निखार्न बाँकी ब्याटिङ

असार ४, २०८१ | काठमाडौं

नेपालको आईसीसी टी–२० विश्वकप क्रिकेटको यात्रा समाप्त भएको छ । शानदार बलिङका बाबजुद निराशाजनक ब्याटिङका कारण जितवीहिन बनेको नेपाल मात्र एक अंक जोडेर समूहको पुछारमा रह्यो । समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको नेपाल सुपर एटमा पुुग्न सकेन ।

आफूभन्दा बलिया टीमविरुद्ध खेल्दै अनुुभव बटुल्ने अवसर पाएका नेपाली खेलाडीले विदेशी भूमीमा क्रिकेट समर्थकको राम्रो साथ पाए । नेपाल नतिजा आफ्नो पक्षमा पार्न असफल भएपनि विश्व क्रिकेट जगतमा आफूलाई स्थापित गर्न सफल रह्यो ।

समूहगत चरण अन्र्तगतको अन्तिम खेल बंगलादेशसँग खेल्नु अघि नेपाल सामू सुनौलो अवसर थियो । पहिलो, टेस्ट राष्ट्रलाई हराउने दोस्रो विश्वकपको सुपर ८ मा प्रवेश गर्ने । तर, यी दुबैमा नेपाल चुक्यो । फलतः १० वर्षपछि विश्वकप खेलेको नेपाल एउटै खेल नजिती समूह डी को पुछारमा रहँदै घर फर्किने भएको छ । 

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले वर्षा बाधक बनेपछि श्रीलंकासँगको दोस्रो खेल खेल्न पाएन । त्यसपछि नेपाल दक्षिण अफ्रिकासँग एक रन तथा बंगलादेशसँग २१ रनले पराजित हुनपुुग्यो । नेपालले हारेको तीनै खेलमा मुख्य कारक खराब ब्याटिङ रह्यो । नेपालका कुनै पनि ब्याटरले अर्धशतक प्रहार गर्न सकेनन् । 

ओपनर तथा विकेटकिपर आसिफ शेखले ३ खेलबाट सर्वाधिक ६३ रन जोडे । ब्याटिङ चल्न नसकेकै कारण टेस्ट राष्ट्रलाई कम रनमा रोक्दा पनि जित हात पार्न नसकिएको कप्तान रोहित पौडेल नै स्वीकार्छन् । “बलिङमा राम्रो गर्दा गर्दै पनि हामी ब्याटिङमा चुक्यौं । त्यसैले हामीले हार्न पर्यो । बंगलादेशले धेरै राम्रो खेल्यो । टप अडर ब्याटर चल्न नसक्दा, त्यसको प्रेसर पछिका ब्याटरले सम्हाल्न सकेनन् र हामी असफल भयौं ”

कप्तान रोहित पौडेलले नेदरल्यान्ड्सविरुद्ध बनाएको ३५ रन एकै खेलमा नेपाली ब्याटरको उच्च स्कोर रह्यो । जारी विश्कपमा नेपालका लागि तीनै खेलबाट दिपेन्द्रसिंह ऐरीले ६, कुशल भुर्तेलले ४, सोमपाल कामीले ३ विकेट लिए । वेस्ट इन्डिजमा भएका दुुई खेलमा सहभागी सन्दिप लामिछाने बंगलादेशविरुद्ध २ विकेट लिंदै टी–२० आईमा एक सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बने ।

टेष्ट राष्ट्रविरुद्ध खेल्दा विदेशी संचारमाध्यम र समकक्षीको समेत प्रशंसा र चर्चामा नेपाली क्रिकेटर छाए । समूहमा एक एसोसिएट र तीन टेष्ट राष्ट्रसँग खेल्दै नेपाली टीमले राम्रो अनुुभव बटुुल्यो । नेपाली टीमको सुपर एटमा पुुग्ने लक्ष्य अपूरो रहेपनि नेपाली क्रिकेट विश्वभर छायो । प्रशिक्षक मोन्टी देसाई विश्वकपजस्तो ठूलो मञ्चमा नेपालले गरेको प्रदर्शनबाट सन्तुष्ट छन् । 

तर, नेपाली क्रिकेटलाई अझ माथिल्लो स्तरमा लैजान बलिया र टेस्ट राष्ट्रसँग बढीभन्दा बढी म्याच खेल्नुपर्ने ठान्छन् “यो युवा टोलीको सपना पुरा गर्न हौसला प्रदान गर्नुहोला, मलाई लाग्छ नेपाली क्रिकेट अगाडी बढिरहेको छ । हामीले टेष्ट राष्टसँग जति धेरै खेल्ने मौका पाउँछौं, त्यति नै हामीले राम्रो गर्दै जाने छौं ”

विश्वकप क्रिकेटमा नेपालको सहभागिता र दर्शकको उपस्थितिले विश्वमञ्चमा मुलुकले नसोचेको उपलब्धि हासिल गर्यो । त्यसका अतिरिक्त नेपाली खेलाडीले विदेशमा खेलेको महसुुस पनि गर्नु परेन । परिणाम के निस्कियो भने विदेशी मिडियामा पनि नेपाली टीम पूरापूर छायो ।

 क्रिकेट हस्ती, समीक्षक र अन्तर्राष्ट्रिय संचारमाध्यमले निकै चासोका साथ नेपाली टोलीको प्रशंसा, टिप्पणी र सम्भावनाका पाटाहरु उधिने । तर, ब्याटिङलाई लिएर भने धेरैले चासो र चिन्ता जाहेर गरे । कप्तान पौडेल अब ब्याटिङमा सुधारको खाँचो देख्छन् “पावर प्ले मा ४÷५ विकेट गुमाउनु भनेको, तल्लो क्रमका ब्याटर दबाबमा पर्नु हो । टप अडर ब्याटरले राम्रो सुरुवात गर्न सकेको भए मलाई लाग्छ हामी जित्ने थियौं । पावर प्लेमा हामीले राम्रो गर्न सक्थौं, तर त्यो भएन र नतिजा सुम्पियौं ”

कमजोर पूर्वाधार, न्युन घरेलु प्रतियोगिता र ठूला राष्ट्रसँग कम म्याच एक्सपोजरकै कारण नेपाली टोलीले चाहिएको समयमा अनुकुलको नतिजा आत्मसात गर्न सकेन । तर, यसो भन्दै गर्दा क्रिकेटमा नेपालले अब सबै गुमायो भन्ने हैन बरु अन्तर्राष्ट्रिय क्रिकेटमा आफूलाई स्थापित गराउन नेपाल एक खुड्किलो माथि उक्लिएको छ ।

नेपाली खेलाडी र नेपाली क्रिकेटको सम्भावनाको क्षितिज फराकिलो रहेको पुष्टि यसपटक पनि भएको छ । अब त्यसैका आधारमा नेपाली क्रिकेटको गति र दिशा बदल्ने सोच विकास गर्न आवश्यक भएको छ ।

१० वर्षअघि विश्वकपमा जितबाट यात्रा थालेको नेपाल यसपटक जितविहीन हुँदै घर फर्किनु एउटा नियति मात्रै हुनसक्छ । तर, आगामी विश्वकपका लागि एक दशक प्रतीक्षा गर्न नपर्ने स्थिति निर्माण गर्न चाहिं हाम्रो नियत ठीक हुनुपर्छ । 


प्रतिक्रिया