पूर्वसभामुख महराको थुनछेक बहस सुरु

आश्विन २९, २०८२ | काठमाडौं
पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । यसअघि हिजो काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा महरासँग बयान लिइएको थियो । २०७९ पुस १० मा विद्युतीय चुरोट भेपमा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा महराविरुद्ध आजबाट थुनछेक बहस भइरहेको अदालतले जनाएको छ ।
चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख महरा आइतबार पक्राउ परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वर्षअघिको सुन तस्करी प्रकरणमा महरालाई पक्राउ गरेको हो ।
महरामाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ । उनले भेप प्रकरणमा आफ्नो लगानी र संलग्नता अस्वीकार गरेका छन् । सरकारी वकिलले उनीविरुद्ध संगठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गतको कसुरमा ८ करोड ५५ लाख २८ हजार बिगो मागदाबी र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।