पारा ओलम्पिकमा पदकको सम्भावनाः नियामक निकाय भने “उदासिन”
भाद्र ६, २०८१ | काठमाडौं
शारीरिक रूपमा अपाङ्गता वा विशेष क्षमता भएका व्यक्तिले खेल्ने खेल हो, पारा खेलकुद । पारा खेलकुद एसियन गेम्सदेखि ओलम्पिकसम्मै समावेश छ । यस पटक पारा ओलम्पिक फ्रान्समा अर्को साता शुरु हुदैछ र नेपाली तीन जना खेलाडी सहभागी हुँदैछन् ।
ग्रीष्मकालीन र शीतकालीन ओलम्पिकमा पदकको सम्भावना निकट भविष्यमै नदेखिरहेको सन्दर्भमा पारा ओलम्पिकले केही आशाको सञ्चार गरेको छ । घरेलु भुमिमा खेल पूर्वाधारसमेत पारा खेलाडीमैत्री नभएको अवस्थामा नेपाली पारा खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा जितेको पदकको ठूलो महत्व छ । तर, मुलुकलाई पदक दिलाउने सम्भावना भए पनि पारा खेल र खेलाडीलाई हेर्ने राज्य र नियामक निकायको दृष्टिकोण भने उदार छैन ।
नेपालमा पारा खेलको सुरुवात नहुँदै सन् १९७५ मा जापानमा भएको अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालकी सूर्यकुमारी गुरुङले स्वर्ण पदक जितेर पारा खेलाडीले पनि देशका लागि पदक जित्न सक्छन् भन्ने प्रमाणित गरेकी थिइन् । उनले एथलेटिक्सको एक सय मिटर दौडमा स्पर्धा गरेकी थिइन् ।
यस्तै, सन् २०२० को टोकियो पारा ओलम्पिकमा वाइल्ड कार्डमार्फत छनोट भएकी पलेसा गोबर्धनले यसपटक एसियाली छनोट पार गर्दै पेरिस पारा ओलम्पिकको यात्रा तय गरिन् । पलेशा छनोट चरण पार गर्दै ओलम्पिक पुग्ने पहिलोे नेपाली पारा खेलाडी हुन् । लगातार दोस्रो पटक पारा ओलम्पिक खेल्दै कीर्तिमान बनाउन लागेकी पलेशा भन्छिन् आफूमा आत्मविश्वास हुनुपर्छ, संसारमा असंम्भव भन्ने केही हुँदैन, म गरेर देखाउँछु भनेर आँट छ ।
पारा खेलाडीले गर्न सक्दैनन् भन्ने होइन, बरु अलि समय लाग्ला तर हामीमा भएको फरक क्षमताले हामी पनि गर्न सक्छौं । इफ यू विलिभ इन योअरसेल्फ, यू क्यान डू य्यानीथिंग । पेरिस पारा ओलम्पिकमा तेक्वान्दोबाट पलेशाले के–४४ अन्तर्गत महिलातर्फको ५७ केजीभन्दा मुनिको तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । यस्तै वाइल्कार्ड मार्फत छनोट भएका पारा तेक्वान्दो खेलाडी भरतसिंह महता र पारा पौडी खेलाडी भीमबहादुर कुमालले पारा ओलम्पिकको पहिलो अनुभव बटुल्दै छन् ।
भरतले पेरिस ओलम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्दा भीमले पुरुष ५० मिटर फ्रिस्टाइलमा स्पर्धा गर्नेछन् । यो स्पर्धामा भीमकै नाममा ३५ दशमलव ०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । पारा खेलाडीको सपना पनि देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने नै हुन्छ । तर उनीहरूलाई पूर्वाधार, खेल सामग्री र म्याच एक्सपोजरकै कमी छ । सरकारले धेरै पहिलेबाट व्ययस्थित हिसाबले तयारी थालेको भए नेपालले पारा ओलम्पिकमा धेरै पहिले नै पदक ल्याइसक्ने पारा ओलम्पियन बिक्रमबहादुर राणाको भनाई छ । आफूले पारा ओलम्पिक खेल्दा व्यक्तिगत खर्च गरेर ओलम्पिक खेलेको उनले बताए ।
नेपाली पारा खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै पहिलेबाटै सहभागीता जनाए पनि पारा ओलम्पिकमा उनीहरुको सहभागिता निक्रै पछि भएको हो । सन् २००४ को ग्रिस पारा ओलम्पिकदेखि नेपाली पारा खेलाडीले ओलम्पिकमा सहभागीता जनाएका हुन् । सो ओलम्पिकमा वाइल्ड कार्डमार्फत छनोट भएकी नेपाली पारा खेलाडी निर्मला ज्ञवालीले एथलेटिक्सबाट नेपालको प्रतिनिधित्व गरिन् ।
खेलकुदको स्तर, खेलाडीको क्षमता र शक्तिशाली प्रतिद्धन्द्धीको चुनौतीले गर्दा ओलम्पिकमा नेपालको सहभागिता औपचारिकमा सीमित बन्दै आएको छ । ओलम्पिकमा पदकका लागि कम्तिमा पनि २० वर्षको योजना बनाउनु पर्ने ओलम्पियन बैकुण्ठ मानन्धर बताउँछन् ।
सन् २००८ को बेइजिङ ओलम्पिकमा नेपाली पारा खेलाडी जितबहादुर खड्काले एथलेटिक्सबाट एक सय मिटर दौडमा नेपालको चुनौती प्रस्तुत गरे । जितबहादुरको २०७२ सालको भुकम्पमा परि निधन भयो । त्यसपछि चीनको ग्वान्जाओमा सन् २०१० मा पारा खेलाडीहरुको एसियन गेम्स हुँदा नेपालबाट १३ पारा खेलाडी सहभागी भए ।
सो प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा सन् २०१२ को लण्डन ओलम्पिकका लागि नेपाली पारा खेलाडी मैया बिशंखे र विक्रमबहादुर राणा छनोट भए । विक्रमसँगै पौडीकी लक्ष्मी कुँवरले सन् २०१६ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको ओलम्पिकमा पनि भाग लिए ।
पारा ओलम्पिकमा मात्रै हैन दृष्टिबिहिन क्रिकेटमा पनि नेपालले हात पारेको सफलता लोभलाग्दो छ । २०६३ सालदेखि सुरु भएको नेत्रहीन क्रिकेटले छोटो समयमै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता दिलाएको छ । सन् २०१२ र २०१७ मा टी–२० विश्वकव खेलेका नेत्रहीन क्रिकेटरले सन् २०१८ मा एकदिवसीय विश्वकप नै खेलिसकेका छन् ।
त्यस्तै नेत्रहीन नेपाली महिला क्रिकेट टोलीले सन् २०१९ मा पाकिस्तानसँगको चार खेलको सिरिज क्लिन स्विप गरेको थियो । पारा खेलकुदमा जति खेलहरु समावेश छन्, उत्तिकै मात्रामा नेपालमा खेलाडीहरु भन्दै ओलम्पिकमा पदक जित्ने सम्भावना रहेकोनेपाल पारा ओलम्पिक कमिटी अध्यक्ष सुुर्य कुमारी गुरुङ बताउँछिन् । खेलको विस्तार भयो तर, विकास राम्रोसँग नभएको उनको भनाई छ ।
शारीरिक रुपमा फरक क्षमता भएका खेलाडीहरुको सबैभन्दा प्रतिष्ठित पारा ओलम्पिकमा यस पटक विभिन्न देशका ४ हजार ४ खेलाडीले विभिन्न २२ खेलहरुमा प्रतिस्पर्धा गर्दैछन् । जसमा नेपालबाट दुई खेलका तीन खेलाडी सहभागी हुँदैछन् । यसपटक नेपालले पारा ओलम्पिकमा पदकको आशसहित खेलाडीहरुको वैदेशिक प्रशिक्षण पनि गराएको छ । पेरिस पारा ओलम्पिक नेपालका लागि एउटा सुवर्ण मौकाका रुपमा हेरिएको छ ।