अन्तर्राष्ट्रिय बजारमा कच्चा इन्धनको भाउ १ सय डलर माथि
फाल्गुन २८, २०८२ | काठमाडौं
पश्चिम एशियामा चुलिएको द्धन्द्ध पछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य फेरि १ सय डलर माथि पुगेको छ । यसअघि सोमबार यसको भाउ बढेर अधिकतम १ सय २० डलरसम्म पुगेको थियो ।
तर, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध चाडैं सकिने घोषणा गरेपछि मंगलबार भाउ केही घटेको थियो । हिजो फेरि बजार भाऊ बढेर आजसम्म आइपुग्दा १ सय डलर माथि देखिएको हो । इरानले हर्मुजको सामुद्रिक घाँटीमा नियन्त्रण कायम राखेर यहाँबाट कुनै पनि जहाज निस्कन दिएको छैन ।
यस क्षेत्र हुँदै यात्रा गर्न खोज्ने थाइल्यान्ड र जापानका जहाजसहित कुल ६ जहाज आक्रमणमा परिसकेका छन् । तर, आक्रमणको जिम्मा कसैले लिएको छैन । पश्चिम एशियाका अधिकांश देशबाट एशियाली क्षेत्रमा हर्मुजको घाँटी हुँदै तेल ओसारिन्छ ।
यसरी विश्व बजारको कुल २० प्रतिशत तेल र ग्याँसको हिस्सा हर्मुज हुँदै निस्कन्छ । यसैविच, आजपनि पनि इरान र अमेरिका—इजरायलले एकअर्काविरुद्ध आक्रमण जारी गरेका छन् । पश्चिम एशियाका तेलखानी, उर्जा पूर्वाधार र पानी प्रशोधन केन्द्रहरु पनि यसक्रममा निशानामा परेका छन् ।









