रुपन्देहीमा रोटा खोप सञ्चालन हुँदै

असार ८, २०७७ | रुपन्देही

स्वास्थ्य कार्यालय रुपन्देहीले झाडा पखालाका विरुद्व जिल्लामा रोटा खोप सञ्चालन गर्ने भएको छ । आगामी साउन १० गतेदेखि रुपन्देहीमा रोटा खोप सञ्चालन गर्नेगरी तयारी पूरा गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

रुपन्देहीका सबै स्थानीय तहका स्वास्थ्य कार्यालयका प्रमुखलाई रोटा खोपबारे कार्यालयले प्रशिक्षण दिएको छ । जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य कार्यालयका प्रमुखलाई स्वास्थ्य कार्यालयले चौंथो चरणको स्वास्थ्य प्रशिक्षण दिएको हो । 

उनीहरुका लागि रोटा के हो ? र खोप कसरी लगाउने भन्ने बारे पहिलो चरणको अन्तिम प्रशिक्षण दिइएको स्वास्थ्य निर्देशनालय प्रदेश ५ का निर्देशक डा. विनोदकुमार गिरीले बताउनुभयो । 

आगामी साउन १० गतदेखि जिल्लाका सबै स्थानीय तहमा रोटा खोप सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अन्तिम अभिमुखिकरण तालिम दिइएको हो । प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले नागरिकलाई छिटो–छरितो सेवा दिन स्वास्थ्यकर्मीलाई कार्यशैली र कार्य सम्पादनमा परिवर्तन ल्याउन सुझाउनुभयो । 

नेपालले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको बताउँंदै उहाँले झाडापखाला तथा विभिन्न प्रकारका रोग नियन्त्रणका लागि रोटा खोप सहज रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । प्रदेशका १२ वटै जिल्लामा रोटा खोप सञ्चालन गरिने छ । 

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणसँगै बालबालिकालाई स्वस्थ बनाउनका लागि रोटा खोपलाई नियमित सञ्चालन गरिने मन्त्री बरालले जानकारी दिनुभयो । बालबालिका जन्मेको ६ हप्तामा पहिलो पटक र १० हप्तामा दोस्रो पटक रोटा खोप लगाउनु पर्छ । 

यस अघिसम्म बालबालिकाका लागि बीसीजी, डीपीटी, हेपाटाइटिस बी, हेमफिल्स इन्फ्लुएन्जा, टाइप बी, एफ आइपीभी, पोलियो, पीसीभी दादुरा, जापनीज इन्सेफ्लाइटिस लगायत ११ वटा रोगका विरुद्द दुई वर्ष मुनिका बालबालिकालाई नियमित खोप दिने गरिएको थियो । रोटा खोप सुरु भएपछि नियमित खोप सञ्चालन गरिनेछ ।


प्रतिक्रिया