विस्तारको काममा ढिलाइ हुँदा सूर्यविनायक–धुलिखेल सडकको यात्रा कष्टकर

असार ५, २०८२ | काठमाडौं
पूर्वी तराई तथा पहाडका जिल्ला जोड्ने बीपी राजमार्ग पुग्न पहिला अरनिको राजमार्ग अन्तर्गत पर्ने सूर्यविनायक–धुलिखेल सडक पार गर्नु पर्छ । तर यहि सडक छिचोल्न चालक र यात्रुलाई हम्मे हम्मे पर्छ । विस्तारका लागि भत्काइएको सडकमा घाम लाग्दा धूलो र पानी पर्दा हिलोले सास्ती थपेको छ ।
यात्रु र चालकलाई मात्रै नभई यस सकडखण्ड अन्तर्गतका स्थानीय बासिन्दासमेत धुलो र हिलोका कारण आजित बनेका छन् । विस्तारको काममा ढिलाइ हुँदा सूर्यविनायक–धुलिखेल सडक बेहाल अवस्थामा छ ।
काठमाडौंको वानेश्वरदेखि काभ्रेको धुलिखेलसम्मको दुुरी २९ दशमलव ९ किलोमिटर छ । सामान्य अवस्थामा यो दुरी सवा १ घण्टामा पार गर्न सकिन्थ्यो भने हाल यहि दुरी पार गर्न दोब्बर भन्दा बढी समय लाग्छ । ओहोरदोहोरका लागि घण्टौं लाग्ने अवस्था छ र यात्रुुहरुले सास्ती खेप्नुपरेको छ । अरनिको राजमार्ग अन्र्तगतको सूर्यविनायक–धुलिखेल खण्ड चीनसँगको तातोपानी नाका र वीपी राजमार्गसँग जोडिने सडक पनि हो । सो सडक खण्ड हाल निर्माणाधीन अवस्थामा छ ।
दैनिक हजारौँको संख्यामा सवारी साधन आवतजावत गर्ने यो सडक अहिले कुहिरिमण्डल हुने गरेको छ । धुलोका कारण सडक छेउमा बसोबास गर्ने स्थानीयलाई स्वास्थ्य समस्या आइरहेको छ नै यो सडक खण्ड प्रयोग गर्ने सवारीलाई पनि निकै सकस हुने गरेको छ ।
बनेपाका स्थानीय आशिकराज कायस्थ भन्छन् “ १० मिनेटमा एक पटक पसल सफा गर्नै पर्ने हुन्छ , सीम सीम पानी परेकोले गर्दा अलि सहज भईरहेको छ । नत्र पसलमा नबसे पनि हुन्छ । धुलोका कारण तत्कालै स्वास्थ्यमा समस्या नदेखिए पनि पछि यसले विभिन्न रोग ननिम्त्याउला भन्न सकिन्न । ”
घाम लागेको समयमा धुलो र पानी परेको समयमा हिलो हुँदा सवारी साधन चिप्लिने, खाडल पर्ने जस्ता समस्या आइरहन्छन् । अझ मोटरसाइकलमा यात्रा गर्नेका लागि यो सडक खण्ड बढी कष्टपूर्ण र चुनौतीपूर्ण बन्ने गरेको छ । मोटरसाइकलमा सामान्य अवस्थामा ३० मिनेटको सडक यात्रामा छिचोलिने यो खण्ड पार गर्न हाल डेढ घण्टाभन्दा बढी समय लाग्ने अवस्था छ ।
निर्माणकै क्रममा आयोजनामा देखिएको शिथिलताले यात्रुहरु सरकार र ठेकेदार कम्पनीसँग रुष्ट छन् । कालोपत्रे सुरु हुनुपर्ने बेलासम्म आयोजनामा पर्याप्त प्रगति नदेखिंदा असन्तुष्टि चर्को छ ।
सवारी चालक शैलेन्द्र सुवालले भने “बाटोका कारण सवारी हाक्न एकदमै असजिलो छ । हिलो बाटोमा सवारी चिप्लेर अर्को सवारीमा ठोक्किने हुँदा दुर्घटनाहरु बढ्दो छ । सानो गाडीहरु ठूल्ठूला खाल्डोमा फस्दा मुनीको भाग कुच्चीने हुन्छ । सो कारण गाडी मर्मत गर्दा खर्चहरु भईरहेन समस्या पनि छ । बाटो चाँडै बन्यो भने सहज हुन्थ्यो ।”
देशको मुख्य आर्थिक केन्द्र काठमाडौंमा खाद्यान्न, फलफूल, तरकारी लगायत दैनिक उपभोग्य वस्तुहरु आपूर्तिका लागि महत्वपूर्ण मानिने यो सडकखण्ड अलपत्र अवस्थामा हुँदा व्यवसायी पनि हैरान छन् ।
सडकको दुरावस्थाले यात्रा समय लम्बिनेदेखि यात्रा लागत बढ्ने समस्या छ ।
नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली भन्छन् “ पहिलेको तुलनामा सामान काठमाडौं ल्याउन धेरै गाहे छ । सामान्य अवस्थाको सडक हुँदा तातोपानीबाट बोर्डरदेखि काठमाडौंसम्म आउन ५ घण्टाको समय लाग्थ्यो भने अहिले त कहिले दिनभरी पनि लाग्छ, कहिल १० घण्टा लाग्छ । एकिन नै छैन । कुनै ठाँउमा बाटो लामै समय बिग्रियो भने दुई दिन पनि लाग्ने अवस्था छ । ”
विसं २०७९ पुस २४ गते आशिषकुमार श्रेष्ठ वन्दना भगवती जेभी र लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले दुई खण्डमा गरी तीन वर्षभित्र सम्पन्न गर्नेगरी सुर्यविनायक–धुलिखेल खण्डको ठेक्का सम्झौता गरेका थिए । सडक विस्तार गर्न सात दशमलव पाँच किमी लामो सूर्यविनायक–साँगा सडकखण्डका लागि रु तीन अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता भएको थियो ।
साँगादेखि धुलिखेल खण्डको काम २०८२ मंसिरमा सक्ने लक्ष्य छ भने, सूर्यविनायक–साँगा सडकखण्डको ठेक्का २०८२ पुस भित्र सक्नुपर्नेछ । बर्खाले गर्दा तोकिएकै समयमा काम सिध्याउन कठिन हुने देखिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताए ।
उनी भन्छन् “ करीब ५० प्रतिशत जति काम सकिसक्यो । अब बाँकी काम पनि चाँडै सकाउने योजनामा छौं । मेजर स्ट्रक्चरको कामहरु सकियो । तर निर्धारित समयभन्दा अलि बढी समय लाग्न सक्छ । ”
सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर लामो सडक छ लेन विस्तारको काम भईरहेको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार ३६ महिनाभित्र सम्पन्न गर्न छुट्टाछुट्टै दुई चरणमा सडक विस्तार सुरु गरिएको ३० महिना बितिसक्दा करिब ५० प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ ।
निर्माणका क्रममा कुनै समस्या नआए र बजेट अभाव नभए तोकिएको समयमा सक्ने गरी काम भइरहेको सडक विभागका महानिर्देशक विजय जैसीको भनाई छ ।
उनले भने “ सो खण्डमा सुरुदेखि नै अलि बढी समस्याहरु थिए । घरहरु भत्काउनु पर्ने, विजुलीका पोलहरु सार्नु पर्ने लगायतका समस्याहरु थिए र अन्तिममा आएर बजेटमा पनि अलिकति समस्या भएको कारणले ठ्याक्क निर्धारित समयमा काम सम्पन्न गर्न कठिनाई भएको छ । अब अहिले धेरै समस्या सल्टिसकेका छन् । छिटै सकिन्छ । बजेटको यकिन सुनिश्चितता भयो भने तोकिएकै समयमा ठ्याक्कै नसकिए पनि त्यसको आसपास अलिकति समय थप गरेर सकिनेका ढुक्क छौं । यो खण्डको काम चाँडै सम्पन्न गर्न सडक विभाग एकदमै गम्भिर छ ।”
सुुर्यविनायक–धुलिखेल सडक विस्तार भएपछि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी नाका खुला भए यो सडकखण्डमा अझै सवारीसाधनको चाप बढ्ने पक्का छ ।
हाल कोटेश्वरबाट लामा दूरीका सवारीसाधन मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको छ । संघीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल राजमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार हुन्छ भने यो सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिकसमेत काठमाडौँ आउजाउ गर्दै आएका छन् ।