पेरिस ओलम्पिकमा ७ खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै

श्रावण १०, २०८१ | काठमाडौं

विश्व खेलकुदको महाकुम्भ ग्रीष्मकालीन ओलम्पिकको ३३ औं संस्करण आगामी शुक्रबारदेखि फ्रान्समा सुरु हुँदैछ । पेरिस ओलम्पिकमा ६ खेलका ७ खेलाडीले नेपालको प्रतिनिधित्व गर्दैछन् । नेपालबाट चार महिला र तीन पुरुष खेलाडी सहभागी हुनेछन् ।

पौडीका दुई तथा एथलेटिक्स, सुटिङ, टेबलटेनिस, ब्याडमिन्टन र जुडोका एक÷एक खेलाडीले नेपालको चुनौती पेश गर्नेछन् । 

साउन २७ गतेसम्म चल्ने ओलम्पिकमा सहभागी हुन राष्ट्रिय खेलाडीसहितको टोली पेरिस पुगिसकेका छन् । 

नेपालले पाँच दशकदेखि ओलम्पिकमा सहभागीता जनाउँदा करिब एक सय खेलाडीले प्रतिस्पर्धा गरे पनि पदक जित्न सकेको छैन ।

एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीबाट डुवाना लामा र एलेक्जेन्डर शाह, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने छन् । 

यीमध्ये टेबलटेनिसका स्यान्टुले छनोट प्रतियोगिता जितेर ओलम्पिकको टिकट काटेका हुन् । बाँकी ६ खेलाडी वाइल्ड कार्डमाफर्त ओलम्पिकमा छनोट भएका हुन् । छनोट प्रतियोगिता जित्दै ओलम्पिक खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन् ।

यसअघि सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोका दिपक विष्ट र सन् २००४ को ग्रिस ओलम्पिकमा तेक्वान्दोकी संगीना वैद्यले छनोट भएर सहभागीता जनाएका थिए ।

नेपाली टेबलटेनिसलाई पहिलो पटक ओलम्पिकमा पुर्याएका स्यान्टु घरेलु भुमिमै आयोजित दक्षिण एसियाली ओलम्पिक छनोटबाट अघि बढेका हुन् । उनले पेरिस ओलम्पिकमा मेन्स सिंगलमा प्रतिस्पर्धा गर्नेछन् ।

टेबलटेनिसका १ सय ७२ खेलाडीमध्ये मेन्स सिंगलमा ६७ खेलाडी सहभागी हुनेछन् । २४ वर्षिय स्यान्टु टेबलटेनिसका चार पटक राष्ट्रिय च्याम्पियन खेलाडी हुन् । उनले सन् २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा एक रजतसहित चार पदक जितेका थिए ।

सागको एकै संस्करणमा चार पदक जित्ने उनी नेपाली टेबलटेनिसका एक्ला खेलाडी हुन् । ओलम्पिक अघि अष्ट्रेलियामा प्रशिक्षण गरेका स्यान्टुसँग प्रशिक्षकका रुपमा राजेन्द्र कपाली हुनेछन् ।

पेरिस ओलम्पिक खेल्न लागेकी जुडोकी मनिता श्रेष्ठ प्रधान अनुभवी खेलाडी हुन् । पेरिस रोडम्यापका लागि अन्तर्राष्ट्रिय जुडो महासंघको छनोट प्रतियोगितामा मनिताले जापान, चाइनिज ताइपेई, हङकङ र कीर्गिस्तानसँग खेल्ने मौका पाइन् ।

पेरिस ओलम्पिकमा १५ स्वर्णका लागि जुडोका ३ सय ७२ खेलाडी भिड्ने छन् । मनिताले महिला ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । सो विधामा २७ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

मनितालाई सन् २००८ को बेइजिङ ओलम्पिक खेलेकी देवु थापाले प्रशिक्षण दिएकी हुन् । सन् २०११ मा काठमाडौंमा आयोजित त्रियोग जुडो च्याम्पियनसिप खेल्दै जुडोमा डेब्यु गरेकी उनले सो प्रतियोगितामा स्वर्ण जितिन् ।

१२ र १३ औं दक्षिण एसियाली खेलकुदमा रजत जितेकी मनितासँग जकार्ता र हाङचाउ एसियाली खेलकुद खेलेको अनुभव पनि छ ।

ओलम्पिकमा नेपाली ब्याडमिन्टनले पहिलो पटक सहभागीता जनाउँदै छ । त्यसका लागि प्रिन्स दाहालले नेपालको प्रतिनिधित्व गर्दैछन् । सन् १९९२ को बार्सिलोना ओलम्पिकमा ब्याडमिन्टन खेललाई समावेश गरिएपनि नेपालले ३३ औं संस्करणमा बल्ल सहभागीता जनाउँदैछ ।

श्रीलंकामा प्रशिक्षण गरेका प्रिन्सले श्रीलंकनसहित इन्डोनेसियाका प्रशिक्षकबाट प्रशिक्षण लिएका छन् । मेन्स सिंगलमा प्रतिस्पर्धा गर्न लागेका प्रिन्स समूह पी मा परेका छन् । यो विधामा ४१ खेलाडीलाई १३ समूहमा विभाजन गरिएको छ । 

ओलम्पिक छनोट खेल्नका लागि आईओसी सोलिडारिटीले नेपाल ओलम्पिक कमिटीमार्फत प्रदान गरेको छात्रवृत्तिमा रहेर प्रिन्सले खेलिरहेका हुन् । २० वर्षिय प्रिन्सले घरेलु भुमिमा आयोजित १३ औं सागमा डबल्सतर्फ दुई कास्य जितेका थिए ।

पेरिस ओलम्पिकमा उनको साथमा नेपाली प्रशिक्षक हुने छैनन् । नाम पठाउन छुटेका कारण ब्याडमिन्टनका प्रशिक्षक सहभागी गराउन नसकिएको नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

फाइल फोटो

पेरिस ओलम्पिकमा धाविका सन्तोषी श्रेष्ठले एथलेटिक्समा नेपालको प्रतिनिधित्व गर्दैछिन् । गोल्डेन गर्लको उपनाम पाएकी उनी महिला म्याराथनमा विश्वका ९५ धाविकासँगै दौडँदै छिन् ।

ओलम्पिकको महिला म्याराथनमा नेपालले २६ वर्षपछि सहभागीता जनाउन लागेको हो । महिला म्याराथनको ओलम्पिक इतिहासलाई ब्युँत्याउने योजनामा रहेकी सन्तोषी म्याराथन कुद्न थालेको धेरै भएको छैन । 

गत वर्ष बंगलादेशमा सम्पन्न बंगबन्धु ढाका म्याराथनमा स्वर्ण जितेकी उनले २ घण्टा ४६ मिनेट २३ सेकेन्डमा दौड पूरा गर्दै राष्ट्रिय कीर्तिमान पनि बनाइन् । 

पेरिस ओलम्पिकमा आफ्नै नाममा रहेको राष्ट्रिय किर्तिमान तोड्नुका साथै टाइमिङमा दौड पूरा गर्ने लक्ष्य उनको छ । धादिङकी सन्तोषी १३ औं सागकी स्वर्ण पदक विजेता खेलाडी हुन् । उनलाई रविराज वन्तले प्रशिक्षण दिएका छन् ।

यसपटक महिला म्याराथन ओलम्पिकको अन्तिम दिन हुनेछ ।

दुई पौडीवाज डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा पौडीको स्पर्धामा नेपालको प्रतिनिधित्व गर्दैछन् । सन् २०२० मा टोकियो ओलम्पिक खेलेका एलेक्जेन्डर लगातार दुई ओलम्पिक खेल्ने तेस्रो खेलाडी बन्दैछन् । 

डुवाना र एलेक्जेन्डर दुवै युनिभर्सालिटी कोटाबाट ओलम्पिक छनोट भएका हुन् । पेरिस पुगिसकेका एलेक्सले एक सय मिटर फ्रिस्टाइल र डुवानाले महिला २ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । 

कतारको दोहामा गत फेब्रुअरीमा सम्पन्न वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा ५२ दशमलव १७ सेकेन्डमा दूरी पार गर्दै शाहले कीर्तिमान बनाएका थिए । उनले टोकियो ओलम्पिकमा ५३ दशमलव ४१ सेकेन्डको राष्ट्रिय कीर्तिमान सुधारेका हुन् ।

यता, डुवाना भने गौरिकाको कीर्तिमान तोड्ने लक्ष्यमा हुनेछिन् । २ सय मिटर फ्रिस्टाइलको राष्ट्रिय कीर्तिमान गौरिकाको नाममा छ ।

 गौरिकाले सन् २०१७ को २० औं नेसनल पौडी च्याम्पियनसिपमा २ मिनेट ११ दशमलव ९४ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान बनाएकी थिइन् ।

डुवानाले १३ वर्षको उमेरमा घरेलु भुमिमा आयोजित १३ औं सागमा दुई रजत र तीन कास्य पदक जितेकी थिइन् । पेरिस ओलम्पिकमा एलेक्स र डुवानाको प्रशिक्षकका रुपमा पूर्वओलम्पियन नयना शाक्य छिन् ।

पौडीमा नेपालको प्रर्दशन व्यक्तिगत उत्कृष्ट र राष्ट्रिय कीर्तिमानमै समेटिएको छ । सहभागी खेलाडी हिट चरणभन्दा अगाडी बढ्न सकेका छैनन् ।

पेरिस ओलम्पिकमा २४ वर्षीया सुटर सुस्मिता नेपालले जुडोबाट चुनौती पेश गर्ने छिन् । वाइल्ड कार्डमाफर्त ओलम्पिकमा छनोट भएकी उनले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् ।

उनी इन्डोनेसियाको जकार्तामा भएको एसियन च्याम्पियनसिपको क्वालिफिकेसनमा १० मिटर एयर राइफलमा ६ सय १६ दशमलव २ स्कोरसहित ५० औं वरीयतामा रहिन् । 

यस्तै, गत वर्ष जकार्तामै भएको विश्वकप सुटिङ च्याम्पियनसिपमा ६ सय २ दशमलव ५ स्कोर गरेकी सुस्मिता त्यसमा ५३ औं वरीयतामा थिइन् । गत वर्ष चीनको हाङचाउमा सम्पन्न १९ औं एसियाडमा १० मिटर एयर राइफलमा उनी ६ सय ७ दशमलव ९ स्कोरसहित ५८ औं स्थानमा रहिन् । 


प्रतिक्रिया