प्रहरीमा राजनीतिप्रति आकर्षण, पर्टी प्रवेश र दल खोल्ने क्रम बढ्दो
मंसिर २४, २०८२ | काठमाडौं
निर्वाचनको मिति नजिकिएसँगै विभिन्न दलका चुनाव केन्द्रित गतिविधि बढ्न थालेका छन् । यहि मेसोमा केही पूर्व प्रहरी अधिकारी आगामी निर्वाचनमा होमिने तयारीसहित पार्टीहरुमा आवद्ध भइरहेका छन् । मुलुकको सुरक्षा जिम्मेवारी पाएको महत्वपूर्ण निकायबाट अवकाश पाएपछि राजनीतिमा लाग्ने उनीहरुको कदमलाई स्वभाविक मानिएको छैन ।
विगतमा प्रहरी संगठनबाट अवकाश पाएका उच्च अधिकारीहरु प्रचलित पार्टीभित्र प्रवेश गर्ने प्रचलन रहीआएकोमा पछिल्लो पटक भने पूर्व प्रहरीहरु नयाँ पार्टीमा भित्रिने र नयाँ दल नै खोल्ने क्रम शुरु भएको छ । अघिल्लो निर्वाचनबाट राष्ट्रिय राजनीतिमा उदाएको रास्वपामा नेपाल प्रहरीका पूर्वप्रहरी एआईजी विश्वराज पोखरेलको प्रवेश र पूर्व आइजीपी सर्वेन्द्र खनालले नयाँ दल खोल्नु त्यसका केही उदाहरण हुन् । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा प्रहरीका केही पूर्व हाकिमहरुलाई समेत चुनावी रन्को लागेको छ । (आईजीपी) को प्रतिस्पर्धाबाट २०७९ वैशाखमा बाहिरिएपछि राजिनामा दिएका पोखरेलले केहिदिन अघि रास्वपामा प्रवेश गरेका हुन् । रास्वपाबाट मात्रै देशको मुहार परिवर्तन सम्भव रहेको उनको भनाइ छ ।
पार्टी प्रवेश लगत्तै पोखरेलले चुनावमा प्रतिस्पर्धा गर्ने भन्दै गृहजिल्ला ओखलढुंगा पुगेर रास्वपाको झन्डासहित आम नागरिकमाझ उपस्थिति बाक्लो बनाएको देखिन्छ । आफ्नै नेतृत्वमा पार्टी खोलेका पूर्व आइजीपी खनालले भने अघिल्लो निर्वाचनमा एमालेबाट प्रतिस्पर्धा गरेका थिए । २०७९ को निर्वाचनमा काठमाडौं ६ बाट पराजित भएका खनाल केही महिनापछि तनहुँ १ मा फेरि एमालेबाटै उपनिर्वाचन लडेका थिए । दुवै निर्वाचन पराजित भएपछि एमालेप्रति असन्तुष्टी जनाएका उनले अहिले आएर समुन्नत नेपाल नामक पार्टी खोलेका छन् । खनालले दल दर्तापछि संगठन विस्तारमा लागेको जनाउँदै आफूलाई सहयोग गर्न अपिल गरेका छन् । .
प्रहरी सेवामा लामो समय बिताएर राजनीतिमा प्रवेश गरेका एक पूर्व प्रहरी अधिकृत हुन् रमेश खरेल । सुशासनको नारा दिदै राजनीतिमा होमिएपनि काठमाडौं र बाराबाट चुनाव हारेपछि खरेलले अहिले नागरिक खबरदारीका लागि भन्दै टेलिभिजन कार्यक्रम चलाइरहेका छन् । यसरी प्रहरी संगठनको उपल्लो तहमा पुगेका अधिकृतहरु दलगत राजनीतिमा होमिने क्रम बढ्दै गएको छ । प्रहरी अधिकारी एकपछि अर्को गर्दै राजनीतिमा प्रवेश गर्नुलाई अन्यथा लिन नमिल्ने धारणा कतिपयको छ । प्रहरीका पूर्व हाकिमहरु राजनीतिमा लागेको विषयलाई लिएर सार्वजनिक वृत्तमा भइरहेका टिका टिप्पणीप्रति लक्षित गर्दै पूर्व प्रहरी नायब उपरिक्षक हेमन्त मल्ल स्वाभाविक मान्नु पर्ने बताउँछन् । संगठनको नेतृत्व गरिरहेका वेल केहि न केहि सुधारको प्रयास प्रहरी अधिकारीहरुमा हुने उनको तर्क छ ।
त्यसो त देश र नागरिकको सुरक्षा गर्ने जिम्मेवारी पाएको प्रहरी संगठनमा लामो समय बिताएर राजनीतिमा होमिएका पूर्व प्रहरी अधिकृतको सूचि लामै छ । पूर्व एआइजी नवराज सिलवाल अहिले एमालेमा छन्, उनले ललितपुरबाट चुनाव समेत जितेका थिए । त्यस्तै, पूर्वप्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाह माओवादी कोटाबाट संविधानसभा सदस्य बनेका थिए । यद्दपि अहिले उनी सक्रिय राजनीतिमा भने देखा परेका छ्रैनन । यस्तै पूर्वआईजीपी मोतीलाल बोहोरा पनि नेपाली कांग्रेसबाट राजनीतिमा होमिएपछि केही समयअघि अलग भएका थिए ।
राजनीतिमा प्रवेश गर्ने प्रहरीका पूर्व हाकिममा गणेश राई र विक्रम थापाको पनि नाम आउँछ, उनीहरु अहिले खासै चर्चामा छैनन् । प्रहरी सेवाबाट राजनीतिमा आएर सफल देखिने मध्येका एक पात्र हुन् ध्रुवबहादुर प्रधान । प्रधान अहिले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय छन् । पार्टीको उपाध्यक्षसमेत रहेका प्रधानले नवलपरासीबाट चुनाव जित्दै कानुन मन्त्रीको अनुभव समेत लिइसकेका छन् । प्रहरी संगठनमा लामो समय विताएर अवकाश प्राप्त प्रहरी अधिकृत राजनीतिमा आउँदा विषय विज्ञता प्राप्त हुने भएपनि राजनीतिक रुपमा भने स्वाभाविक मान्न नसकिने विश्लेषकहरुको धारणा छ । प्रहरी भित्रको समस्यालाई दोष देखाएर राजनीतिमा होमिनेको संख्या बढेको सन्दर्भमा राजनीतिक विश्लेषक केशव दाहालको बुझाइ भने फरक देखिन्छ । प्रहरी संगठनको नेतृत्वमा बसिसकेका अधिकारीले राजनीतिमा आउँदा संगठनमाथि नै प्रश्न उठाउँदा आफ्नै कर्यशैलिप्रति प्रश्न उब्जीने उनको भनाइ छ ।
दलीय व्यवस्थामा कुनै पनि दलमा आवद्ध हुनु लोकतान्त्रिक अभ्यास र नागरिक नैसर्गिक अधिकार हो । तर प्रहरी जस्तो संवेदनशील निकायमा सेवा गरिसकेका अधिकृतहरुले राजनीतिको बाटो समाउनुलाई स्वभाविक रुपमा हेरिएको छैन । यस्तो प्रवृत्तिले प्रहरी संगठनको मर्यादा र प्रतिष्ठामाथि समेत प्रहार गर्न सक्ने चिन्ता व्यक्त भएका छन् । त्यस्तै, संगठनमा रहँदा राजनीतिक सौदावाजी गरेर लाभ लिने र स्वार्थको टकराव हुने गरी दलका नेताको हितमा काम गर्ने र उनीहरुको पक्षपोषण गर्ने प्रवृत्तिले बढावा पाउने देखिन्छ











