दुई राप्रपा र दुर्गा प्रसाईको होडबाजी

चैत्र १, २०८१ | काठमाडौं

राजतन्त्र पक्षधर दल र समूहबीच पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा गत आइतवार गरिएको प्रदर्शनको जस लिने होडबाजी देखिन थालेको छ । काठमाडौंको प्रदर्शनबाट उत्साहित भएका ती दल र समूहले आगामी कार्यक्रम टुंगो लगाएका छैनन् तर उनीहरुले राजतन्त्रको पक्षमा आफ्नो कारणले सहभागिता बढि भएको दावी गरेका छन् ।

राप्रपा र राप्रपा नेपालको पछिल्लो वक्तव्य र मेडिकल व्यवसायी दुर्गा प्रसाईको अभिव्यक्ति हेर्दा उनीहरु एक ठाउँमा उभिने संकेत देखिदैन । त्यति मात्र होइन, ती दलका आन्तरिक विवाद र आपसी मतभेदले उनीहरुको भावी कदमलाई प्रभावित गर्न सक्ने ठानिएको छ ।

धार्मिक भ्रमण सकेर पोखराबाट काठमाडौं फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आ–आफ्नो तर्फबाट सहभागिताको आव्हान गरेका दल र समूहको भावी रणनीतिमा एकरुपता देखिएको छैन । 

संसदमा १४ सिट भएको राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले जनताको चाहना अनुसार भन्दै नवीन समझदारीका लागि अन्य दललाई आग्रह मात्र गरेको छैन, आगामी आन्दोलनका कार्यक्रम तय गर्न चैत ३ गते केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

पार्टीको भावी रणनीतिबारे जानकारी दिदै राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने, ‘अबको दिनमा हामीले आन्दोलनमै जाने रणनीति लिएका छौं । पार्टीको केन्द्रीय सम्पादन समितिको बैठकबाट आगामी कार्ययोजना तयार पार्नेछौं ।’

राजतन्त्रको पक्षमा जनमत बढेको दावी गर्दै उत्साहित भएपनि राप्रपाभित्र आन्तरिक विवादका केही मुद्धा अझै सुल्झन नसकेको कतिपय नेताहरुको भनाइ छ । पार्टीका शीर्ष नेतालाई दिइएको जिम्मेवारी र अध्यक्ष राजेन्द्र लिङदेनको कार्यशैली लगायतमा मतभेद रहेको बताइन्छ । महामन्त्री धवलशमशेर राणा, वरिष्ठ नेताहरु पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पक्षका नेताहरुले अध्यक्ष लिङदेनले पार्टीका पुराना नेतालाई भन्दा उपाध्यक्ष रविन्द्र मिश्र सहितका नेतालाई बढी महत्व दिएको गुनासो राप्रपाभित्र पाइन्छ ।

 एक नेताका अनुसार, आगामी महाधिवेशनबाट हुने नेतृत्व चयनको रस्साकस्सीका कारण शीर्ष नेताबीच मतभेद रहेको बुझ्न कठिन छैन । यता, महाधिवेशनमा लिङदेनसँग अध्यक्षमा पराजित भएपछि रुष्ट हुँदै अर्को पार्टी खोलेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको सार्वजनिक अभिव्यक्तिलाई समेत राजावादी शक्तिहरु एक ठाउँमा उभिने सम्भावना नरहेको अर्थमा हेरिएको छ । महाधिवेशनमा आफू पराजित हुनुको दोष पूर्व राजा र दरवारलाई दिएका थापाले अहिले माहोल फेरिएपछि मात्र रणनीति बदलेको आरोप लाग्दै आएका छन् ।

 यही अवस्थामा राप्रपा नेपालको पछिल्लो वक्तव्यमा भनिएको छ–“अब केही समयका लागि एक्लाएक्लै आन्दोलन गर्ने मनस्थिति परित्याग गर्न समेत हामी अनुरोध गर्दछौं ।” थापा नेतृत्वको राप्रपा नेपालले मिलेर जान आग्रह गरेपनि राप्रपाले गम्भिरताका साथ लिएको देखिदैन । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला राजावादी दलहरुबीचको एकता अपरिहार्य भएको बताउँछन् ।

‘अहिले अब एक्लाएक्लै आन्दोलनमार्फत यसलाई निश्कर्षमा पु¥याउन नसक्ने भएकाले अब एउटा निर्णायक आन्दोलनको परिस्थिति तयार गर्नका लागि वृहत राष्ट्रव्यापी प्रजातान्त्रिक मोर्चाको आवश्यकता खड्किएको छ, महामन्त्री बर्तौलाले भने, ‘त्यसको आवश्यकता पुरा गर्नका लागि पहलकदमी लिनुपर्छ भनेर हामीले निर्णय गरेका छौं । त्यो अनुसार हामीले गृहकार्य गरेका हौं ।’

पार्टी महाधिवेशनअघिको एक भेटमा पूर्व राजा शाहले आफूलाई अध्यक्ष लड्न सुझाव दिएपनि पछि लिङदेनको पक्षमा मत मागेको र आफूलाई धोका दिएको भन्दै कमल थापा रुष्ट भएका थिए । राप्रपाका कतिपय नेताहरुका अनुसार, महाधिवेशनबाट लिङदेन राप्रपा अध्यक्षमा निर्वाचित भएपछि पूर्व युवराज्ञी हिमानी शाहको नाममा सञ्चालित सामाजिक सञ्जालमा गरिएको टीप्पणीबाट समेत थापा पूर्वराजपरिवारसँग बिच्किएका हुन् । यसरी फरक कित्तामा पुगेका थापा र राप्रपा अध्यक्ष लिङदेनबीचको टकरावले राजतन्त्र पुर्नस्थापनाको एजेन्डा कमजोर भएको ठान्नेहरु दुवै पार्टीभित्र छन् । 

त्यति मात्र होइन, मेडिकल व्यवसायी दुर्गा प्रसाई समेत राजा फर्काउने भन्दै सञ्चालित अभियानमा जोडिनुलाई स्वभाविक रुपमा नलिने नेताहरु पनि दुवै दलमा छन् । राजतन्त्र पक्षधरको आन्दोलन र कार्यक्रममा व्यवसायी प्रसाई हावी हुने खोजेको र उनको पछाडी लाग्न नहुने उनीहरुको धारणा पाइन्छ । 

यही अवस्थामा मेडिकल व्यवसायी प्रसाईले फागुन २५ गते काठमाडौंको प्रदर्शनको जस आफूले मात्र लिने प्रयास गरेका छन् । मंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रसाईले माहोल फेरिएपछि मात्र थापा र लिङदेन आन्दोलन आएको टिप्पणी गरे । ‘हिजो यो स्थिति ल्याएको कसले हो ?यसको सबैभन्दा बढि दोष राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जान्छ । 

त्यतिबेला राप्रपा भन्ने पार्टी र राप्रपाका अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेको थिएनन् भने न राजसंस्था जान्थ्यो न हिन्दुअधिराज्य, प्रसाईंले भने, ‘खोलामा बगाएर समुन्द्रमा लगरे तिलाञ्जली दिने राजसंस्था र हिन्दुराज्यलाई अनि अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्नलाई अहिले के भइरहेको छ भने हामीले गर्दा भएको हो भनेर चैत्र १ गतेबाट आन्दोलन सुरु गरिहालौं । दुर्गा प्रसाईं आउनुप¥यो, हामीसंग मिल्नुप¥यो । उहाँहरुले के सोच्नुभएको छ भने म त गोठालों हु ।’

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाको अभिव्यक्ति हुँदै फागुन २५ सम्मको घटनाक्रमले राष्ट्रिय राजनीति तरंगित छ । गणतन्त्रवादी नेताहरुले पूर्व राजा र उनका समर्थकको गतिविधिले गणतन्त्र उल्टाउन सक्ने सामथ्र्य नभएको बताइरहेका छन् । 

तर जनताको बलमा निर्वाचित संविधानसभा हुँदै स्थापित गणतन्त्रमाथि धावा बोलेर राजतन्त्र फर्काउने सपना देखेका दल र समूहबीच भने एक–अर्काबीच अविश्वास र असमझदारी हट्न सकेको छैन । त्यसैले कतिपयको बुझाइमा राजावादी शक्तिहरुले जनताको निराशा र आक्रोशलाई क्यास गर्ने र आफूलाई मात्र शुद्ध राजतन्त्रवादी देखाउने चेष्टा मात्र गरिरहेका छन् । 


प्रतिक्रिया