नेपालमा पहिलो पटक फिफा फुटबल फर स्कूल्स कार्यक्रमको सुरुवात

श्रावण १९, २०८२ | काठमाडौं

अखिल नेपाल फुटबल संघ एन्फाले नेपालमा पहिलो पटक फिफा फुटबल फर स्कुल्स कार्यक्रमको सुरुवात गरेको छ । फुटबललाई शिक्षा प्रणालीसँग जोड्ने पहल स्वरुप कार्यक्रमको सुरुवात गरिएको एन्फाले जनाएको छ । फिफा फर स्कुल्स कार्यक्रम खेलकुद विकासको माध्यम मात्र नभई, भविष्यका कर्णधारहरुको शारीरिक, मानसिक र सामाजिक विकासका लागि गरिएको दीर्घकालीन लगानी हो । यस कार्यक्रमले खेलाडी उत्पादनमा पनि मद्धत पुग्ने जानकारहरु बताउँछन् ।

फुटवल विश्वमा सबैभन्दा लोकप्रिय खेल हो । यही खेलको सर्वोच्च निकाय फिफाले फुटवललाई जनस्तरसम्म लैजान विभिन्न पहल र कार्यक्रम गर्दै आएको छ । यसै क्रममा फिफाले सन् २०१९ मा फिफा फुटबल फर स्कुल्स भन्ने कार्यक्रमको सुरुवात क्यारिबियन क्षेत्रमा पर्ने पोर्तो रिकोबाट गर्यो ।

अहिले यो कार्यक्रम १ सय ३९ देशमा सञ्चालन भइरहेको छ । फिफा अध्यक्ष जियानी इनफान्टिनोको इनिसियटिभ प्रोगामको रुपमा युनेस्कोसँगको सहकार्यमा ४ देखि १४ वर्ष उमेर समुहको बालबालिकामाझ फुटबल पुर्याउने र उनीहरुको जीवनमा सशक्तिकरण, सामुहिक भावना, शारिरीक र मानसिक तदुरुस्ती र सामाजिक भावनालाई प्रश्रय दिने उदेश्य अनुरुप फुटवलको यो कार्यक्रम ल्याइएको हो । यस अभियानअन्तर्गत नेपालमा पनि फुटबल फर स्कूल्स शुरु गरिएको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गरे । 

सो अवसरमा काठमाडौं उपत्यकाका १ सय ४ विद्यालयमध्ये ५९ विद्यालयलाई फुटबल हस्तान्तरण गरिएको थियो । अन्तर्राष्ट्रिय अभियानको रुपमा सञ्चालन हुँदै आएको यो कार्यक्रम नेपाली फुटबलका लागि ठूलो अवसर भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

फुटवलको यो अभियानका क्रममा ७७ जिल्लाका गरी १ हजार ७२ विद्यालयमा ३२ हजार ६ सय ४० वटा फुटबल वितरण गरिनेछ । दक्षिण एसियामा यो कार्यक्रम संचालन गर्ने नेपाल तेस्रो देश हो । नेपालमा अहिलेका लागि ७७ जिल्लाका १ सय ६८ विद्यालय छनोट भएका छन् । थप विद्यालयमा कार्यक्रम लैजाने तयारी एन्फाको छ । 

दक्षिण एसियामा भने पहिलो पटक भुटानमा यो कार्यक्रम सुरु भएको थियो । त्यस्तै भारतले यो कार्यक्रम संचालन गरिसकेको छ । फुटबल मार्फत बालबालिकामा एक्स्ट्रा एक्टिभिटिजलाई प्रस्फुटन गराउन एउटा गतिलो माध्यम बनोस् भन्ने उदेश्यसहित कार्यक्रमको सुरुवात गरिएको एन्फाले जनाएको छ । फुटबलको विकासको मात्रै नभई बालबालिकाको सेवा गर्ने कार्यक्रम भएको एन्फाका महासचिव किरण राईले बताए ।

गत साता कार्यक्रमको उद्धघाटनका बीच ४५ भन्दा बढी फुटबल प्रशिक्षकलाई कोचिङ सर्टिफिकेट वितरण गरिएको थियो । उनीहरुलाई स्पेनका कोच एन्टोनियो बुन्यानो स्यान्चेज र इटलीयन कोच अबर्तोले कोचिङ प्रशिक्षण दिनेछन् । अहिले जिल्लामा आबद्ध वा जिल्लामा जिम्मेवारी लिइरहेका प्रशिक्षकले फिफाको टेक्निकल टिमबाट प्रशिक्षण पाएका छन् । 

र सोही अनुरुप छनोट भएका कोचहरुले जिल्ला जिल्लाका विद्यालयमा गई शिक्षकलाई समेत फुटवल खेलाउने विधिबारे प्रशिक्षण दिने छन् । भविष्यमा राष्ट्रिय फुटबल टोली निमार्णका लागि यो कार्यक्रमले निकै मद्धत गर्ने अपेक्षा गरिएको छ । अभिभावकले समेत सहयोगी भुमिका निर्वाह गर्ने भएकाले अहिलेका बालबालिकाले राम्रो अवसर पाएको बताउँछन् नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान किरण चेम्जोङ ।

विद्यार्थी जीवनबाटै यस्ता कार्यक्रममा सहभागी हुँदा बालबालिकामा फुटवलप्रतिको आकर्षण बढ्दै जानेछ । र, खेलप्रतिको लगावले फुटवलका लागि नयाँ पुस्ता तयार पार्न योगदान गर्नेछ । स्कुल लेभलबाटै ग्रासरुटको फुटबल विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका पूर्व कप्तान हरि खड्काले बताए ।

ग्रासरुटमा पुग्ने फुटबल फर स्कूल्सले बालबालिकालाई फुटवलसम्बन्धी ज्ञान मात्र नभई टिमवर्क, अनुशासन र लगाव लगायत बिषयलाई जोड्ने देखिन्छ । खेलकुद आफैमा एउटा अनुशासन सिकाउने माध्यम भएकाले फुटवलको बहुआयामिक पक्षसँग बालबालिकाले साक्षात्कार गर्न पाउने कतिपयको बुझाइ छ ।

फिफा फुटबल फर स्कुल्स कार्यक्रमले नेपालमा खेलाडी उत्पादनका लागि महत्वपूर्ण योगदान गर्न सक्ने एन्फाको बुझाइ छ । यस कार्यक्रमका माध्यमबाट फुटवल ट्यालेन्टलाई अझ बढी फाइदा पुर्याउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया