केएमजीका अध्यक्ष सिरोहियामाथि चालेको कदमको सार्वजनिक रुपमै प्रतिवाद

जेष्ठ ९, २०८१

पुर्व प्रधानमन्त्री एवम् एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कान्तिपुर मिडिया गु्रपका अध्यक्ष सिरोहियालाई गिरफ्तार गर्नु निन्दनिय भएको बताएका छन् । सप्तरीको राजविराजमा बूधवार संचारकर्मीसंग कुरा गर्दै पूर्व प्रधानमन्त्री नेपालले कान्तिपुरका अध्यक्ष सिरोहियालाई नेपालको नागरिक हो कि होइन् भन्ने प्रश्न उठाउनु अत्यन्तै निन्दनिय भएको समेत बताए ।

अध्यक्ष नेपालले कुनै कुरा बुझ्नका लागि व्यक्तिलाई पक्राउ नै गर्नुपर्छ भन्ने कानुनी व्यवस्था समेत नभएको बताएका छन् ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सिरोहियालाई पक्राउ गरिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ– “लोकतन्त्रको पक्षमा लामो समयदेखि संघर्ष गरेको कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निर्मम प्रहार हो भन्ने हाम्रो ठम्याइ छ ।”

 यस्तै नागरिक उन्मुक्ति पार्टीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको घटनाको भत्र्सना गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले लोकतन्त्रमाथि कसैले आक्रमण गर्न नपाउने बताइन् । सोधपुछ , छानविन र स्पष्टीकरण बिना प्रतिशोध साँध्न अध्यक्ष सिरोहियालाई गृहमन्त्री लामिछानेले पक्राउ गर्न लगाएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सांसद शरत्सिंह भण्डारीले कान्तिपुर मिडिया गु्रपका अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएकोमा खेद प्रकट गरेका छन् । विज्ञप्ती जारी गर्दै भण्डारीले सरकारको यस्तो व्यवहारले मिडिया क्षेत्रलाई आतंकित पार्दै अंकुश लगाउन खोजेको देखिने उल्लेख गरेका छन् ।

यसैबीच प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कान्तिपुर मिडिया गु्रपका अध्यक्ष सिरोहियालाई अदालती प्रक्रियाबाटै पक्राउ गरिएको प्रष्टीकरण दिएका छन् । प्रधानमन्त्री दाहालले कान्तिपुरविरुद्ध कुनै पनि रिसइबी साँध्न आवश्यक नभएको समेत बताए ।

यसैबीच, गृहमन्त्री रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटनामा समर्थन जनाएको छ । रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको तथ्य आफ्नो जानकारीमा आएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ– ’विधिको शासनको अर्को सौन्दर्य होः ’कानुन भन्दामाथि कोही हुँदैन ।’ जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जित हो । ’कोही–कोहीलाई छुनै हुन्न’ भन्नु सामन्ती कायरता हो । 

यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ । आफ्नै सभापति लामिछानेको सहकारी विवाद तथा राहदानी दुरुपयोगको मुद्दालाई सत्ताको सौदाबाजीमा मिलाएको रास्वपाले सञ्चार उद्यमी सिरोहियालाई पक्राउ गरेको विषयमा भने ’नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्,’ भन्दै टिप्पणी गरेको छ । रास्वपाको विज्ञप्तिमा भनिएको छ–“अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन ।”


प्रतिक्रिया