जलनका घाइते बढ्दै, पर्याप्त अस्पताल र स्रोत साधन नहुँदा उपचारमा समस्या

फाल्गुन १५, २०८१ | काठमाडौं
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्रधिकरण अन्तर्गतको विपद् पोर्टलका अनुसार पछिल्लो एक वर्षको अवधिमा आगलागीजन्य घटनामा परि देशभर ९२ जानको मृत्यु भएको छ । आगलागी जन्य घटना पश्चात उपचार हुने अस्पताल भने देशभर जम्मा आठवटा मात्र जुन सबै नागरिकको पहुँचमा पुुग्न सकेको छैन । जसले कैयौं व्यक्तिले अकालमानै ज्यान गुमाउने गरेका छन् । जलनबाट हुने उपचारका लागि काठमाडौंनै धाउनुपर्ने बाध्यता छ भने त्यसमा पनि सबैको पहुँच पुग्न सकेको छैन । घटना भएपछि हरेक पटक चर्चा हुने तर कार्यान्वयनको पाटोतर्फ सरोकारवाला निकायको ध्यान पुग्न नसकेको सो क्षेत्रका सम्बद्ध अधिकारीहरुले बताएका छन् ।
पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा केहीदिन अघि अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगर पालिका प्रमखु धनराज आचार्य जनलबाट घाईते भएसँगै जलनको विषय चर्चामा आएको छ । बेलुन उडाउने क्रममा घाईते भएका उनीहरु दुवैजना अहिले भने उपचार पछि डिस्चार्ज भइसकेका छन् । तर, सडनदेखि सदनसम्म भने पर्याप्त मात्रामा जलन सम्बन्धी अस्पतालहरु सञ्चालनमा आउन नसकेको तथा आम सर्वसधारणले सहज रुपमा उपचार सेवा पाउन नसकेको भन्दै असन्तुष्टि समेत सार्वजनिक हुँदै आएको छ । फागुन ३ गते सो घटना भएसँगै घाईतेद्वय पौडेल र आचार्यलाई कीर्तिपुर अस्पतालमा राखेर उपचार गरिएको थियो । हुन त जलनको घटना यसअघि पनि हुने गरेका थिए । दुई वर्षअघि खाना पकाउने क्रममा नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारी गम्भीर घाईते भएका थिए । त्यसयता उनले विभिन्न समयमा जलनबारे आफ्नो धारणा राख्दै आएका छन् । गत फागुन ४ गतेको संसद् बैठकमा आकास्मीक समय लिँदै भण्डारीले जलनको क्षेत्रमा प्रधानमन्त्रीसम्मले चासो नदेखाएको गुनासो गर्दै भनेका थिए, ‘जलन हुने शिघ्र स्वास्थ्य लाभको कामना गर्ने, श्रद्धञ्जली व्यक्त गर्ने, यो हाम्रो निरन्तर भयो, धेरैपटक प्रधानमन्त्रीज्यूहरु मन्त्रीजीहरु सबैसित यसको बारेमा लामो छलफल भयो, तर कसैले पनि यसको बारेमा गम्भिरयतापूर्वक लिएन । बजेट भाषणमा राख्यो बजेट छुट्याएन, यसमा धैरैचोटी कुरा गर्दा पनि गम्भियता आएन । ’
जलको सघन उपचार सेवा विस्तार गर्ने सम्बन्धी कार्यविधि २०८१ अनुसार हाल नेपालमा सुनसरीको धरानस्थित बि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल वीरगञ्ज, बीर अस्पताल काठमाडौं, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल नेपालगञ्ज, प्रदेशीक अस्पताल सुर्खेत, सेती प्रदेशीक अस्पताल धनगढी र कीर्तिपुर अस्पताल कीर्तिपुरमा जलनको उपचार हुँदै आएको छ । यीनै विभिन्न आठ अस्पतालमा सघन उपचार सेवा विस्तार गर्न सकिने गरि कर्यविधिमा व्यवस्था मिलाइएको छ । जलको सघन उपचार सेवा विस्तार गर्ने सम्बन्धी कार्यविधि २०८१ मा बागमती प्रदेशमा मात्र जलनको सघन उपचारको व्यवस्था रहेको उल्लेख छ । जलनको उपचार विधि प्रक्रिया जटिल हुने भए पनि दक्ष जनशक्तिको भने अवाश्यकता देखिएको चिकित्सकहरु बताउँछन् । कीर्तिपुर अस्पतालका प्लाष्टिक सर्जन डा.शंकरमान राईले भने, ‘यसको लागि यसैको स्पेशलिस्ट चाहिन्छ, जलनकै अपरेसन गर्ने डाक्टरहरु, नर्सिङ चाहिन्छ । प्लाष्टिक सर्जन मत्रै भएर पनि यसलाई उपचार गर्न गार्हो छ । यसको स्पेशल ट्रनीङ चाहिन्छ । बर्नका लागि फेरि छुट्टै तालिम चाहिन्छ । बच्चाको जनल भएको स्पेशलिस्टहरु चाँही हुन्छ त्यो टीमले वयस्क बर्न भएको बिरामीको उपचार गर्न गार्हो छ ।’
कीर्तिपुरस्थित बर्न अस्पतालमा मात्रै यसवर्ष ७ सय भन्दा बढी जलनका बिरामी उपचारका लागि पुगेको अस्पताल प्रशासनको तथ्याङ्क छ । मुलुकका अन्य अस्पतालमा उपचार नहुँदा जलनका बिरामी कीर्तिपुर अस्पताल आउनु पर्ने बाध्यात्मक परिस्थिती समेत बनेको छ । यता जलको सघन उपचार सेवा विस्तार गर्ने सम्बन्धी कार्यविधि २०८१ ले भने हरेक प्रदेशमा कम्तिमा एउटा सघन उपचार गर्न सक्ने अस्पतालको व्यवस्था गरिएको कल्पना गरेको छ । गत कार्तिक २ गते बसेको मन्त्रीपरिषद्को बैठकले समेत जलनका घाईतेको निःशुल्क उपचार गर्ने निर्णण गरिसकेको छ । यस्तो अवस्थामा घोषणा गर्दैमा काम हुन्छ भन्नेमा भने चिकित्सकहरुलै ढुक्क देखिँदैनन् । अझैपनि काठमाडौं बाहिरका अस्पतालहरुमा जलनका उपचारका लागी समस्या छ । उपचार सेवा सुरु गर्ने घोषणा गर्दैमा काम नहुने काठमाडौंको वीर अस्पतालका प्लाष्टिक सर्जन, डा. पियुष दाहाल बताउँछन् । ‘घोषणा गर्नु र काम गर्नुमा फरक हुन्छ, घोषणा गर्ने, समाचारमा आउने, पत्रपत्रिकामा आउने हिसाबले काम गर्यो भने हुँदैन ।’ उनले भने, ‘सरकारले जलनसम्बन्धी कार्यविधि बनायो, नेपाल सरकारको जलनसम्बन्धी काम गर्ने कुन व्यक्तिलाई बोलाएर त्यो कार्यविधिमा संलग्न गरायो ?’
जलका घट्ना बढ्दो क्रममा रहेपनि पर्याप्त अस्पताल छैन भने भएका अस्पतालमा समेत आवश्यक संख्यामा शैयााको व्यवस्था हुन नसकेको गुनासो हुने गरेको छ । त्यस्तै जलनबाट प्रभावितको उपचार खर्च निकै महङ्गो हुने भएकाले सर्वसधारण नागरिकले अकालमानै ज्यान गुुमाउने गरेका छन् । अस्पतालमा लामो समयसम्म बसेर उपचार गराउँदा खर्च बढि हुने गरेको चिकित्सकहरु बताउँछन् । कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुुुसार विशेषगरि चिसो समयमा जलनका बिरामी अस्पतालमा आउँदा व्यवस्थापनमा समेत कठिनाई हुने गरेको छ । ‘जलनको बिरामीहरु अस्पताल लामो समय बस्नुपर्छ, अप्रेसन धेरैचोटी गर्नुपर्छ, घाउ ठूलो हुन्छ, नयाँ टेक्नोलोजिको प्रयोग गर्ने हो भने त्यो झनै महङ्गो छ ।’ उनले भने, ‘धेरै बिरामीहरु जाडो महिनामा आउनुहुन्छ , त्यो अनुसार फ्यासीलिटी दिन सक्दैनौं, अहिले हामीसँग १३ वटा शैया छ त्यो पनि अपुग हुन्छ । बिरामीहरु छुट्टाछुट्टै राखेर उपचार गनुपर्ने हुन्छ । अहिलेको संरचनामा त्यो अलि गार्हो छ हामीलाई । ’
विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार प्रत्येक वर्ष झण्डै १ लाख ८० हजार जनाको जलबाट मृत्यु हुने गरेको छ । त्यसमा पनि ठूलो संख्या भने निम्न र मध्यम आय भएका देशहरु रहेको तथ्याङ्क छ । संगठनका अनुसार भारतमा हरेक वर्ष १० लाखभन्दा बढी मानिस सामान्य वा गम्भीर रुपमा जलनबाट प्रभावित हुने गरेका छन् । यस्तै बंगलादेशमा १ लाख ७३ हजार जलनबाट प्रभावित हुँदै आएका छन् । डब्लुएचओका अनुसार बंगलादेश, कोलम्बिया, इजिप्ट र पाकिस्तानमा जलेका १७ प्रतिशत बालबालिकामा अस्थायी अपाङ्गता र १८ स्थायी अपाङ्गता भएकाहरु छन् । २० प्रतिशतभन्दा कम जलेका बिरामीलाई सामान्य, त्यसभन्दा बढी जलेको बिरामीलाई नाजुक अवस्था मानिन्छ । स्रोतसाधन उपलब्ध भए र समयमै अस्पतालमा पुगे ९५ प्रतिशतसम्म जलेको बिरामीलाई पनि निको पार्न सकिने चिकित्सकहरु बताउँछन् ।