलनात्मक रुपमा कमजोर ठानिए पनि उसले नेपाललाई दुई खेलमा हराईसकेको छ । त्यसैले पनि आगामी सिरिज नेपालको हकमा सहज हुने छैन । अमेरिका र स्कटल्याण्डसँगको सिरिजमा कमब्याकको आश गर्नु फलामको च्युरा चपाएजस्तै हो ।

अझ कमजोर ब्याटिङको बलमा अमेरिका र स्कटल्याण्डमाथि हावी हुने सोच्नु नै मुर्खता साबित हुनसक्छ । कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल र दिवेन्द्रसिंश ऐरीको ब्याट विदेशी भूमिमा जम्न सकेको छैन । क्रिकेट जानकार विनोद पाण्डे भन्छन् “ सबै खेलाडीहरु आफ्नै हिसाबले खेलेको जस्तो देखिन्छ । त्यो कता कता टिम गेम मिस भाको जस्तो देखिन्छ । अर्को कुरा हाम्रो एक्सपेरिमेन्ट अलिकता टिममा बढी भाको जस्तो लाग्छ । टिम सेलेक्सनको इस्युहरु छ जस्तो लाग्छ । ब्याटिङ अडरमा पनि धेरै परिवर्तान हुँदा टिमले एकरुपको प्रदर्शन गर्न सकेको छैन । बलिङमा पनि हाम्रो पहिलाको जस्तो धार नदेखिदाँ खेरी जित्नै बिर्सए जस्तो देखिन्छ । ”

विश्वकप खेलेर फर्के यता नेपाली टोलीले भारतमा गई त्यहाको स्थानीय टोलीसँग अभ्यास गरेको थियो । क्यानडा भ्रमण अघि पनि नेपालले श्रीलंकामा अभ्यास गर्न भनि गए पनि वर्षा बाधक बनेपछि तयारी त्यति राम्रो हुन सकेन । ब्याटिङ चल्न नसक्दा टोलीको हार भएको कप्तान पौडेल पनि स्वीकार्छन् । क्यानेडेली पिचमा टिकेर खेल्न नसक्दा सोचे अनुरुपमा नतिजा नआएको उनले बताए “हामीले यहाँको विकेट कन्डिसनमा अनुभवको पर्याप्त प्रयोग गर्न सकेनौं । टिकेर खेल्नुपर्ने र ब्याटिङलाई तल्लोक्रमसम्म बलियो बनाउनु पर्नेमा हामी चुक्यौं । कसैले पनि सम्हालिएर खेलेनौं । यी कुराहरुलाई अबका सिरिजमा लागू गर्ने प्रयास गर्छौ । हामीलाई त्यही चाहिएको छ । ”

नेपाली टोलीले अब कार्तिकमा लिग टू को तेस्रो श्रृंखला अमेरिकामा खेल्दैछ । सो सिरिजमा सम्हालिएर नखेले नेपाललाई पछिल्ला सिरिजमा निकै कठिन हुने देखिन्छ । अमेरिका सिरिजमा नेपालले घरेलु टोली र स्कटल्यान्डविरुद्ध खेल्नेछ । ती दुई देशसँगका खेलहरु नेपालको लागि त्यत्ति सहज भने हुने छैनन् । कार्तिक ११ र १७ मा अमेरिकाको सामना गर्दा, नेपालले कार्तिक १३ र १९ स्कटल्यान्डविरुद्ध खेल्नेछ । विश्वकप लिग टू ले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतादेखि विश्वकप छनोटको बाटो तय गर्छ । नेपालको हकमा यो बाटो उकालो त छँदैछ उत्तिकै जोखिमले भरिएको र चुनौतीपूर्ण छ । टीममा कुनै नाटकीय परिवर्तन नभए र खेलाडीहरुबाट चमत्कार नभए नेपालको अमेरिका भ्रमणमा नतिजा क्यानडा सिरिजकै पुनरावृति हुनेमा दुई मत छैन ।


प्रतिक्रिया