‘आत्महत्या भयावह बन्दै , झुण्डिएर मात्र ६ हजार १ सय १५ जनाले आत्महत्या गरे’

भाद्र २४, २०८१

पछिल्लो समय नेपालमा आत्महत्या सार्वजनिक स्वास्थ्य चिन्ताको विषय बन्दै गएको छ । अघिल्ला वर्षको तुलनामा आत्महत्याका घटना बढेको प्रहरीको तथ्यांक छ । व्यक्तिले आत्महत्या गर्नुमा विभिन्न कारण हुने गरेको जानकारहरुले बताएका छन् । आर्थिक कारोबार बिग्रिँदा समेत धेरै व्यक्तिले आत्महत्या रोज्ने गरेको पाइएको छ । आत्महत्या रोकथाम र त्यसको प्रयास गर्नेहरुका लागि पुनस्र्थापना गर्न विशेष रणनीति बनाउनुपर्ने विज्ञहरुले बताएका छन् ।

आत्महत्या गर्नेमध्ये करिब ९० प्रतिशत मानिस मानसिक रोगबाट पीडित हुने गरेको अध्ययनले देखाएको छ । मानसिक रोगमा पनि डिप्रेसन मूल कारण रहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार घरेलु हिंसाका पीडितहरु बढी जोखिममा रहने गरेकाले आत्महत्या गर्ने प्रवृत्ति समेत देखिएको छ । आत्महत्याका घटना बढ्नुको कारणबारे नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्की आर्थिक अवस्था, वैदेशिक रोजगार , मानसिक रोगका कारण आत्महत्याका घटना बढेको बताउँछन् । प्रेमको वियोग , पारिवारिक विखण्डन लगायत कारणले पनि आत्महत्यको घटना बढेको उनको भनाई छ ।

प्रहरीको तथ्याङ्क अनुसार झुण्डिएर सबैभन्दा बढी आत्महत्याका घटना हुने गरेको पाइएको छ । आर्थिक बर्ष २०८०÷८१ को तथ्यांक अनुुसार सबैभन्दा बढी झण्डिएर ६ हजार १ सय १५ जनाले आत्महत्या गरेका छन् । त्यसमा पनि पुुरुष बढी छन् । त्यस्तै, पछिल्लो समय हाम फालेर र शरीरमा आगो लगाएर आत्महत्या गर्ने घटना बढी देखिन थालेको प्रहरी प्रवक्ता कार्कीले बताए । आत्महत्यामा पनि ८५ प्रतिशत झुण्डिएर गरेको पाइएको प्रहरीको तथ्यांक छ । विष सेवन गरेर, अग्लो ठाउँबाट, पानीमा हाम फालेर , शरीरमा आगो लगाएर पनि आत्महत्या गर्ने गरेको उनको भनाई छ ।

प्रेमसम्बन्ध राख्ने देखि लिएर आर्थिक उपार्जन गर्ने १८ देखि ५० वर्षका हाराहारीका उमेर समूहका व्यक्तिले आत्महत्याको बाटो रोज्ने गरेका छन् । प्रेममा असफल हुँदा, चाहेको रोजगारी नपाउँदा, रोग लागेर उपचार गर्न नसक्दा, आकांक्षा र सोचेको काम नहुँदा, बैदेशिक रोजगारमा जान खोज्दा ठगिएका लगायत कारण आत्महत्या गरिएको घटना सम्वन्धि तथ्याङ्क प्रहरीसँग छ । व्यक्तिलाई जैविक, मनोवैज्ञानिक र सामाजिक तीनवटै पक्षसँग जोडिएको उतारचढावले आत्महत्याका लागि पे्ररित गर्ने गरेको अध्ययनहरुले देखाएका छन् । ललितपुरको जावलाखेलस्थिल अल्का अस्पतालका न्युरो साइकाटिस डा. देवेस प्रधान जैविक कारणले सामान्यतः आत्महत्याको घटना भएको बताउँछन् । डाक्टर प्रधान जैविक कारणले पनि आत्महत्या हुने गरेको र कसैलाई भ्रमका कारण पनि आत्महत्या गर्ने गरेको बताउँछन् ।

आत्महत्या गर्न कुनै पनि व्यक्तिले लामो समयदेखि प्रयास गर्ने गरेको चिकित्सक बताउँछन् । आत्महत्या गरेका व्यक्ति र प्रयास गरेका व्यक्तिमा गरिएको अध्ययनले आत्महत्या गर्ने व्यक्तिले केही न केही संकेत गर्छन् भन्ने देखिएको छ । तर उनीहरुले गर्ने संकेत अरुले बुुझ्न नसक्दा वा गम्भीरताका साथ नलिंदा पनि यस्ता घटना भएको पाइएको चिकित्सकहरुले बताएका छन् । त्यसकारण पनि आफ्नो मनमा लागेका कुराहरु गुम्साएर नराख्न र यदि कसैले आत्महत्याको शब्द मात्र निकाले पनि निगरानी गर्नुपर्ने बताउँछन् डा प्रधान ।

आत्महत्या जनस्वास्थ्यको एउटा विषय हो । विश्व स्वास्थ्य संगठनलेयसको न्युनिकरणका लागि विभिन्न चारवटा सुुझाव दिएको छ । व्यक्तिले प्रयोग गर्ने माध्यमहरु जस्तै झुुण्डिएर , विष सेवन गरेर, हतियारको प्रयोग गरेर जस्ता माध्यमको सुुक्ष्म अध्ययन गर्ने र ती माध्यमको पहुुँच कम गर्नुपर्छ । नेपालमा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी छ तर आत्महत्या प्रयास गरेकोको तथ्यांक हेर्ने हो भने विष सेवन र्नेको संख्या बढी छ । त्यसैले पनि विषादीको पहुँच कम गर्न जरुरी देखिन्छ । विषादीमा पहुँच कम गर्न खुद्रा पसलमा बिक्रीवितरण गर्न नदिने, एकजनालाई मात्र विषादी विक्री नगर्ने, बिक्री गर्दा पनि उमेर समूहलाई ख्याल गर्ने हो भने आत्महत्याको घटनामा कमी ल्याउन सकिने जानकारहरुको भनाइ छ । त्यस्तै, आत्महत्याको घटना रोक्नका लागि बालबालिका र किशोर किशोरीलाई जीवनमा आउन सक्ने सम्भावित उतारचढावबारे जानकारी दिनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । यसरी हेर्दा तनाव व्यवस्थापन आत्महत्या रोकथामका लागि अपनाइने सबैभन्दा महत्वपूर्ण मध्येको एक उपाय ठानिएको छ ।


प्रतिक्रिया