साउन महिना प्रारम्भ भएसँगै हिन्दू महिलाहरु धार्मिक कर्ममा व्यस्त

श्रावण ७, २०८२ | काठमाडौं

साउन महिना विशेष गरेर भगवान शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबरको फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास रहीआएको छ । र, साउन महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता अनुसार महिलाले यसलाई महत्वका साथ लिने गरेका छन् । तर पितृसत्तात्मक सोचका कारण महिलाहरुले पुरातन संस्कार मान्नुपर्ने अवस्था विद्यमान रहेको भन्दै कतिपय कोणबाट आलोचना भएको पाइन्छ ।

साउन महिनाको सोमबार हिन्दू धर्म र संस्कार मान्ने बिवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि व्रत बस्ने गर्दछन् । साउनमा बस्ने व्रतलाई विशेष मान्ने गरिएको छ । हुन त कुनै पनि खालको व्रत वा उपवासले स्वास्थ्यलाई फाइदा पुग्ने भएकाले कतिपयले हप्तामा एक दिन व्रत बस्ने प्रचलन समेत बढ्दै गएका छन् । व्रत बस्दा स्वास्थ्यलाई नै राम्रो गर्ने भएकाले हजारौं वषदेखि यो प्रथा चलिआएको संस्कृतविद्को भनाइ छ । संस्कृतविद् एवम् प्राध्यापक भवानीप्रसाद खतिवडाले भने– ‘बाह्रै महिना पबित्र विचारका साथ बस्न सम्भव नभयमा कम्तीमा १ महिना श्रावणमा शुद्ध विचारका साथ व्रत बस्नुपर्छ भनेर हाम्रा पूर्खाहरुले एउटा नियम बनाई दिनुभएको छ हामिले त्यही रितिरिवाजलाई मानेर चाडपर्व मनाउनुपर्दछ ।’

हिन्दू धर्ममा साउन महिनालाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ गर्दा धेरै गुणा बढी फल प्राप्त हुन्छ भन्ने विश्वास रहीआएको छ । पुराणहरूमा मुख्य तीनथरि व्रतलाई विशेष महत्व दिइएको पाइन्छ । ती हुन्, साउने सोमबार, र्सोह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । तर, पछिल्लो समय भने रितिरिवाजमा नयाँपन आएजस्तै धर्मकर्ममा पनि तडकभडक बढि हुन थालेको पण्डित अच्युतप्र्रसाद पौडेलको भनाइ छ ।

श्रावण महिना भगवान शिवको प्रिय महिना भनेर पनि चिनिन्छ । यस महिनामा परापूर्वकालदेखी महिलाले भगवान शिवको पूजा आराधाना गरि साउने सोमबारको व्रत बस्ने गर्दछन् । सोमबारको व्रत बसेमा आइ परेका कठिन समस्याबाट मुक्ति पाइन्छ भन्ने विश्वास पनि छ । तर, पछिल्लो समयमा सोमबारको व्रतमा पनि देखावटी हुन थालेको भन्दै आलोचना समेत हुने गरेको छ । तर, नयाँ पिढीले धार्मिक संस्कार वा परम्परा मान्नकालागि पारिवारिक माहोल अनुसार आफूलाई ढाल्ने गरेका छन् । काठमाडौंको चावहिल निवासी एलिना केसी भन्छीन्, ‘मैले सानैदेखि व्रत लिने गरेकी छु । सानैमा आमा दिदिहरु व्रत बसेको देखेर हुर्केपछि त्यही कुरालाई मैलेपछि फलो गरेकी छु ।’

शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउनको सुरूको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् जुन क्रम माघे संक्रान्तिसम्म रहन्छ । ज्योतिष विज्ञान अनुसार साउन अर्थात् श्रावण महिनाको पूर्णिमाका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । सर्वत्र हरियाली, रंगविरंगी फूल, सप्तरंगी इन्द्रेणीको मौसम भएकाले महिलाहरू रंगीचंगी पहिरनमा सजिने गर्छन् । साउनको महिनामा हरियो, रातो र पहेंलो रंगको संयोजन मिलाएर चुरा लगाई हातमा मेहन्दी लगाउने प्रचलन पनि बढेको छ । साउनको परम्परा र संस्कारबारे समाजशास्त्री शोभा ढुङ्गानाले भनीन्, ‘पुराणमा पनि भगवान शिवको भक्ती गर्नाले आफ्नो मनोकांक्षा पूरा हुन्छ भनेको छ । तर साउनमा व्रत बस्दैमा श्रीमानको आयु लामो हुने भन्ने चाहिँ होईन ।’

साउनमा लगाइने ३ वटा रंगमध्ये हरियो रंगलाई प्रेम र वातावरण, रातोलाई सौभाग्य र पहेंलोलाई पवित्रताको प्रतिक मान्छि । र यही धार्मिक प्रसंगलाई आधार मानेर नेपाली हिन्दु नारीहरूले यो महिनालाई सौभाग्य, पतिको दीर्घायु र पारिवारिक समृद्धिको प्रतीकका रूपमा मनाउने गर्छन् । तर लैङ्गिक समानताका दृष्टिकोणका पक्षधर कतिपयले साउन महिनाको व्रत र उपवाससँगै जोडिएको प्रचलनमाथि प्रश्न पनि उठाउने गरेका छन् । उनीहरूको बुझाइमा व्रत बसेर पतिको दिर्घायुको कामना गर्नु पितृसत्तात्मक सोचको एउटा उदाहरण हो । यद्यपि, यस किसिमका पर्वमा हुने भड्किलो तडकभडक तथा विकृति विसंगतीबाट मुक्त भएर स्वेच्छा अनुसार पर्वलाई अनुसरण गरेमा सकारात्मक सन्देश जाने थियो कि !  


प्रतिक्रिया