लोप हुँदै अरिंगाल
आश्विन १८, २०८१ | काठमाडौं
नेपालमा मौरीमा जति अध्यन÷अनुसन्धान हुन्छ, बारुला र अरिंगाललगायत किरामा कम हुने गरेको छ । अरिंगालका गोला पोल्दा त्यसले टोकेर मृत्यु भएका घटना बेला बेलामा सार्वजनिक भइरहन्छन् । मानिसहरु ज्यानकै बाजी लगाएर अहिले पनि अरिंगालको सिकार गर्ने गर्छन् । पछिल्लो समय होटल रेष्टुराँमा समेत अरिंगालका परिकार पाइन थालेका छन् ।
विषालु भईकन पनि परागसेचन र पर्यावरणीय सन्तुलनमा मद्धत पुर्याइरहेको अरिंगालको अप्राकृतिक ढंगले सिकार भईरहेकामा जानकारहरुले भने चासो व्यक्त गरेका छन् ।
अरिंगालको लार्भा स्वादिष्ट र पौष्टिक मानिने हुँदा यसको परिकार खाने चलन बढ्दैछ । होटल रेष्टुराँमा अरिंगालको परिकार बेचेर कतिपयले अर्थोपार्जनको माध्यम बनाएका छन् ।
गोरखा, म्याग्दीलगायत ठाउँका होटलहरुले अरिंगालका परिकार बेच्न गरिन्छ । यसले राम्रै आम्दानी हुने गरेको गोरखास्थित होटल व्यावसायी विमला ढुङ्गाना भन्छिन् “आज गएर १० माना जति बल्ल बल्ल ल्यायौं भने पनि त्यो भोली पल्टसम्मलाई पुर्याउन गाहे हुन्छ । ल्याउनै बित्तिकै सकिन्छ ।
हामीले जति पनि बेच्न सक्छौं जस्तो लाग्छ होटलमा । अरिंगाल खेती गर्न सक्यौं भने त धेरै फाइदा हुन्छ यसबाट । शैलुंगखर्क गाउँपालिकाले आफ्नै होमस्टेमा मात्रै बेच्ने भनेकोले किन्नलाई अलि गाहे भाछ । तर पनि बाहिरै खेती गरेको मानिसहरुसँग किन्ने गरेका छौं । बाहिर किन्दा कोही केहाीले मिलाएर एक हजारमा दिनुहुन्छ । मानाको बेच्दा १५ सय पर्छ । पकाएर चाँही एक प्लेटको पाँच सयमा बेच्छौं ।”
कतिपय समुदायमा त अरिंगाल कुलपितृलाई नै चढाउने चलन छ । पर्यावरण प्रणालीमा महत्व रहने भएकाले प्राकृतिक कूचीकार र रोगव्याधि नियन्त्रक समेत मानिने अरिंगाललाई संरक्षण गरिनुपर्ने आवाज उठ्न थालेका छन् ।
मौरी प्रजातिमा पर्ने अरिंगाल, बारुलालगायत किराको परागसेचनमा महत्वपूर्ण भूमिका छ । त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रिय विभागका उपप्राध्यापक डा. इन्द्रप्रसाद सुवेदी भन्छन् “विश्वमा किराहरुको संख्या करिब एक मिलियन हुन्छ ,त्यसकाराण यो सबैभन्दा बढी इफेक्टिभ अर्गानिजमको ग्रुप भा हुनाले फुडगेनमा यिनीहरुको ठूलो भूमिका हुनु स्वभाविक हो ।
ह्याबिट्याडलाई डिस्ट्रोय हुन दिनु भएन, त्यो चिजमा ध्यान पुर्याउन जरुरी छ । र अर्को भनेको जुन गलत तरिकाले यसको शिकार भइरहेछ, यसको कारणले पनि यो लोप हुँदै गएको हो । ”
व्यवस्थित सिकार गर्दैमा अरिंगाल लोप नै हुने खतरा नरहे पनि घातक ढंगले सिकार गरेमा भने अरिंगाल हराउँदै जाने जानकारहरु बताउँछन् । वासस्थानमा बाधा पुगेको र जिस्क्याइएको अवस्थामा मात्र अरिंगालले मानिसलाई चिल्ने गर्छ ।
अरिंगालको टोकाइबाट वर्षेनी मानिसको मृत्युसमेत हुने गरेको छ । त्यसैको कारण यसप्रति भयसँगै नकारात्मक धारणा व्याप्त छ । प्राकृतिक या मानवीय कारणबाट किराफट्यांग्रा नासिँदै गएमा पारिस्थितिक पद्धतिमा असर पुग्ने विज्ञहरु बताउँछन् ।
डिभिजन वन कार्यालय, कास्कीका प्रमुख कोमलराज काफ्लेले भने “जलवायु परिवर्तका हिसाबले र मान्छेका विविध क्रियाकलापले संसारमा किटपतंकको संख्या घट्दो क्रममा छ । किरा फट्याङ्ग्राहरुले वनस्पतिको पोलिनेशनमा डिरेक्ट कन्ट्रिब्युट गर्ने र ति किरा फट्याङ्ग्रा नाश हुँदै जाँदा पोलिनेशन मै प्रभाव पर्ने हुँदा फलै नलाग्ने अवस्था आउन सक्छ ।
मान्छेले के बुझ्न जरुरी छ भने यो खायो भने एकदमै शक्ति प्राप्त हुन्छ भन्ने गलत कुरालाई हामीले चिर्न जरुरी छ । र यसलाई रोकथाम नै गर्न सक्यौं भने बल्ल यिनीहरुको रोल नाश नहुन सक्छ । त्यसकारण यस्तै कुराको प्रचारप्रसार र यहि रुपमा कानुनी सचेतनाको कार्यक्रमहरु संचालन गर्न आवश्यक छ ।”
पर्यावरण संरक्षणका साथै खानेकुराको उत्पादनमा किराफट्यांग्राले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । सामान्यतया एक गोला अरिंगालले एक दिनमा तीन हजारभन्दा बढी लामखुट्टे तथा हानिकारक किराहरु खाइ प्राकृतिक सन्तुलन कायम गर्न मद्दत गर्ने अध्ययनले देखाएको छ ।
वनजंगलमा पाइने जुनसुकै जीवजन्तु र कीटपतंग नष्ट गर्नु कानुन विपरीत भएकाले त्यस्ता क्रियाकलाप राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार दण्डनीय मानिन्छ । अरिंगालको टोकाइबाट घाइते हुनेमध्ये २५ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ ।
अरिंगालको खिलमा हुने मेलेटिन र एपामिन नामक विषालु पदार्थले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र रक्तनली हुँदै मस्तिष्कसम्म पुगेर रक्तसंचारमा अवरोध गर्ने चिकित्सकहरु डा. विमल शर्मा चालिसे बताउँछन् ।
पछिल्लो समय वनजंगलमा अरिंगालका गोला कम देखिन थालेको जानकारहरुको भनाइ छ । अरिंगाल हराउँदै जानुमा विभिन्न कारण मानिएको छ, जसमध्ये यसको सिकार एक हो ।
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य प्रेम लामिछाने आगो लगाएर बोटबिरुवामै हानी पुग्ने गरी अरिंगालको सिकार गर्नु उपयुक्त नभएको बताउँछन् । वन क्षेत्रका महत्वपूर्ण मुद्दा पनि ओझेलमा पारिएको भन्दै उनले भने “विभिन्न खालका दृष्टिकोण राख्दै शिकार गर्ने पारखीहरु बढेका कारण यसको संख्यामा कमी आएको महशुस हुन्छ ।
यसको निगरानी गर्ने, संरक्षण गर्नुपर्छ भन्ने यसको अभियान्ता सचेतना कार्यक्रमहरु देखिन्न । यो पनि प्रमुख कारण हो संख्यामा कमी आउनुमा । अरिंगालले यो यो कुरामा फाइला पुर्याइराछ भन्ने कुराको सरकारी कार्यक्रम बजेट, योजनासँग यी कुरा नजोडिएका कारण यसको संख्यामा कमी आएको हो की भन्ने देखिन्छ ।”
नेपालमा अरिंगाल र बारुलाका ११ प्रजाति छन् । यी दुई प्रजाति साउनदेखि मंसिरसम्म बढी सक्रिय हुने गर्छन् । अरिंगालको देख्न सक्ने क्षमता धेरै हुने र यामअनुसार वासस्थान फेर्ने गरेको जानकारहरु बताउँछन् ।
फूलबाट लार्भा, लार्भाबाट प्युपा र प्युपाबाट वयस्क हुनु अरिंगालको जीवनचक्र हो । अरिंगालले मौरी, भिंगा आदि किरालाई आहार बनाउँछन् । पहाडी भेगमा रातो र कालो गरी दुई थरी अरिंगाल पाइने गरेका छन् ।