दिल्ली विधानसभाको निर्वाचनः केजरीवाललाई धक्का, भाजपाको कमब्याक

फाल्गुन १, २०८१ | काठमाडौं
भारतको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) को सफलतासँगै आम आदमी पार्टीको पराजयले तरंग सृजना गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपा झन्डै तीन दशकपछि दिल्लीको सत्तामा फकिदै गर्दा तीन पटक सरकार चलाएको आम आदमी पार्टीले नमिठो पराजय भोगेको हो । दिल्लीको चुनावबाट भाजपाले आफ्नो प्रभाव बढ्दै गएको सन्देश दिएको छ भने अरविन्द केजरीवालको पार्टी आम आद्मीको अस्तित्व कतै संकटमा पर्ने त होइन भने प्रश्न उठेको छ ।
सत्ता कहिल्यै स्थायी हुँदैन भन्ने चरितार्थ भारतको विधानसभा निर्वाचनमा आम आदमी पार्टी (आप)को पराजयमा भएको छ । लगातार तीन कार्यकाल दिल्लीमा सरकार चलाएको आम आदमी पार्टी २२ सिटमा खुम्चिएको छ जबकी २७ वर्षपछि त्यहाँको सत्तामा फर्किने क्रममा भारतीय जनता पार्टी भाजपाले ४८ सिट जित्यो । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ । भ्रष्टाचारको मुद्दालाई प्रमुख एजेण्डा बनाएर १३ वर्षअघि झाडु चुनाव चिन्ह लिएर आएको आपले सन् २०१३ मा २८ सिट, २०१५ मा ६७ सिट र २०२० मा ६२ सिट जितेको थियो । त्यसको ठिक विपरीत सन् २०१५ मा ३ सिट र २०२० मा ८ सिट मात्र जितेको भाजपाले यसपटक झन्डै दुईतिहाई मत ल्याएको छ । केन्द्रमा प्रमुख प्रतिपक्षी दल रहेको भारतीय नेसनल कंग्रेसले एक सिट पनि जितेन ।
आम आदमीलाई लागेको धक्कासँग संस्थापक अध्यक्ष तथा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल, पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियासहित ११ शीर्षस्थ नेता पराजय पनि जोडिएको छ । केजरीवाललाई भाजपाका प्रवेश बर्माले ४ हजार ८९ मतले पराजित गरेका हुन् । प्रकाश बर्मालाई दिल्लीको मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएको छ । यस निर्वाचनमा भाजपाको मोदी ब्राण्ड भन्दा पनि पार्टीको बलियो उपस्थितिल जित हासिल गर्न सहज भएको विश्लेषण भइरहेको छ । भाजपाले जसरी शिक्षित र सफा छवि भनेर ब्राण्ड बनाएका केजरीवाल र उनको पार्टीको इमेजमाथि धक्का पु¥याएको छ । भारतका कतिपय विश्लेषकले चुनावमा भाजपाको जित भन्दा पनि केजरीवाल र आपको स्वच्छ छविको मृत्युवरणको रुपमा अथ्र्याएका छन् ।
कुनै बेला पिपुल्स मुभमेन्टबाट वैकल्पिक धारको रुपमा उदाएको आप केवल नियमित राजनीतिक दलजस्तै बनेको कतिपयले टिप्पणी गरेका छन् । द प्रिन्टले भनेको छ– “एउटा चुनावी नतिजा पछि कुनै पनि पार्टीको मृत्यु लेख्नु मूर्खतापूर्ण छ, तर भारतीय राजनीतिमा तथाकथित तेस्रो विकल्प अहिले अस्तित्वको संकटमा परिरहेको छ । दिल्ली र पञ्जाब दुवैमा आम आदमी पार्टी भित्रबाट फुट्न केही समय मात्र बाँकी छ । केजरीवाल अझै पञ्जाबमा आफ्नो नियन्त्रणमा छ भन्ने विश्वास गर्न चाहन्छन्, तर तपाईलाई थाहा नहुन पनि सक्छ । मुख्यमन्त्री भगवन्त मानको विचार फरक हुन सक्छ ।”
त्यस्तै शिक्षा स्वास्थ्यजस्ता स्थानीय एजेण्डाभन्दा पनि केजरीवालको मदिरा प्रकरण र आपले जनमतलाई हलुको ढंगले लिंदा पराजय व्यहोर्नुपरेको हो भनिएको छ । केजरीवाल र उनका सहकर्मी सिसोडियामाथि लागेको भ्रष्टाचारको दाग मेटाउन नसक्नु उनको कमजोरी बन्यो । उता, भाजपाको जितबाट उत्साहित प्रधानमन्त्री मोदीले विकास र सुशासनको विजय भएको बताएका छन् । अहिले विधानसभा निर्वाचनको नतिजालाई विभिन्न कोणबाट हेरिएको छ । दिल्लीको तीन कार्यकाल मुख्यमन्त्री पदपछि पराजय भोगेका केजरीवाल र आपको हारलाई बहुकोणबाट विश्लेषण गर्नुपर्ने बताउँछन् राजनीतिक विश्लेषण्क विष्णु दाहाल । “दिल्लीको निर्वाचन परिणामलाई तीन वटा पाटोबाट हेर्नुपर्छ । विश्वबजार विश्वअर्थतन्त्र र विश्व राजनीतिक परिवेशमा भारतको उदय, मोदीको नेतृत्व र मोदीको नेतृत्वको भाजपा र त्यसको विश्वव्यापी लोकप्रियतालाई हेर्नुपर्छ,” उनले भने, “मोदीको नेतृत्वले भारत झन् शक्तिशाली बन्दै गएको परिस्थितिमा परिणाम हेर्दा दिल्लीको मत पनि एकपटक भाजपालाई दिई हेरौँ भनेर दिइएको त्यसको एकीकृत कारण हो भन्ने लाग्छ ।”
त्यसो त दिल्लीलाई शक्तिशाली बनाउन, भारतलाई थप उचाइमा पु¥याउन केजरीवाल वैकल्पिक धार भएपनि राष्ट्रिय रुपमा त्यो शक्तिशाली शक्ति थिएन । भाजपाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा लोकप्रियता अघि बढाएकोले दिल्लीका जनताले भाजपालाई मत दिएको हुन सक्ने आँकलन समेत गरिएको छ । चुनावी परिणामले नेता र पार्टीलाई आन्तरिक राजनीतिमा मात्र केन्द्रित गर्नुहुन्न भन्ने सन्देश दिएको विश्लेषक दाहालले बताए । उनले भने, “समयको माग र विश्व राजनीतिक परिवेशभित्र आफ्नो उपस्थितिलाई कसले बलियो बनाउँछ ? राष्ट्र र अर्थतन्त्र कसले उचाइमा पु¥याउँछ ? जनताले त्यसैको आधारमा जनमत दिए ।”
दिल्लीको सत्तामा भाजपाको पुनरागमनलाई उसले उठाउँदै आएको हिन्दूत्व एजेन्डाको प्रभाव समेत हो भनेका छन् । केजरीवालको हार र भाजपाको जितले कहिँ न कहिँ उसको हिन्दुत्वको एजेण्डा लगायत पक्षलाई परिभाषित गरेको बताउँछन् सेन्टर फर नेपाल एण्ड एसिया स्टडिजका कार्यकारी निर्देशक मृगेन्द्र कार्की । उनका अनुसार भाजपाले जित्नु भनेको कहिँ न कहिँ भारत शक्तिशाली बन्नु पनि हो । भन्छन्, “किनकि यसले भारतको आफ्नो मौलिक सभ्यता, संस्कृति अनुकूलको परिभाषा प्रजातन्त्र तथा वैदेशिक नीतिलाई गर्न खोजेको देखिन्छ ।”
भारतको संघीय राजधानी समेत रहेको दिल्लीमा भाजपा जितले फगत आन्तरिक राजनीतिमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा आफ्नो उपस्थिति बलियो बनाउने मौका दिन सक्छ । त्यसबाहेक दिल्लीको प्रदूषण, यमुना नदीको सफाइ, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा लगानीलाई भाजपाले कति महत्व दिनेछ, त्यसले आन्तरिक राजनीतिलाई प्रभावित पार्नेछ । उता, तीन काल मुख्यमन्त्री बनेकी कंग्रेस नेतृ शिला दीक्षितलाई सन् २०१३ मा हराएर राजनीतिक करिअरको नयाँ उचाइमा पुगेका केजरीवालको राजनीतिक भविष्य चाहि के होला भन्ने चासो प्रकट भएका छन् ।