भ्रष्टाचार मुद्दामा तानिँदै पत्रकार

असार २, २०८२ | काठमाडौं
पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढाएसँगै सत्ता, प्रशासन देखि पत्रकारसमेत भ्रष्टाचारको जालोमा फस्न थालेको विवरण सार्वजनिक भएको छ । विगतमा पनि भ्रष्टाचारका फाइल नखोलिएका होइनन् तर पत्रकार मुुछिएका घटना विरलै हुुने गरेको छ । पद र अधिकारको चरम दुरुपयोगबाट आक्रान्त रहेको अवस्थामा संचारमाध्यमले समाजलाई सुुधार गर्ने क्रममा, महत्वपुुर्ण भूूमिका पत्रकारिता जगतको पनि हुुन्छ । तर, पत्रकारिताको आडमा मौलाएको अनियमितता समग्र सञ्चार जगतका लागि चिन्ताको विषय बनेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग दलका नेता र उच्च तहका कर्मचारी भ्रष्टाचारको मुद्दामा परिरहेका बेला पत्रकार पनि मुछिन थालेका छन् । पछिल्लो समय अख्तियारमा १ सय २० वटा उजुरी परेको छ । अख्तियारको पछिल्लो विवरण अनुसार जेठ महिनाको ७ दिनको अवधिमा ७ जना पत्रकार विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएका छन् । ती मुद्दा अनुसन्धानकै क्रममा छन् । नेपाल मिडिया हाउस प्रालिका निर्देशक नवराज निरौलाविरुद्ध बाराको फेटा गाउँपालिकासँगको मिलेमतोमा ठेक्काको सूचना सौर्य दैनिक पत्रिकामा नगरी÷नगराई अभिलेखमा राख्ने गरीमात्र प्रकाशन गरी रकम भुक्तानी लिएकोमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यस्तै, धनुषाको बटेश्वर गाउँपालिकाको सूचनाको विषयलाई लिएर जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवं जनकपुर टुडे मिडिया ग्रुप प्रालिका अध्यक्ष वृजकुमार यादवलाई भ्रष्टाचारको मुद्दा दायर भएको छ । यस्तै, सप्तरीको तिलाठी कोईलाडी गाउँपालिको २०७९÷०८० को विभिन्न ४ वटा ठेक्काको बोलपत्र आव्हान र खरिद आशयको सूचना सौर्य दैनिकमा छापिएको भनी एक–एकप्रति मात्र बदनीयतपूर्ण तरिकाले प्रिन्ट गरेर मिलेमतो गरेको अभियोगमा टाईम्स रिपब्लिक मिडिया प्रालिका संस्थापक भूषणकुमार सिंह, डच मिडिया प्रालिका निर्देशक रवि अर्याल तथा प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीविरुद्ध मुद्दा दायर गरिएको छ ।
त्यस्तै, रौतहट फतुवा विजयपुर नगरपालिकामा कृषकहरूका लागि औषधि स्प्रे टंकी वितरणको टेण्डर सूचना ननिकाली सेटिङ गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, पत्रिकाका सम्पादक, प्रकाशक र पत्रकारसमेत ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियारले दायर गरेको छ । तत्कालीन प्रशासकीय अधिकृत, सह–लेखापालसँगै जनसवाल राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक रामजी वगाले, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र तराई पोष्टका प्रतिनिधि ओमप्रकाश यादवविरुद्ध मुद्दा दायर गरिएको हो । रामेछापको मन्थली नगर विकास समितिमा अस्थाई नायब सुब्बा पदमा कार्यरत भइ पत्रकारको आडमा कर्मचारीलाई धम्काउने र रकम असुल गरि भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा टिका प्रसाद भट्ट विरुद्ध समेत मुद्दा परेको छ । भट्ट रामेछाप पत्रकार महासंघका पूर्वसभापति पनि हुन् । अन्यत्रका भ्रष्टाचारको खुलासा गर्नुपर्ने दायित्व बोकेका समाचारमाध्यम र पत्रकार स्वयं भ्रष्टाचारको आरोपमा मुछिनु चिन्ताको विषय भएको पत्रकारिता क्षेत्रका जानकारको बुझाई छ । पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाँउलेले भने, ‘पत्रकार मुलुकमा भ्रष्टाचार र अनियमितितामा मुछिनु भनेको पेशागत निष्ठाका आधारमा चिन्ताको विषय हो ।’
त्यसो त अख्तियारले अभियोजन मात्र लगाएको अवस्था भएकाले अनुसन्धान हुन बाँकी रहेको स्थिती छ । पत्रकारिता जगतलाई धब्बा लागेपनि गलत गरिरहेकालाई मुद्दा लागेको भए राम्रो काम गर्नेलाई प्रोत्साहन मिल्ने भएकाले यसको परिणाम सकारात्मक हुन सक्ने पूर्व अध्यक्ष गाँउलेको भनाई छ । उनले भने, ‘कोही वेथिति मुछिएको भएपनि निर्दोष सावित हुने चुनौती छ ।, तर, असल मानिसलाई यो घटना सार्वजनिक सार्वजनिक हुनुले पत्रकारीता क्षेत्रलाई नै राम्रो बनाउन मद्दत गर्छ । ’
हुन त समाजमा पारदर्शिता कायम गरी भ्रष्टाचार नियन्त्रणमा सहयोगी हुनुपर्ने संचार क्षेत्र नै अवाञ्छित गतिविधिमा संलग्न भएको प्रमाणित हुनु चिन्ताको विषय हो । पत्रकारको आवरणमा रकम असुल्ने गरेको आरोप लगाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । यद्यपी, वदनियतपूर्वक कसैलै पनि मुद्दा चलाउन नहुने कानुन क्षेत्रका जानकारको बुझाई छ । शक्तिको दुरुपयोग गर्दै रकम असुल्ने, आर्थिक हिनामिना, अनियमितता गरेमा भने कारबाहीको भागिदार हुनुपर्ने उनीहरुको ठम्याई छ । सबै पक्षले व्यवसायिक धर्म निर्वाह गर्नु आवश्यक रहेको वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको भनाई छ । उनले भने, ‘सबै पेशामा सिमामा बस्नुपर्छ, सबैले आफ्नो व्यवसायीक धर्म निर्वाह गर्नुपर्छ, भ्रष्टाचारबाट कसैले उन्मुक्ति पाउनु हुँदैन ।’
संविधानको धारा २ सय ३९ को (३) उपधारा (१) वा (२) बमोजिम भएको अनुसन्धानबाट सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले कानून बमोजिम भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्ति उपर कानून बमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्न वा गराउन सक्ने व्यवस्था छ । भ्रष्टाचारको विषय उजागर गर्ने नै व्यवसायीक धर्म दुरुपयोग गरेर हिनामिनामा मुछिनु आचारसंहिताको समेत उल्लंघन भएको छ । पत्रकारले व्यवसायीक धर्म निर्वाह गर्ने क्रममा आचारसंहिताको पालना गर्नै पर्ने नेपाल पत्रकार महासंघको भनाई छ । पत्रकारिताले जनतालाई सुसूचित गरी चेतना जगाउँने र सम्बन्धित पक्षबीच खबरदारी गर्नुको साटो पत्रकारीताको आचारसंहिता उल्लंघन गर्दा समेत समस्या निम्तने गरेको पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको भनाई छ । उनीले भनिन्, ‘आचारसंहिता बिर्सदाँ पनि समस्या सिर्जना हुन्छन् ।, आचारसंहिता स्वीकार्नुपर्छ र पत्रकारिता गर्ने जवाफेदही हुनुपर्छ ।’
भ्रष्टाचार नियन्त्रणका लागि सक्रिय मिडिया जगत नै भ्रष्टाचारमा मुछिनु चिन्ताको विषय पक्कै हो । त्यसैले भ्रष्टाचार, वेथिति, अनियमितताको खुलासा गर्नुपर्ने पत्रकार नै भ्रष्टाचारको आरोप लाग्ने क्रम बढेकाले सरोकारवाला पक्षले जिम्मेवारी बोध गर्न जरुरी छ ।