दुई दिनको सार्वजनिक विदाले स्वास्थ्य सेवालाई बढी प्रभाव पार्ने जोखिम, विरामीहरु अन्योल र चिन्तामा
चैत्र ३०, २०८२ | काठमाडौं
सरकारले शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेसँगै यसबारे व्यापक बहस भइरहेका छन् । दुई दिनको विदाले स्वास्थ्य सेवा प्रवाहमा समस्या पार्ने ठानिएको छ । अस्पतालहरुले आइतवार ओपीडी बन्द गर्ने निर्णय गरेपछि स्वास्थ्य मन्त्रालयले सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । तर नेपाल चिकित्सक संघले भने अस्पतालमा जनशक्ति अभावका कारण आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने बताउँदै आएको छ । यसबाट बिरामी र उनीहरुका परिवारमा अन्योल र चिन्ता थपिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको समयमा पनि स्वास्थ्य सेवालाई निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार चैत २२ गते देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएपछि मन्त्रालयले स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन यस्तो व्यवस्था मिलाउन आग्रह गरेको हो । मन्त्रालयले अस्पतालहरूले आफ्नो कार्यभार (वर्कलोड) र उपलब्ध जनशक्तिको मूल्याङकन गरी आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्न सक्ने उल्लेख गरिएको छ ।
बिदाको दिन काम गर्ने कर्मचारीहरुको व्यवस्थापनका लागि हप्तामा शनिबारबाहेक अर्को एक दिन बिदा दिने वा बिदा दिन नसकिएको खण्डमा सट्टा बिदा उपलब्ध गराउनुपर्ने व्यवस्था मन्त्रालयले गरेको छ । यसैगरी, प्रादेशिक अस्पतालहरूमा पनि सोही बमोजिमको व्यवस्था लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरुलाई अनुरोध गरिएको छ । मन्त्रालयले अस्पतालको जनशक्ति र चाप हेरेर बिरामीको उपचारमा कुनै बाधा नपर्ने गरी कर्मचारी व्यवस्थापन मिलाउन विशेष जोड दिएको जनाएको छ । यसैबिच सरकारको सो निर्णयले सार्वजनिक बिदाका कारण बिरामीहरूले पाउने सास्ती कम हुने अपेक्षा गरिएको मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक, तथा सूचना अधिकारी डा.भक्तबहादुर केसीले बताए ।
सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेसँगै अस्पतालहरूले ओपीडी सेवा बन्द गर्ने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले आइतबार पनि सेवा सञ्चालन गर्न दिएको निर्देशनमा नेपाल चिकित्सक संघले भने आपत्ति जनाएको छ । संघले हाललाई आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पारेको हो । अस्पतालहरुमा जनशक्ति नथपिएकाले व्यवस्था कार्यान्वयन गर्न नसकिने संघको भनाई छ । संघले विज्ञप्ति जारी गर्दै अस्पतालहरुमा जनशक्ति अभावका कारण सो व्यवस्था कार्यान्वयन गर्न नसकिने जनाएको हो । यस्तो अवस्थामा अतिरिक्त कार्यभार थपिँदा सेवाको गुणस्तरमा असर पर्ने जोखिम रहेको नेपाल चिकित्सक संघका अध्यक्ष अनिलकुमार कार्कीले बताए ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरु ९ बजेदेखि ५ बजेसम्मको नियमित ड्युटीबाहेक अनकल, वार्ड राउन्ड, आकस्मिक सेवालगायत २४ घण्टा सेवा दिइरहेको भन्दै यस्तो अवस्थामा अतिरिक्त कार्यभार थपिँदा सेवाको गुणस्तरमा असर पर्ने जोखिम रहेको संघको भनाई छ । संघले स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति व्यवस्थापन नगरी यस्तो निर्णय कार्यान्वयन गर्न खोजिए सेवा प्रणाली नै प्रभावित हुने चेतावनी समेत दिएको छ । मन्त्रालयले आफ्नो निर्णय पुनर्विचार गर्नुपर्ने माग गर्दै एनएमएले अन्यथा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संघर्षमा उत्रिन बाध्य हुनुका साथै त्यसको जिम्मेवार मन्त्रालय स्वयं हुने समेत जानकारी दिएको छ । तर यसको प्रत्क्षय असर भने दैनिक अस्पताल धाउने बिरामीमा पर्ने देखिन्छ् । र यतिबेला सरकारको दुईदिने बिदाको निर्णयले सरकारी अस्पतालहरुमा बिरामीको चाप बढेर शल्यक्रिया तथा अन्य सेवामा ढिलाइ हुने चिन्ता बढेको छ । विशेषगरी गरिब विपन्न तथा टाढाबाट आएका बिरामीहरुलाई सेवा पाउन थप समस्या हुने देखिएको बताउछीन दैनिक जसो अस्पताल जाने काठमाण्डौंको कपन निवासी सानु उप्रेती
सरकारको पछिल्लो निर्णयपछि राजधानीका अस्पतालले सेवा प्रवाहको नयाँ तालिका अझै सार्वजनिक गरिसकेका छैनन् । तर, उपभोक्ता अधिकारकर्मी भने सरकारको यो निर्णयले सार्वजनिक अस्पतालहरुमा शल्यक्रियाको चाप बढ्ने र त्यसले लामो समयदेखि पालो पर्खिरहेका बिरामीहरुलाई थप मर्कामा पार्ने बताउँछन् । र बिरामीहरुका सामु निजी अस्पतालहरुमा ठूलो रकम खर्च गर्ने वा लामो समयसम्म व्यथा सहेर बस्नुपर्ने बाहेकको विकल्प नरहेको उनीहरुको भनाई छ । दुई दिनको बिदाले विशेष गरी गरिब तथा विपन्न बिरामीहरुलाई बढी मर्का पर्ने भएकाले सार्वजनिक अस्पतालहरुका सन्दर्भमा सो निर्णय पुनर्विचार गर्न सरकारलाई राष्ट्रिय उपभोक्ता मञ्चका अक्ष्यक्ष प्रेमलाल मर्हजनले आग्रह गरेका छन् ।
यतिबेला सरकारको दुईदिने बिदाको निर्णयले बिरामीहरूमा अन्योल र चिन्ता थपिएको छ । यसैबिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य प्रभावकारी बनाउन कार्यविधि जारी गरिएको हो । कार्यविधि अनुसार अस्पतालले प्रत्येक नागरिकलाई गुणस्तरीय सेवा सहज रुपमा उपलब्ध गराउनुपर्ने छ । बिरामीको उपचार अभिलेख र ‘फलोअप’ व्यवस्थित गर्न एकीकृत विद्युतीय अभिलेख प्रणालीको विकास, प्रयोगशाला प्रतिवेदन २४ सै घण्टा उपलब्ध गराउने, अस्पतालको फार्मेसीमा पाइने औषधि मात्र चिकित्सकले सिफारिस गर्नुपर्ने छ ।












