नेपाली भलिबलमा पहिलो पटक अक्सनमार्फत् खेलाडी छानिए

श्रावण ११, २०८२ | काठमाडौं
नेपाली खेलकुदमा क्रिकेट र फुटबलमा अक्सन भइसकेपनि भलिबलमा भने पहिलो पटक अक्सनमार्फत् खेलाडी छानिएको छ । आगामी भदौमा हुने एभरेष्ट महिला भलिबल लिगका लागि अक्सन गरेर खेलाडी छानिएको हो ।
गत वर्ष देखि नेपाली भलिबलको इतिहासमै पहिलो फ्रेन्चाइज लिगको रुपमा प्रतियोगिता आयोजना भएको थियो । भलिवलको लोकप्रियता र आर्कषण बढिरहेका बेला फ्रेन्चाइज लिगका लागि अक्सनबाट चयन हुँदा खेलाडी उत्साहित देखिएका छन्–
आगामी भदौमा आयोजना हुने दोस्रो संस्करणको फ्रेन्चाइज लिग एभरेष्ट महिला भलिबल लिग इ.डब्लु.भि.एल. मा नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले लुम्बिनी लाभाजबाट खेल्दै छिन् ।
अरुणा सो टीमकी मार्की खेलाडी समेत हुन् । भलिबलसँगै अन्य खेलहरु काठमाडौंमै मात्र सिमित भइरहेको बेला लिग पोखरामा हुने भएकाले आफू एकदम उत्साहित रहेको उनले बताइन् । यस्तै, अक्सनबाट आफ्नो टिमले सबै पोजिसनका खेलाडी पाएको बताउँछन् लुम्बिनीका मुख्य प्रशिक्षक भरत यादव ।
अक्सनमा ६ फ्रेन्चाइज टिमका मार्की प्लेअर, मुख्य प्रशिक्षक, टिम ओनरदेखि ब्राण्ड एम्बासडर लगायत भलिबल संघका पदाधिकारी उपस्थित थिए । ६ वटै फ्रेन्चाइजले अक्सनअघि नै आफ्ना मार्की खेलाडी र मुख्य प्रशिक्षक नियुक्त गरिसकेका थिए । अक्सनबाट टिम राम्रो बनेको बताउँछिन् ललितपुर क्विन्सकी मार्की सलिना श्रेष्ठ ।
अक्सनमा सबै ६ टिमले ७–७ खेलाडी अनुबन्ध गरेका छन् । इडब्लुभिएलमा हरेक टिममा १२ खेलाडी हुने प्रावधान छ । जसमा हरेक टिमले ३ विदेशी खेलाडी राख्न पाउनेछन् भने एक खेलाडी ट्यालेन्ट हन्टबाट टिममा राख्नुपर्नेछ ।
अक्सनमा आपूmले छनोट गरेका खेलाडीहरु नपाएको र जुन खेलाडी टिममा परे त्यसैलाई राम्रो तयारी गराउने लिगकी एकमात्र महिला मुख्य प्रशिक्षक मधेश युनाइटेडकी कोपिला उप्रेतीले बताइन् ।
महिला भलिबलमा फ्रेन्चाइज लिग आयोजनापछि नै खेलाडीहरुले आर्थिक रुपमा पनि आर्जन गरेका छन् । खेलाडीको अक्सन हुँदा बोलकबोलमार्फत खुला रुपमै सम्बन्धित टिमले खेलाडीहरु अनुबन्ध गरेका छन् । जसले गर्दा कुन खेलाडीले कति रकम पाए भन्ने थाहा समेत हुनेछ । काठमाडौं स्पाइकर्सकी मार्की उषा भण्डारीले पैसा भन्दा पनि लिग हुनु नै महिला खेलाडीका लागि राम्रो अवसर भएको बताइन् ।
न्यु डायमन्ड एकेडेमीकी खेलाडी प्रगति नाथ मार्की खेलाडी र रुपेशकुमार विष्ट प्रशिक्षक रहेको पोखराले अक्सनमा ६ लाख २९ हजार ७ सय ५० रुपैयाँ खर्चेको छ । अक्सनमा पोखरापछि धेरै खर्च गर्नेमा गत वर्षको उपविजेता ललितपुर क्विन्स रह्यो । उसले ६ लाख २७ हजार २ सय ५० रुपैयाँ खर्चेको छ । लुम्बिनी र काठमाडौंले समान ६ लाख १२ हजार २ सय ५० तथा साबिक विजेता कर्णालीले ५ लाख ८९ हजार ७ सय ५० र मधेशले ५ लाख ८७ हजार ५ सय खर्चेका छन् ।
मार्कीबाहेक सबै टिमले समान ७ खेलाडी किनेका छन् । सबैले अब तीन विदेशी र ट्यालेन्ट हन्टबाट एक खेलाडी अनुबन्धित गर्न पाउनेछन् । अक्सनका आपूmहरुले रोजेका खेलाडी लक्की ड्रमा गुमाउनु परेको साविक विजेता कर्णाली याश्विजका मुख्य प्रशिक्षक कुमार राई बताए । आफ्नो टिममा परेका खेलाडीलाई राम्रो प्रशिक्षण दिई प्रतिस्पर्धाका लागि तयार पार्ने उनले बताए ।
अक्सनमा ६९ खेलाडी राखिएको थियो । उनीहरूलाई तीन श्रेणी ‘ए’, ‘बी’ र ‘सी’ मा वर्गीकरण गरिएको थियो। ‘ए’ को बेसप्राइज १ लाख १५ हजारदेखि बढीमा १ लाख ३२ हजार ५ सय राखिएको थियो। ‘बी’ को बेसप्राइज १ लाखदेखि बढीमा १ लाख १५ हजार तथा ‘सी’ को बेसप्राइज ५० हजारदेखि ५७ हजार ५ सयसम्म रहेको थियो ।
नेपाली भलिबलमा पहिलो पटक भएको अक्सनले भलिबल खेलाडी पनि व्यावसायिक दायराभित्र छिरेको नेपाल भलिबल संघको भनाई छ । यसले नेपाली भलिबलको विकासमा ठूलो टेवा पुग्ने बताउँछन् नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठ ।
अब पालो महिलाको भन्ने नारासहित आयोजना भएको यस भलिबल लिगसँग चर्चित कलाकारहरू पनि जोडिएका छन् । साबिक विजेता कर्णालीले अभिनेता राजेश हमाललाई टिम एम्बासडर बनाएको छ भने अभिनेत्री नीति शाह मधेश युनाइटेडसँग जोडिएकी छन् । अर्की अभिनेत्री सनिशा भट्टराई पोखराको एम्बासडर बनेकी छन् ।
आयोजक इन्फिनिटी ड्रिम्सकी सीईओ स्नेभी चापागाईंले अक्सनको उत्साहले नेपाली भलिबललाई एउटा उचाइमा पु¥याउन प्रेरित गरेको बताइन् ।
नेपालमा भलिबलको आफ्नै एउटा कभर्ड हल समेत नभएको अवस्थामा पनि महिला टोलीले केही उपाधिमाथि कब्जा भने जमाएका छन् । सेन्ट्रल एसियन भलिबल संघ काभाको दुई संस्करणको च्याम्पियन बन्दा महिला भलिबल टोली १३ औं दक्षिण एसियाली खेलकुद सागमा उपविजेता बन्न सफल भयो । उपाधि नजितेपनि महिला भलिबल टोलीले लगातार जसो मेडल दिलाईरहेकै छ ।
यस्तोमा महिला भलिबल खेलाडीको अक्सन हुनु सुखद पक्ष हो । यसले केही हदसम्म खेलाडीको व्यावसयिक पाटो बलियो बनाउने अपेक्षा गर्न सकिन्छ ।