राजनीतिमा होमिएको छोटो समयमा बालेन्द्र शाह मुलुकको कार्यकारी प्रधानमन्त्री

चैत्र १३, २०८२ | काठमाडौं

काठमाडौंको मेयर भएदेखि नै राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चर्चा कमाएका बालेन्द्र शाह अन्ततः दक्षिण एसियाली मुलुक नेपालको कार्यकारी प्रधानमन्त्री भएका छन् । पेशाले इन्जिनियर शाहले राजनीतिमा आएको छोटो समयमै प्रधानमन्त्री बन्ने मौका पाएका हुन् । 

युवा उमेरमा कलेज जीवन चलिरहँदा यस्तै ¥याप व्याटलमा रमाउने बालेन्द्र शाहको पहिलो सार्वजनिक परिचय ¥याप गायकको थियो । सांगीतिक जीवनमा बालेन नामले परिचित उनी मनोरञ्जनका लागि मात्र नभई मुलुकका विकृति र विसंगतिमाथि प्रहार गर्दै ¥याप गाइरहेका हुन्थे । सामाजिक मुद्धा उठान गर्दै ¥यापमार्फत् अभिव्यक्ति दिने बानी परेका बालेन्द्र शाहले राजनीतिक बिषयलाई समेत आफ्नो सांगीतिक सामाग्रीमा समावेश गर्दै आएका हुन् ।

 उनले मुलुकमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र व्यवस्थागत कमजोरीलाई उजागर गर्दै लोकप्रियता हासिल गरेको पाइन्छ । भनिन्छ, बालेनका कतिपय गीत केवल मनोरञ्जन नभई चेतनाको आवाज बनेका छन् । बालेन्द्रको जन्म २०४७ साल बैशाख १४ गते काठमाडौंको नरदेवीमा भएको हो । उनको पुख्यौली थलो भने महोत्तरीको एकडारा गाँउपालिकामा छ । शाहले भिएस निकेतनबाट विद्यालय शिक्षा हुँदै ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिंगमा स्नातक र भारतको कर्नाटकस्थित प्राविधिक विश्वविद्यालयबाट स्टक्चरल इन्जिनियरिंगमा स्नातकोत्तर गरेका छन् । 

२०७२ सालअघि स्ट्रक्चरल इन्जिनियर बनेका शाह गीत संगित र विशेष गरि हिपहप विधा समेत रुचि राख्दै आएका थिए । २०७२ साल बैशाखको महाभूकम्प पछि पुनर्निर्माणमा संलग्न भए । ¥याप र इन्जिनियरिङसँगै उनले राजनीतिमा चासो दिन थाले । २०७९ साल वैशाखमा भएको स्थानीय तह निर्वाचनमा बालेन्द्र काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । मेयर भएकै ताका उनले म नेपाल हासेको हेर्न चाहान्छु बोलको गित गाएका थिए । 

काठमाडौंको मेयरपछि नगरको विकास र सुधारका लागि राम्रो काम गरेको भन्दै प्रशंसा कमाएका उनी गत पुष १३ गते रास्वपामा प्रवेश गरे । त्यसको केही सातापछि मेयर पदबाट राजिनामा दिएर बालेन्द्र चुनावी अभियानमा सहभागी भए । रास्वपाबाट प्रधानमन्त्रीमा प्रस्तावित उनले झापा ५ मा चुनावी प्रतिस्पर्धा गर्दै ६८ हजार ३ सय ४८ मत ल्याएर सांसद निर्वाचित भए । चुनावी अभियानका क्रममा मेची देखि महाकाली सम्मको यात्रा तय गरेका थिए । अन्तरमुखी स्वभावका शाहको उपस्थितिमा रास्वपाले चुनावी अभियानको सुरुवात जनकपुरबाट गरेको थियो । मैथिली भाषामा भाषण गरेर उनले सबैलाई मन्त्र मुग्ध गराएका थिए ।

चुनावी अभियानमा उनको सक्रियता देशभित्र र बाहिर चर्चाको बिषय बन्यो । त्यसो त सन् २०२३ मा प्रतिष्ठित टाइम पत्रिकाले शाहलाई आफ्नो विश्वका १०० प्रभावशाली उदीयमान व्यक्तिहरूको सूचीमा समावेश गरेपछि उनले अन्तर्राष्ट्रिय रूपमा चर्चा प्राप्त गरेका थिए । सांसद पदको सपथ लिएपछि प्रधानमन्त्री बन्ने अघिल्लो दिन जय महाकाली बोलको गीत सार्वजनिक गरे  ।

२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँगै बालेन्द्र शाह मूलधारको राजनीतिमा प्रवेश गरेका हुन् । छोटो अवधिमै राजनीतिक सफलता पाएका उनी मधेसी समुदायबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति भएका छन् । शुक्रवार उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन् ।

संघीय राजधानी काठमाडौंको मेयर भएको चार बर्ष नपुग्दै बालेन्द्र शाह मुलुकको कार्यकारी प्रधानमन्त्री भएका हुन् । राजनीतिमा उदाएलगत्तै कार्यकारी पदमा आसिन भएर उनले आधुनिक इतिहास र लोकतन्त्रमा ऐतिहासिक सफलता हासिल गरेका छन् । अब नवनिर्वाचित प्रधानमन्त्री शाहले मुलुकका वेथिती र विसंगति अन्त्य गर्दै जनचाहना अनुसार काम गर्नुपर्ने दायित्व सम्हालेका छन् ।


प्रतिक्रिया