संसदीय समितिमा आरोप–प्रत्यारोप बढ्दै, संसदको गरिमामाथि प्रश्न उठाउने जोखिम

जेष्ठ १२, २०८२ | काठमाडौं

मिनि संसद्का रुपमा चिनिने संसदीय समितिमा पछिल्लो समय नियमित जसो विवाद र आरोप प्रत्यारोपका घटनाले बढावा पाएका छन् । समितिमा सांसदहरुबीच एक–अर्काविरुद्ध अप्रमाणित विषय उठाएर आरोप लगाउने तथा बाझाबाझ गर्ने प्रतिस्पर्धा नै चलेको छ । जनताका प्रतिनिधि सांसदहरु नै पदीय जिम्मेवारी र मर्यादा भुलेर समितिमा प्रस्तुत हुँदा संसदीय समितिको गरिमामा समेत आँच आउने जोखिम बढाएको टिप्पणी हुन थालेका छन् ।

गत वुधबार बसेको लेखा समितिको बैठकमा कांग्रेस, एमाले र माओवादी केन्द्रका सासंसदहरुबीच विभिन्न विषयलाई लिएर भएको घोचपेचलाई पछिल्लो सयमा संसदीय समितिमा बढ्दै गएको वेथितिको रुपमा हेरिएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भएको विषयबारे अध्ययनका लागि बनाइएको उपसमितिमा कांग्रेस सांसद मञ्जु खाँणलाई संयोजक तोकेको भन्दै रास्वपाका सांसद्ले आपत्ति जनाएपछि आरोप–प्रत्यारोप भएको थियो ।

स्वार्थ बाझिने भन्दै भैरहवा विमानस्थलको अध्ययन गर्न बनेको उपसमितिको संयोजकबाट एमालेका सासंद योगेश भट्टराई बाहिरिएपछि कांग्रेस सांसद खाँणलाई संयोजक तोकिएको थियो । सोहीदिन बसेको महिला समितिको बैठकमा पनि सांसदहरुबीच माइक हानाहान भएको विषय सार्वजनिक भएको छ । यसअघि यहि ५ गते बसको कृषि समितिको बैठकमा रास्वपाकी सासंद विनिता कठायतले सभापति कुसुमदेवी थापाले आफूलाई मन परेका व्यक्ति छानेको आरोप लगाएपछि समितिमा चर्काचर्कीसमेत भएको थियो ।

गत विहिबार बसेको सार्वजनिक लेखा समिति बैठकमा पनि सभापति ऋषिकेश पोखरेल र सदस्य अमनलाल मोदीबीचे भनाभनको स्थिति बनेको थियो । सभापति पोखरेलले सदस्य मोदीलाई बोल्न नदिएको भन्दै भनाभन भएको हो । भनाभन बढ्दै गएपछि सभापति पोखरेलले माओवादी सासंद् मोदीले युट्युब बोलाएर चर्को बोलेको आरोप लगाए ।

गत पुस २५ गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाल मजदुर किसान पार्टीका सासंद् प्रेम सुवाल र समिति सभापति राजकिशोर यादवबीच पनि चर्को विवाद भएको थियो । समिति सभापतिले बोल्न पर्याप्त समय नदिएको भन्दै सुवालले असन्तुष्टि जनाएका थिए । समिति सभापति तानाशाही सुवालको आरोप छ ।

संसदीय समितिमा विशेषगरि सभापतिमाथि सदस्यहरुले पर्याप्त समय नदिएको तथा दलगत व्यवहार गर्ने गरेको जस्ता आरोपहरु लगाउने गरेका छन् । तर, कतिपय समिति सभापतिहरु भने समितिमा रहेका सदस्यहरुले गर्ने व्यवहार अस्वाभाविक भएको बताउँछन् । नागरिक स्तरमा देखाउन सक्ने गरि काम गर्न नसकेपछि समिति बैठकमा लोकप्रियताकालागि अनवश्यक रुपमा विषय राख्दा विवाद बढेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादव बताउँछन् ।

संसदीय समितिलाई संसदलाई चलायमान बनाउने, सार्वभौमिताको प्रयोग गर्ने वैधानिक एवं विशिष्टीकृत संसदीय अंगको रुपमा समेत लिने गरिन्छ । संविधान र कानून बमोजिम संसदीय समितिहरुले आ–आफ्ना कार्य सम्पादन गर्दै आएका छन् । तर, कतिपय अवस्थामा समितिमा विवाद हुँदा सांसद्को आचरणलाई लिएर समेत प्रश्न उठ्ने गरेका छन् । त्यसका लागि समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुको सम्बन्धीत पाटीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेे एमालेका प्रमुख सचेत महेश बर्तौताको बुझाइ छ ।

संसदीय अभ्यासमा सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुनु र एक अर्कालाई दोषारोपण गर्नु स्वाभाविक मानिन्छ । तर, समितिमा पर्याप्त अध्ययन र अनुसन्धान नहुनु, दलीय प्रभाव देखिनुु तथा समितिमा रहेका पदाधिकारीमा विषय विज्ञता र सक्षमता नहुँदा समेत विवादका घटना हुुने देखिन्छ । समितिमा कार्यभन्दा पनि लोकप्रियता र प्रतिस्पर्धात्मक भावना हाबी हुनु तथा विधेयक छलफलमा विज्ञका राय सुुझाव कार्यान्वयतर्फ ध्यान नदिँदा समेत एक अर्काबीच आरोप प्रत्यारोपको श्रृंखलाले बढवा पाएको छ । जसले संसद र मिनि संसद भनिने समितिहरुको मर्यादामाथि प्रहार भएका छन् ।  


प्रतिक्रिया