तीजका कतिपय गीत अमर्यादित भएको भन्दै आलोचना

भाद्र ११, २०८१ | काठमाडौं

नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज नजिकिँदै छ । जीवनका सुख, दुःखलाई गीतमार्फत् व्यक्त गर्ने अभिव्यक्तिकोे रुपमा तीज नेपाली नारीको महत्वपूर्ण चाड हो । शिव भगवानको उपासना गरि परापूर्वकालदेखि नै तीज मनाइदै आइएको छ । तर सांस्कृतिक परम्परा बोकेको तीज मनाउने प्रचलनमा भने दिनप्रतिदिन परिवर्तन आएको छ ।

चेलीका अनुभूतिको मर्म, मीठो लय, आफूले भोगेका पीडाको अभिव्यक्ति र तिनै अनुभूतिलाई सिर्जनामा उनेर सुख–दुःख, हर्ष, विस्मात तथा आशा र निराशाको अभिव्यक्ति गर्ने एउटा सरल माध्यम अहिले फेरीदै आएको देखिन्छ ।

तीजका गीतमा महिलाका भावना, संवेदना अभिव्यक्त गरिन्छ । नेपाली मौलिक संस्कृतिको पर्व तीजमा गाइने गीतको बेग्लै विशेषता छ । केही वर्षअघिसम्म तीजका गीत सासू–बुहारी, नन्द–आमाजू, श्रीमान–श्रीमतीको सम्बन्ध, रोचक घटना, वीरताजस्ता अनेकौँ विषयलाई केन्द्रमा राखेर सिर्जना गरिन्थ्यो ।

तीजका गीतहरु अब सांस्कृतिक, ऐतिहासिक, परम्पराको आँखाले हेर्नै नसकिने गरी विकृत भएको टिप्पणी समेत भएको छ । गायिका हरिदेवी कोइरालाले भनिन् “ तीजका गीत भन्नाले विरह व्यथा मात्रै होइन आम देशका घटना विकृती, विसंगती सबै पर्छन् । हामी कलाकारहरु सबैले म म भन्दै आफ्नो कलाकारिताको धर्म र नैतिकता आफैंले बुझ्न जरुरी छ ।

यो भन्न पर्ने बुझाउनु पर्ने कुरा होइन । सस्तो लोकप्रियतामा भ्यूज बढाउनका लागि समाजमा अपाच्य हुने असभ्य खालका गीत सार्वजनिक गर्न हुँदैछ ।”

तीज आउनु एक दुई महिना अघिदेखि नै विभिन्न कलाकारले भिडियोसहितको गीत तयार पारेका छन् । र, युट्युवमा राम्रै भ्यूज पाएका छन् । तीजको छेको पारेर “मायाको पोको चोखो छ चोखो बिहे अघि दिन्न म लरि लरि लै”, “रननन रन्काउँदै ए होई मादलु घन्काउँदै”, हेर्नीले हेर्छ मलाई सुन्नेले सुन्छ”, “टिकटकमा भाइरल भा हल्लाएरै हो” भन्ने लगायतका गीतहरु सार्वजनिक भएका छन् ।

स्थापित हुने आशा बोकी गायक गायिकाले समयको माग भन्दै यस्ता गीत बजारमा ल्याएको देखिन्छ । प्रविधिले तीजलाई चेलीको मर्म गीतमार्फत सुन्ने परम्पराबाट डिजिटल फड्कोतर्फ अघि बढाएको छ । लोक गायक शिवनारायण जोशीले भने “नेपाली संस्कार र संस्कृति अनुसार अहिलेको गीत गीत होइन, यो नास्तिक हो । 

आज भोली तीजका गीतहरु बुबा–काका, दाजुभाई, जेठाजु देवरसँगै बसि सुन्न नसकिने भएको छ । तीजको गीतको मर्म नयाँ पुस्ताले बिर्सनु हुन्न । यस्तै गीतहरु निर्माण हुने हो भने तीजको महत्व रहदैन अब ।”

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले अमर्यादित गीत सार्वजनिक गर्ने कलाकारलाई स्पष्टीकरण सोध्ने गरेको छ । समाजमा अपाच्य हुने गीत गाउने गायक गायिकालाई स्पष्टीकरण सोधिएको संस्थाका अध्यक्ष रिता थापामगरले बताईन् । साथै प्रस्तुति र भिडियो पनि अश्लिल भएको गीतको सन्दर्भमा त्यस्ता गीत सच्याउन र सकेसम्म डिलिट गरिदिन संस्थाले भनेको छ । 

बजारमा लोकप्रिय र चलेका कलाकारले नै अपाच्य गीत गाउन र प्रस्तुति दिन थालेपछि प्रतिष्ठानले आफ्नोतर्फबाट त्यसको न्यूनीकरणको प्रयास गरिरहेको अध्यक्ष थापामगर बताउँछिन् ।

पछिल्लो समय सार्वजनीक भएका तिजका गीतहरु भड्किलो भएको भन्दै संसदमा समेत प्रश्न उठाइएको छ । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको आइतवारको बैठकमा राष्ट्रिय सभाका सांसद पदमबहादुर परियारले तीजका गीतको सन्दर्भमा उठाएका थिए ।

सांसद परियारले समाजमा गलत असर पार्ने गीतसंगीतमा नियन्त्रण गर्नुपर्ने माग समेत गरे ।

समय र समाज परिवर्तनसँगै तीजका गीतमा नयाँ पन देखिएपनि विकृति नफैलाउनका लागि सबै समूह र सर्जक नै सचेत हुनुपर्ने समाजशास्त्रीहरुको भनाई छ । दर्शक, श्रोता, सञ्चारमाध्यम र सर्जकले विकृति फैलाउने खालका गीतमा रोक लगाउने र प्रोत्साहन नगर्ने हो भने केही हदसम्म गीत÷संगीतको विकृति हट्ने उनीहरुको बुझाइ छ ।

त्यसो त हरेक चाडपर्व मान्ने शैली परिवर्तन हुँदै आएकाले त्यसलाई स्वभाविक रुपमा लिनुपर्ने धारणा छ । समाजशास्त्री डा.गुमानसिंह खत्रीले भने “जुनसुकै चाँड पर्वको कुरा गर्दा पनि एउटा सन्दर्भमा ति चाँडपर्वहरुको सुरुवात भएका हुन्छन् । र विस्तारै विकास क्रममा जे समाजमा परिर्वतन आउँछ, त्यो परिवर्तनहरुले ति चाँड पर्व मनाउने तरिका तथा सोसँग सम्बन्धित भई बन्ने गीत संगीतहरु अवश्य परिवर्तन हुन्छन् । त्यसैले यो परिर्वतनका कुरालाई सहि वा गलत नभनेर यसलाई स्वभाविक रुपमा लिनुपर्छ” ।

पहिलेका तीज गीतहरुले मौलिक र साँस्कृतिक पक्षलाई बढी प्राथमिकता दिएको पाइन्थ्यो । अहिले भने आधुनिक जीवनशैलीसँग जोडिएका सामाजिक बिषयवस्तुलाई गीतहरुमा समावेश गर्न थालिएको छ । समाज जस्तै बन्दै गएको छ, गीतहरुमा त्यही बिषय प्रतिविम्वित हुने तर्क गर्छन्, रंग पत्रकार धुव्र लम्साल ।

तीजका गीत मात्र होइन, यो पर्वमा लगाइने भड्िकला पहिरन र गरगहनाको बिषय अर्को एउटा आलोचित पक्ष हो । तर आधुनिक समयमा सामाजिक चेतनाको स्तरवृद्धिसँगै रहनसहनमा आएको परिवर्तनलाई स्वभाविक रुपमा हेर्नुपर्ने मत समेत प्रकट भएका छन् । 


प्रतिक्रिया