चीन र भारतको प्रतिस्पर्धाः दक्षिण एशियाको भूराजनीतिलाइ अनेकौं चुनौती

फाल्गुन १, २०८१ | काठमाडौं

विश्व व्यवस्थामा अमेरिकाको प्रभाव विस्तारसँगै चीन, रुस, बेलायत जस्ता शक्ति राष्ट्रहरु अघि बढिरहँदा दक्षिण एशियाली मुलुक भारतले पनि आफ्नो रफ्तार बढाइरहेको छ । विश्व व्यवस्थामा प्रभाव पार्न भारतको सामरिक, आर्थिक र भौगोलिक लगायत पक्षकोे योगदान छ । र, उसले आफूलाई शक्ति राष्ट्रको रुपमा विकसित गर्दै लगेको पाइन्छ । यसरी भारतको प्रभाव विस्तारसँगै शक्ति राष्ट्रहरुको उपस्थिति र चासोबाट समग्र दक्षिण एसिया अलग रहन नसक्नु स्वभाविक हो । विकसित घटनाक्रम हेर्दा दक्षिण एसियामा भारत र चीनको गहिरो र अर्थपूर्ण प्रभावहरु देखिन थालेका छन् । भूराजनीतिका विभिन्न आयामहरु हेर्दा दक्षिण एशियाका मुलुकहरु प्रभावित भएको स्पष्ट छ ।

भनिन्छ, भूराजनीतिको दृष्टिकोणले हेर्दा दक्षिण एशियाली क्षेत्र विश्वकै सबैभन्दा अस्थिर क्षेत्रमा पर्छ । विश्व शक्तिमा अमेरिकाको उदयसँगै त्यसको आधिपत्य अर्थात् हेजेमोनीको प्रभाव यो क्षेत्रमा पर्दै आएको हो । पछिल्लो दशकमा चीन, रुस, बेलायत र अन्य युरोपेली मुलुकका आफ्नै प्रभाव र स्वार्थ दक्षिण एसियामा जोडिएका छन् । आर्थिक रुपमा सम्पन्न र शक्तिशाली मुलुक जापानले आफ्नो वैदेशिक नीतिमा दक्षिण एशियालाई रणनीतिक रुपमा महत्वपूर्ण क्षेत्रको रुपमा परिभाषित गरेको छ । त्यसो त भूराजनीतिक हिसाबले दक्षिण एशियाको अत्यन्त महत्वपूर्ण मुलुक भारत हो । एशिया, मध्यपूर्व र अफ्रिकाका देशहरुलाई जोड्ने हिन्द महासागरमा समुद्री मार्गहरूको केन्द्रमा अवस्थित भारत एसियाको तेस्रो र विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भएको मुलुक हो । भारतले शक्ति राष्ट्रहरुसँग गर्ने व्यवहार, टकराव अनि सम्वन्ध विस्तारसँगैको प्रतिस्पर्धाले दक्षिण एसियालाई स्वभाविक रुपमा असर पार्ने गरेको देखिन्छ ।

समग्र दक्षिण एसियामा प्रभूत्व कायम गर्दै शक्ति राष्ट्रसँग प्रतिस्पर्धा गर्ने उसको रणनीति हो । तर भारतको सम्बन्ध दक्षिण एशियामा भुटानबाहेक अन्य मुलुकसँग अहिले त्यति सुमधुर छैन । नेपालसँग सीमा विवाद र आन्तरिक मामिलामा हस्तक्षेप जस्ता नसुल्झिएका मुद्धा, पाकिस्तानसँग जन्मजात जस्तै देखिएको सीमा र सामरिक विवाद, श्रीलंकामा तत्कालीन विद्रोही समूह तमिल टाइगरलाई सहयोग गरेर आन्तरिक मामिलामा हस्तक्षेप, बंगलादेशको राजनीतिमा हस्तक्षेप तथा मालदिभ्सको भूमिमा भारतीय सेनाको उपस्थिति भारतका लागि चुनौतीको रुपमा देखा परेका छन् ।

त्यसमाथि खासगरी चीनले बढाएको चासो र सम्वन्ध उसका लागि टाउको दुखाइ बनेको छ र कूटनीतिक सम्बन्धमा असर परेको छ । शक्ति राष्ट्रको रणनीतिक प्रतिस्पर्धाका कारण चीन र भारतले दक्षिण एशियाली मुलुकलाई आफ्नो पक्षमा पार्न चालेका कदमका कारण यो क्षेत्रका मुलुकहरु अलमलमा परेको देखिने गरेको बताउँछन् भूराजनीतिक विश्लेषक एवम् नेपाली सेनाका पूर्व उपरथी विनोज बस्न्याँत । “चीन र अमेरिकाबीचको प्रतिस्पर्धा छ, दक्षिणमा एशियामा प्रत्यक्ष रुपमा चीन या अमेरिकाको पक्षमा जाने भन्ने देखिन्छ,” उनले भने, “भारत र पाकिस्तानबीच जुन अन्यौल छ, त्यसलाई चीन र पाकिस्तान सबै मौसमको साथीको रुपमा चीनले दर्शाउन खोजिरहेको छ । भुटान, नेपालजस्ता मुलुकसँगको स्थिति भने चीनको अलि अन्यौलता नै देखिन्छ ।”

भारतबाट विभाजित पाकिस्तान एशिया र मध्यपूर्वलाई जोड्ने रणनीतिक स्थानमा अवस्थित छ । योसँगै राजनीतिक अस्थिरता, आतंकवादको सामना गर्दै आर्थिक विकासको लागि संघर्षरत पाकिस्तानको भारतसँग सन् २०१८ देखि पानी बाराबारको स्थिति छ । सन् २००८ नोभेम्बर २६ मा मुम्बईमा आतंकवादी हमला, सन् २०१६ मा भारतीय सेनाको यूरी वेशमा हमलाले भारत–पाक सम्बन्धमा मात्र प्रभाव परेको छैन, समग्र दक्षिण एशियामा नै असर परेको छ । यही वैमनस्यताले गर्दा क्षेत्रीय सहयोग संगठन सार्क समेत ओझेलमा छ । सन् २०१६ र २०१८ को बीचमा भारत–पाकिस्तानबीच लगातार टकराव भइरह्यो । र अन्ततः भारतले पाकिस्तानका आम नागरिकदेखि कलाकार, खेलाडी सबैलाई भ्रमणमा प्रतिबन्ध लगायो ।

दशकपछि पाकिस्तानको आइएसआई प्रमुख मेजर जनरल साहिद आमिर अफ्सरले गत जनवरी २१ देखि २४ सम्म चार दिनका लागि बंगलादेश भ्रमण गरेपछि भारत तर्सिएको छ । खासगरी, शेख हसिनालाई सत्ताच्यूत गरेपछि बंगालदेशमानोबेल पुरस्कार विजेता मुहम्मद युनुस पाकिस्तानसँग निकट भइरहेको भारतको आरोप छ । पाकिस्तानको श्रीलंका, नेपाल, मालदिभ्ससँग खासै विवाद छैन । श्रीलंका त पाकिस्तानको सबैभन्दा बढी आर्थिक साझेदार हुने मुलुकमध्ये एक हो । पाकिस्तानको आन्तरिक राजनीतिक अस्थिरताकै बीच अमेरिकाले हालै पाकिस्तानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममा सहयोग गर्ने चार कम्पनीमाथि प्रतिबन्ध लगायो । यस्तै, मुस्लिमहरूको जनसंख्याको करिब ९० प्रतिशत बहुल्यता रहेको बंगलादेश भारत र आसियान बीचको जोडिने भूराजनीतिक मार्गको रूपमा महत्वपूर्ण छ । राजनीतिक अस्थिरताले जकडिएको बंगलादेशमा पछिल्लो समय चीन, भारत र अमेरिकाको संलग्नता बढ्दैछ ।

आर्थिक संकटले झण्डै टाट पल्टिएको श्रीलंका हिन्द महासागरको समुद्री मार्गमा रणनीतिक स्थानमा अवस्थित छ । बाह्य ऋण र खासगरी चीनसँगको व्यापारिक निकटताले श्रीलंकाले धेरै नै भूराजनीतिक खिचातानी झेल्नुपरेको छ । यस्तै, हिन्द महासागरमा रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा अवस्थित माल्दिभ्स स्वतन्त्र र खुला इण्डो प्यासिफिकका लागि विशेष साझेदार मुलुक हो । नेपालको हकमा भन्नुपर्दा भारतसँग सम्वन्ध चिसिएको बेला उत्तरी छिमेकी चीनको महत्वकाक्षी बीआरआई सम्झौता अघि बढेको अवस्था छ । यसरी दक्षिण एशियाली मुलुकहरु आफ्नै आन्तरिक समस्यामा फसेका बेला भूराजनीतिक प्रतिस्पर्धाले जटिलता ल्याउन सक्ने विश्लेषकहरुको बुझाइ छ । त्यसैले यी मुलुकहरुसामु विगतमा जस्तो असंलग्न परराष्ट्र नीति अँगाल्ने वा ठूला शक्ति राष्ट्रको पछि लाग्ने अवस्था आउन सक्ने उनीहरुको आँकलन गरेका छन् । भूराजनीतिक विश्लेषक बस्न्याँत भन्छन्, “विगतमा जस्तो असंलग्न परराष्ट्र नीति अगाँल्ने र बलियो हुँदै जाने वा कोसँग के लिँदा असर पर्छ भन्ने बुझ्न जरुरी छ ।” उनका अनुसार अमेरिकामा ट्रम्पले परराष्ट्र नीतिमा प्रश्न उठाएको जस्तै नेपाल र दक्षिण एशियाली मुलुक अगाडि बढ्न मौकाको सदुपयोग गर्न सके यो राम्रो अवसर हो

भूराजनीतिको दायरा देश विशेषको सम्वन्ध मात्र नभई विश्वव्यापी र क्षेत्रीय रुपमा देखा परेका प्रतिस्पर्धा, टकराव र बेमेलका थुप्रै घटनासम्म पुगिसकेका छन् । त्यसमा आर्थिक र प्रविधिको क्षेत्रमा देखिएका चर्को प्रतिस्पर्धा, सामरिक र रणनीतिक कदमहरु हुने विश्लेषकहरुको भनाइ छ । अमेरिकी डलरको विकल्पमा प्रस्तावित ब्रिक्स करेन्सी, कृत्रिम वुद्धिमता अर्थात् एआइको क्षेत्रमा चीनको नयाँ प्रविधि डिपसिकको प्रवेशले निम्त्याएका तरंगले भूराजनीतिक मामिलालाई झनै पेचिलो बनाएको उनीहरुको धारणा छ । नयाँ प्रविधिको हस्तक्षेपले निम्त्याएको भूराजनीतिक जटिलताको उदाहरण जोड्दै सेन्टर फर नेपाल एण्ड एसिया स्टडिजका निर्देशक डा. मृगेन्द्र कार्की भन्छन्, “अहिले चीनको डिपसिक एआईले अमेरिकाको मात्रै प्रविधिमा रहेको वर्चश्वलाई तथ्यगत रुपमा अन्त्य गरिदिएको छ । यता बहुध्रवमा मुलुकहरु सशक्त रुपमा देखिँदा संसारभरि धेरै देखिन थालेको छ ।” उनका अनुसार त्यसले अमेरिकी शक्तिलाई क्षीण गराउने बाटोतिर लगेको छ । “ब्रिक्स राष्ट्रको डिडलरराइजेसन चर्चा भइरहेको छ,” उनले थपे ।

विश्व व्यवस्था, भूराजनीति र शक्ति राष्ट्रको प्रतिस्पर्धामा सबैभन्दा ठूलो प्रभाव विश्व शक्ति अमेरिकाको नीतिहरुले ल्याउने छ । अघिल्लो महिनाबाट दोस्रो कार्यकाल शुरु गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौं कार्यकारी आदेश जारी गरेपछि अहिले विश्व समुदायलाई तरंगित गरिरहेको छ । विश्लेषकहरु भन्छन्– ट्रम्पले विदेश नीति लगायतमा चाल्ने थप कदमको प्रभाव अन्य क्षेत्रमा जस्तै दक्षिण एसियामा पनि पर्ने निश्चित छ ।एजेन्सीको सहयोगमा 


प्रतिक्रिया