ओली र दाहालबीच सत्ता स्वार्थमा मिलन, नत्र सत्तोसराप

फाल्गुन ४, २०८१ | काठमाडौं

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल पछिल्लो समय एकअर्कोविरुद्ध आलोचनामा उत्रिंदै आएका छन् । केही महिना अघिसम्म सत्ता साझेदारी गर्दै एक अर्काको बखान गर्ने ओली र दाहालबीच सत्ता गठबन्धन फेरिएपछि आरोप प्रत्यारोपको शृंखला चलेको पाइन्छ । 

संसदको रोष्टमदेखि पार्टीका सार्वजनिक कार्यक्रममा यी दुुई नेताले एक अर्कामाथि गरेको आलोचना हेर्दा तत्काल उनीहरुबीच कुुनै सहकार्य नहुने संकेत गर्दछ । आखिर कुनै बेला कुम जोडेर एउटै पार्टी बनाएका ओली र दाहाल किन आपसमा भिडिरहेका छन् ?

प्रायजसो : राजनीतिक दलका नेताहरुले सत्ताको गठबन्धनमा रहँदा भाइचाराको सम्बन्ध र फरक कित्तामा हुँदा आरोप–प्रत्यारोपमा उत्रिने शैली अपनाउने गरेको पाइन्छ । मुुलुकको संसदीय राजनीतिमा नेताहरुका यी शैलीका थुप्रै दृष्टान्तहरु सतहमा छन् । त्यसैको एक कडी हुन्, प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ।

सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र प्रतिपक्षी कित्तामा उभिएका माओवादी केन्द्रका अध्यक्ष दाहालबीचको वाकयुुद्ध बाँक्लिदैछ । संसदकै ठूलो दल नेपाली काँग्रेससँग ७ महिनाअघि सत्ता साझेदारी गरि प्रधानमन्त्री बनेका ओलीले दाहाललक्षित एक अभिव्यक्ति हालै संसदको रोष्ट्रममा उभिएर दिए । 

अघिल्लो निर्वाचनपछिको १५ महिनाबीचमा मुलुकमा तीन पटक सत्ता गठबन्धन हेरफेरका परिदृश्यका सन्र्दभमा प्रधानमन्त्रीले ओलीले भनेका थिए, ‘सम्माननीय सभामुख महोदय, गएको ६ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्‍याउनु नपरेको एउटा सुखद पक्ष म यहाँ उल्लेख गर्न चाहान्छु । सत्ताको नाउमा प्वाँल पारेर फुत्त अर्कै डुङ्गा चलाउने र मुलुक एवं जनतालाई तिस्कार गर्दै सत्ता पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ । संसद समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौं ।’

ओलीमाथि दाहालले पनि काउन्टर दिन भने छाडेका छैनन् । सार्वजनिक मञ्च होस् या सडकदेखि संसदमा दाहालले ओलीको बोली र व्यवहारप्रति रोष प्रकट गर्ने गरेका छन् । गत असार १७ गते काँग्रेससँग ७ बुँदे सहमति गरेर आफूूलाई धोका दिएको दाहालको आरोप छ । माओवादी नेतृत्वको सरकार छाडेर काँग्रेससँग गरिएको सत्ता साझेदारीलाई अप्राकृतिक र असंवैधानिक भन्दै आएका दाहालले प्रधानमन्त्री ओलीबाट मुुलुुक बन्नै नसक्ने दाबी गर्छन् । ‘उहाँ हस्ताक्षर गरेर आएर गरेकै छैन । पत्रिकामा छापिसकियो, कहिले पो कसले छाप्यो झुटो फोटो भन्न सक्ने भनेपछि यस्ता जाली, झेली यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ? अध्यक्ष दाहालले भने,‘देशका लागि यो भन्दा दुर्भाग्य के हुन्छ ?’

माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो सरकारको पालामा राम्रो मात्र काम भएको बखान गर्दै सुशासनको मामिलामा प्रधानमन्त्री ओलीप्रति आक्रामक धारणा राख्दै आएका छन् । एमालेसँगको सत्ता साझेदारी टुुटेपछि उनले नेक्रविक्रम चन्द नेतृत्वको नेकपा र एकीकृत समाजवादी सहितको मोर्चालाई अघि बढाउँदै सरकारमाथि दबाब दिन खोजेको देखिन्छ । 

मोर्चा एवं पार्टीमार्फत सरकारविरुद्ध खबरदारी गर्दै आएका माओवादी केन्द्र अध्यक्ष दाहाल भन्छन्,‘ यो सरकार आफैंमा अप्राकृतिक छ, अलोकतान्त्रिक छ र यो गलत उद्देश्यले बनेको छ । गएको ६ महिनामा उसले गरेका क्रियाकलापले देखाएको पनि छ । त्यसकारण मैले भन्न के चाहेको छु भने अब मोर्चा देशको राजनीतिको विकल्पका रुपमा आउनै पर्ने भएको छ । 

संसदमा भएका पहिलो र दोस्रो पार्टी उनीहरुले भनेकै मान्यता अनुसार होइन उनीहरुले भन्दै आएको र जनतालाई दिने सन्देशको विपरीत छ,’ दाहालले भने, ‘त्यसैले दुर्घटनाको खतरा त्यही अन्ततनीहित छ । संविधान संसोधन जे विषयमा भनिएको छ, दुर्घटनाको खतरा त्यही भित्र छ । त्यो संविधान संसोधन यो देशका मजदुर, किसान, उत्पीडत वर्ग समूदायको हक अधिकार बढाउनका लागि होइन, त्यो खोस्नका लागि उनीहरुले कुरा गरिरहेकै छन् , त्यसका लागि पनि यो समाजवादी मोर्चाले एउटा नयाँ विकल्प दिने ढंगले अगाडी नजाने हो भने खतरा छ ।’

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच गठबन्धन सरकारको भविष्यलाई लिएर समेत आरोप–प्रत्यारोप चल्न थालेको निकै भइसकेको छ । ओलीले आफूू नेतृत्वको सरकार २०८४ सम्म टिक्ने दावी गरिरहँदा दाहाल भने यो सरकारको यात्रा लामो छैन भनिरहेका छन् । कम्युुनिष्ट नेताले एक अर्काको आलोचना गर्दा कतिपय शब्द र भाषा अशिष्ट भएको भन्दै विगतमा निकै आलोचना भएको थियो । स्वार्थ मिल्दा सत्ता साझेदारी मात्र नभई एकल निर्णयमै पार्टी एकता गरेका ओली र दाहालले अब भने मिल्ने सम्भावना नभएको बताउने गरेका छन् र एक अर्काविरुद्ध आलोचनामा व्यस्त भएका हुन् । 

समाजवादी मोर्चामार्फत् दाहालले बढाउन खोजेको दवावप्रति प्रधानमन्त्री ओलीले दश/ बाहृ वटा स्याल जम्मा भएर हात्तीको शिकार खेल्छु भनेर कुदेको देख्दा अचम्म लागेको बताए । ओलीले भने, ‘मोर्चा पनि काँग्रेस र एमालेजस्तो गरिखाने खालको बनाउनु नी बनाएपछि । हात्तीको शिकार खेल्छु भनेर दश/ बाह्र वटा स्याल जम्मा भएर वरिपरि परपर कुदियाँछ मोर्चा भनेर ।’

पछिल्ला समय ओली र दाहाल सत्ता र प्रतिपक्षी भूमिकामा रहनुले पनि एकअर्कोविरुद्ध राजनीतिक प्रतिशोध बढेको बुझाइ कतिपय एमाले र माओवादी नेताहरुको छ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य कम्युनिष्ट सिद्धान्त अनुसारकै नेताहरुमा व्यवहार फरक हुनु तथा एकअर्कोलाई स्वीकार्ने संस्कृति विकास हुन नसक्नुले पनि आरोप–प्रत्यारोप हुने गरेको बताउँछिन् ।

‘यो संसदीय राजनीतिमा सत्तापक्षले गरेका कामलाई प्रतिपक्षले सुझाव दिने हो । राम्रो कामका लागि सुझाव दिने हो । मैले त बारम्बार भन्दै आएको छु, सत्तापक्षले प्रतिपक्षका सकरात्मक कुरा सुन्ने र आलोचना भए सच्याउने । यो संस्कार विकास गर्न सकिएको छैन,’ शाक्यले भनिन्,‘तर यो समस्या सबै दलहरुमा देखिएको हो । ’

यता, माओवादी केन्द्रका कतिपय नेताहरु प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको व्यवहारका कारण आपसी विवाद बढेकोे बताउँछन् । अस्थिर राजनीतिक गठबन्धनका कारणले पनि नेताहरुबीच दोषारोपण गर्ने थीति बसेको उनीहरु तर्क गर्छन् । माओवादी केन्द्रका स्थायी समिति सदस्य अञ्जना विशंखे नेताहरु आरोप–प्रत्यारोपमा उत्रिनु विगतमा गरेका गल्तीहरुको पराकाष्ठा भएको बताउँछिन् ।

२०७४ मा चुनावी एकता गर्दै अन्ततः एमाले र माओवादी मिलाएर नेकपा बनाएका ओली र दाहालबीचको आन्तरिक झगडाले पार्टी विभाजित भयो । त्यसपछि दाहालले कंग्रेससँग मिलेर २०७९ को चुनावी गठबन्धन बनाएर पार्टीलाई तेस्रो स्थानमा यथावत् राखे भने एमाले दोस्रो स्थानमा रह्यो । 

२०७९ चुनावपछि नयाँ सरकारको नेतृत्वबारे कंग्रेससँग सहमति नभएको अवस्थामा दाहाललाई प्रधानमन्त्री बनाउन ओलीले गठबन्धन निर्माण गरेका थिए । तर, राष्ट्रपति निर्वाचनको मौकामा माओवादी केन्द्र र नेपाली कंग्रेसबीच सत्ता साझेदारी भएपछि एमाले प्रतिपक्षमा धकेलियो र, दुुई नेताबीचको टकराव केही महिनासम्म चल्यो । तर, कंग्रेससँग सत्ता साझेदारीमा खटपट भएको भन्दै दाहालले एमालेसँग मिलेर अर्को गठबन्धन बनाउँदा उनी र ओली एकै ठाउँमा उभिए । तर त्यो पनि लामो समय टिकेन, गत असारमा दाहालको सरकारलाई विस्थापित गर्दै काँग्रेसको समर्थनमा ओली प्रधानमन्त्री भए । यसरी मौका पर्दा र सत्ताका लागि छिनभरमै मिल्ने नेताहरु अहिले फरक कित्तामा उभिँदा भने आपसी आरोप र आलोचनामा व्यस्त भएका छन् । 

सत्ता राजनीतिको चक्रमा काँग्रेस र एमालेबीच गत असारमा सत्ता साझेदारी बनेपछि ओली र दाहालबीचको वाकयुद्ध पुन; सुरु भएको हो । सत्ता वा पार्टीको नेतृत्वमा पुग्ने होडबाजीका कारण कम्युनिष्ट नेताहरुबीच सौहार्द सम्वन्ध विकास नभएकोे कतिपय विश्लेषकहरुको ठम्याई छ । सार्वजनिक खपतका लागि आपसी टकराव सृजना गर्ने नेताहरुको कार्यशैली आलोचित बन्दै गएको छ । 

विश्लेषक पिताम्बर भण्डारी भन्छन्,‘पहिला नेकपा एमालेमा भएका कतिपय नेता एकीकृत समाजवादीमा रहेको र कतिपय नेकपा माओवादीका नेताहरु एमालेमा भएकोले महत्वपूर्ण अनुहारहरु र राजनीतिक योगदान भएका नेतृत्वहरु कही न कही सबै दलमा संयोजनकारी भूमिकामा भोलि फेरि फर्किन सक्ने वातावरण हुँदा ती व्यक्तित्वसँगको दूरी वा नजिक कोसँग बनाउने भन्ने अभ्यासले दीर्घकालीन रुपमा प्रभाव पार्छ नै । त्यसैले यो तात्कालीन मात्रै र मिडिया खपतका लागि मात्रै जस्तो देखिँदैन ।’

समकालिन नेपाली राजनीतिका दुुई पात्र ओली र दाहालबीचको जुंगा लडाइँ सत्ताका लागि हो वा दीर्घकालिन टकरावको संकेत हो यसै, भन्न सकिने अवस्था छैन । विगतमा पनि निकै शत्रुता भएको स्थितिमा आपसी एकता गरेर अघि बढेका ओली र दाहालको सम्बन्धले राष्ट्रिय राजनीतिलाई भने केही हदसम्म प्रभावित पार्ने सम्भावना अझै कायमै छ । तर उनीहरुले ख्याल गर्नुूपर्ने एउटा पक्ष भनेको चाहि सत्ताको हानाथापमा एक अर्कालाई खुुइल्याउने प्रवृत्तिले ओली र दाहाल स्वयम्लाई त फाइदा गर्दैन नै, राजनीति र नेताप्रतिको आम नागरिकको बुुझाइ थप नकारात्मक बन्ने निश्चित छ ।


प्रतिक्रिया