रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिनको निरन्तरता, युक्रेनसँगको युद्ध र नेटोको मामिलामा चासो

चैत्र ११, २०८० | काठमाडौं

केही दिन अघि सम्पन्न निर्वाचनबाट रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिनले सफलता पाएका छन् । जितसँगै पुटिन अर्को ६ वर्षका लागि रुसको राष्ट्रपति हुनेछन् । राष्ट्रपति निर्वाचन जितेलगत्तै पुटिनले युक्रेनको क्राईमियालाई आफ्नो देशमा गाभेको १० वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गरेका छन् । युक्रेनसँग युद्ध जारी रहँदा रुसी राष्ट्रपतिमा अर्को कार्यकाल शुरु गर्न लागेका पुटिनले चाल्न कदमले समग्र विश्व राजनीतिलाई प्रभावित पार्नेछ । किनभने उनले चुनावअघि नै रुस ठूला शक्ति राष्ट्रसँग जस्तोसुकै मुकाविला गर्न तयार रहेको अभिव्यक्ति दिइसकेका छन् ।

अन्तर्राष्ट्रिय आलोचनाकाबीच राष्ट्रपति पुटिनले क्राईमियालाई गाभिएको १० बर्षको अवसरमा मस्कोस्थित रेड–स्क्वायरमा आयोजित भव्य कार्यक्रममा सम्बोधन गर्दै विश्व समुदायलाई विभिन्न खालका सन्देश दिएका छन् । पश्चिमा शक्ति राष्ट्रबाट निरंकुश र तानाशाही शासक भएको भन्दै आलोचना खेपिरहेका उनले फेरि पनि रुसको शक्ति र सामथ्र्य विश्व समुदायमा विस्तार गर्ने लगायत उद्घोष गरेका छन् । बाह्य दुनियाँले आलोचना गरेपनि पुटिनले ८७ प्रतिशत भन्दा बढी मत ल्याएर जित हासिल गर्नुले उनको लोकप्रियतालाई प्रष्ट रुपमा झल्काएको छ । पुटिनले पाएको सफलता र विश्व व्यवस्थामा पार्ने प्रभावबारे विभिन्न कोणबाट व्याख्या र विश्लेषण भइरहेका छन् । त्रिभुवन विश्व विद्यालयका राजनीतिक शास्त्रका प्रा.डा पुष्प अधिकारीले रुस स्थायी शक्तिको रुपमा उदाएको बताए ।

रुसमा पुटिनको उदय पर्दामा हिरोको उदय भन्दा कम चमत्कारी छैन । एक रुसी पत्रकारले भनेका छन्– “अधिकांश रुसीहरूका लागि उनी केवल एक व्यक्ति थिए जो दुर्गमबाट आएका थिए र जसले आफूलाई बलियो तथा वास्तविक नेताको रुपमा उभ्याए ।” हुन पनि सेन्ट पिटर्सबर्गमा जन्मेका पुटिनकी आमा एक कारखानामा कामदार र बुबा सन् १९३० को दशकको सुरुमा सोभियत नौसेनामा कार्यरत थिए । १२ वर्षको उमेरमा साम्बो र जुडो अभ्यास गर्ने उनी माक्स, एंगेल्स र लेनिनको बारेमा पढ्न मन पराउँथे ।

उनले सानैमा जर्मन भाषा सिके र यसलाई दोस्रो भाषाको रूपमा बोल्न सक्छन् । १६ वर्षसम्म विदेशी गुप्तचर अधिकारीको रूपमा काम गरेका पुटिनले सन् १९९१ मा मिखाइल गोर्बाचेभ विरुद्धको कूपछि गुप्तचर निकायबाट राजीनामा दिएर सेन्ट पिटर्सबर्गमा राजनीतिक करिअर सुरु गरे । त्यसपछि उनी सन् १९९९ देखि २००८ सम्म रुसका राष्ट्रपति भए । सन् २०१२ को रुसी राष्ट्रपतीय चुनावमा भोट फिक्सिङको आरोप लगाइए पनि पुटिनले फेरि जितेका थिए । सन् २०१२ देखि रुसका लागि राष्ट्रपति रहेका उनको यो कार्यकाललाई पश्चिमा देशहरु अमेरिका र युरोपले निरङ्कुतासँग जोडेर हेर्ने गरेका छन् । खासगरी, युक्रेन आक्रमणपछि युरोपको रणनीतिक संगठन नेटो र अमेरिकाले रुसको अन्तर्राष्ट्रिय स्तरमै चर्को आलोचना गर्दै आएको छ । रुस निरङ्कुश बन्ने र त्यसको प्रभाव विश्वमा नराम्रो हुने भाष्य गलत भएको प्रा. डा अधिकारीको भनाइ छ ।

पुटिनको विजयसँगै नेटोसँग उनको विमति र युक्रेनविरुद्ध चालेको कदम कसरी अघि बढ्छ भन्ने सवाल छ । यो सवालमा अमेरिकाको भावी राष्ट्रपति को हुन्छन् भन्ने बिषय सबैभन्दा महत्वपूर्ण ठानिएको छ । पुटिनको अहिलेको जितले अमेरिका र नेटोको प्रभुत्व हटी रुसको दबदबा रहन सक्ने प्राध्यापक डा. अधिकारी बताउँछन् ।

सन् २०२४ मा विश्वशक्ति राष्ट्रहरुमा हुने निर्वाचनमध्येको एक राष्ट्रपति निर्वाचनबाट रुसको सत्तामा पुटिनले निरन्तरता पाएका हुन् । आगामी नोभेम्वरमा अमेरिकीमा राष्ट्रपति निर्वाचन हुँदैछ भने भारतमा अर्को महिना आम निर्वाचन हुँदैछ । खासगरी अमेरिकाको राष्ट्रपति निर्वाचनको नतिजापछि रुससँग उसको सम्वन्धलाई असर पार्ने मात्र छैन, विश्व व्यवस्थालाई समेत प्रभावित तुल्याउनेछ । किनभने युक्रेनसँगको युद्धलाई पुटिनले अझै पनि विस्तार गर्न चाहेका छन् र अमेरिका त्यसको खिलाफमा छ । 


प्रतिक्रिया