नेपालमा शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको संख्या बढ्दै

श्रावण १५, २०८२ | काठमाडौं

नेपालमा पछिल्लो समय शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको संख्या बढ्दै गएको स्वास्थ्य क्षेत्रका जानकारले बताएका छन् । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा समेत शल्यक्रियाबाट बच्चा जन्माउनेको संख्या बढेको छ । सरकारी अस्पतालको तुलनामा निजी अस्पतालमा बच्चा जन्माउन अझै शल्यक्रियाको अवस्था बढ्दो क्रममा रहेको देखिन्छ ।

नेपालमा पछिल्लो समय नर्मल भन्दा सिजेरियन डेलिभरी रुचाउने दम्पतीको संख्या बढ्दै गएको पाईएको छ । नर्मल डेलिभरी हुन नसक्ने जटिल अवस्थामा आमा बच्चा वा दुवैलाई जोगाउन सिजेरियन सेक्सन अर्थात शल्यक्रिया गरेर डेलिभरी गर्नुपर्ने हो । तर अस्पताल पनि जोखिम मोल्न नचाहने र कतिपय नीजी अस्पतालले पैसा बढी असुल्नका लागी समेत सिजेरियन डेलिभरी गर्न खोज्ने प्रवृत्ति हाबी भएको टिप्पणी समेत हुने गरेका छन् । त्यस्तै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार शल्यक्रिया मार्फत हुने प्रसूति दर १० देखि १५ प्रतिशत भन्दामाथि हुनु हुँदैन् । तर नेपालमा भने सो दर १८ प्रतिशत बढी भएको विभिन्न तथ्याङ्कले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंको आँकडा अनुसार सरकारी भन्दा निजी अस्पतालहरुले ९० प्रतिशत शल्यक्रिया मार्फत प्रसूति गराएको पाईएको छ । यसैगरी सरकारी अस्पतालको हकमा भने ५० प्रतिशत शल्यक्रिया मार्फत प्रसूति गराएको तथ्याङ्कले देखाएको छ । र पछिल्लो समयमा बदलिँदो जीवनशैली, ढिलो विवाह, गर्भवतीको बढ्दो चिन्तालगायत कारणले गर्दा सिजेरियन डेलिभरी गर्ने महिलाको संख्यामा वृद्धि भएको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.जागेश्वर गौतम बताउछँन् ।

सरकारी तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१÷८२ मा काठमाडौंमा करिब २० हजार जना महिला सुत्केरी भएका छन् । जसमा ९ हजार १ सय १० जनाले शल्यक्रिया मार्फत सन्तान जन्माएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी भ्याकुम मार्फत १ सय ९१ जनाले बच्चा जन्माएको पाईएको छ । शल्यक्रिया मार्फत प्रसूति गराउनुमा मनोवैज्ञानिक, सामाजिक, संरचनागत र चिकित्सकीय पक्ष बढि जिम्मेवार रहेको चिकित्सकले बताएका छन् । ३०–३५ वर्षपछि विवाह गर्ने अवस्थाका कारण बच्चा जन्माउँदा गाह्रो हुन्छ कि भनेर शल्यक्रिया गर्ने प्रवृत्ति मौलाएको सरोकारवालाको भनाइ छ । प्रसूतिका लागि शल्यक्रिया भन्दा प्राकृतिक माध्यम नै महिला तथा शिशुका लागि राम्रो हुने भएपनि गर्भवती महिलाले प्रसव पिडाको कारण मात्र नभई शिशुलाई राम्रो साइतमा पारेर जन्माउने गरेका छन् । उनीहरुले ज्योतिषीको सुझाव मान्ने गरेको पाइन्छ । सिजेरियन सेक्सन रोज्ने प्रवृत्तिबारे स्त्री रोग विशेषज्ञ डा. बिमला मल्लले भनीन्, ‘पछिल्लो समय शल्यक्रिया गरेर बच्चा जन्माउने महिलाको संख्या बढ्दै गएको छ । उनीहरुको चाहना अनुसार शल्यक्रिया गर्ने गरेका छौँ । पछिल्लो समय सबैभन्दा ठुलो समस्या नै ढिलो विवाह हो ।’

बच्चा जन्माउँदा एक पटक शल्यक्रिया गरेपछि अर्को पटक पनि शल्यक्रिया मार्फत नै बच्चा जन्माउनुपर्ने सम्भावना उच्च हुने जानकारहरुको बुझाई छ । जसकारण हरेक वर्ष शल्यक्रिया मार्फत प्रसूति गराउनेको संख्यामा वृद्धि भएको हो । र अर्कोतर्फ नर्मल डेलिभरीका लागि समय कुर्दा बच्चा वा आमालाई कुनै समस्या भएमा सम्पूर्ण दोष आफूलाई आउने भएका कारण पनि चिकित्सकले जोखिम लिन नचाहेको बताईन्छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ का अनुसार, नेपालमा पाँच जनामध्ये एक जना महिलाले शल्यक्रियाबाट बच्चा जन्माउने गरेका छन् । प्राकृतिक रुपमा प्रसव व्यथा लागेर योनीमार्ग हुँदै बच्चा जन्मिन्छ भने त्यसलाई नर्मल डेलिभरी अर्थात प्राकृतिक प्रसुति भन्ने गरिन्छ । सोहि प्रक्रिया प्राकृतिक नभएर पेट चिरेर गर्भबाट बच्च जन्माइन्छ वा निकालिन्छ भने त्यसलाई सिजेरियन सेक्सन डेलिभरी भनिन्छ । दुई प्रकृयामध्ये सिजेरियन सेक्सनको प्रयोग बढ्न थालेको हो । केहि समय अघि मात्रै सिजेरियन सेक्सनबाट बच्चा जन्माएकी काठमाडौंकी सबिता कार्की भन्छिन्, ‘मेरो पहिलो बच्चा शल्यक्रियाबाट जन्माएको हुनाले दोस्रो बच्चा पनि शल्यक्रियानै गर्नुपर्छ भनेर चिकित्सकले सुझाव दिएपछि अर्को बच्चालाई पनि त्यसरीनै जन्माएँ । बच्चा जन्माउन सहज भएतापनि शाररीक रुपमा भने धेरै दीर्घरुपमा कठिनाई हुने रहेछ ।’

आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि कतिपय परिस्थितिमा सिजेरियन सेक्सन अनिवार्य हुने चिकित्सकले बताउँदै आएका छन् । शल्यक्रियामार्फत बच्चा जन्माउनु सुरक्षित भएपनि नर्मल डेलिभरीका धेरै फाइदा हुने चिकित्सकको भनाइ छ । जस्तो कीः नर्मल डेलिभरीपछि छिट्टै हिँड्डुल गर्न सक्ने, बच्चालाई सजिलै स्तनपान गराउन सक्ने तथा घाउ पाक्ने, पेट दुखिरहने वा भित्री अङ्गमा दुखाइ हुने जस्ता दीर्घकालीन समस्या हुँदैन ।  


प्रतिक्रिया