विवादमा फसेका श्रम मन्त्री दिपककुमार साह बर्खास्त

चैत्र २६, २०८२ | काठमाडौं

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सिफारिस अनुसार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् । साहलाई हटाएपछि प्रधानमन्त्री शाहको सिफारिसमा मौजुदा मन्त्रीमण्डलमा सामान्य हेरफेर गरिएको छ ।

श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्य बनाउने मोहका कारण श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह मन्त्री भएको १४ औं दिनमा पदबाट हटेका हुन् । साहले आफ्नी श्रीमती जुनु श्रेष्ठलाई लामो समयदेखि निष्क्रिय रहेको राष्ट्रिय बिमा बोर्डको सदस्यको नियमित काममा लगाएको विवरण केही दिनअघि सार्वजनिक भएको थियो । बिहिवार रास्वपा सभापति रवि लामिछानेले साहलाई पदमुक्त गर्नका लागि प्रधानमन्त्रीलाई पत्र पठाएका थिए ।

सभापति लामिछानेले पठाएको पत्रमा भनिएको थियो, ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहले मन्त्रीमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समय देखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको व्यहोरा पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट देखिएको र आयोगबाट आवश्यक कारवाहीको लागि चैत्र २५ गते पत्र प्राप्त भएको जानकारी गराउँदछु ।” यसबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादा माथि आँच आउने देखिएको रास्वपाको भनाइ छ ।

पदको दुरुपयोग भएको अवस्थामा पार्टी विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था भएकाले मन्त्री साहलाई तत्काल जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारमा साह गत चैत १३ गते श्रममन्त्री भएका थिए । साहलाई मन्त्रीबाट हटाएपछि प्रधानमन्त्रीको सिफारिसमा मन्त्रीमण्डलमा सामान्य हेरफेर गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शाहलाई दिएका छन् ।

प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका छन् । विवादमा आएलगत्तै मन्त्रीलाई हटाउने रास्वपा र प्रधानमन्त्री शाहको कदमको कतिपयले प्रशंसा गरेका छन् । यस्तै पार्टीको नीति विपरित कार्य गर्ने सांसद वा मन्त्रीलाई पदबाट हटाउने नीति लागू गरिएको भन्दै सार्वजनिक वृत्तमा चर्चा भइरहेको छ । 

<iframe width="827" height="465" src="https://www.youtube.com/embed/M1fH_qMpnIA" title="विवादमा फसेका श्रम मन्त्री दिपककुमार शाह बर्खास्त" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>


प्रतिक्रिया